मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २७ मंगलबार
  • Wednesday, 12 March, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ फाल्गुण २७ मंगलबार ११:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

काठमाडौं महानगरपालिकाको एग्रो पुलिङमा जोडिँदै डोल्पाका गाउँपालिका 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ फाल्गुण २७ मंगलबार ११:५२:oo

काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएको एग्रो पुलिङ कार्यक्रममा डोल्पा जिल्लाको सेफोक्सुन्डाे गाउँपालिका र छार्का ताङसाेङ गाउँपालिका जोडिने भएका छन्। ती पालिकाका जनप्रतिनिधिले काठमाडौं महानगरपालिकाका उपप्रमुखसँग भेटघाट गरेर कृषि उत्पादनमार्फत सम्बन्ध राख्न उत्साहित भएको  बताएका छन् । 

एग्रो पुलिङ कार्यक्रमका विषयमा छलफल गर्दै उनीहरूले विभिन्न जातका जडीबुटी, फापरलगायत खाद्यान्न, सिमीलगायत गेडागुडी, आलुलगायत तरकारी, दुध, मासुलगायत पशुजन्य उत्पादन, ऊन, पस्मिनालगायत लत्ताकपडा काठमाडौंलाई दिन सकिने बताए। 

यसबाट स्थानीयको आयमा वृद्धि बताउँदै उनीहरूले डोल्पाबाट धेरैले धेरै लिएको, तर थोरै दिएको बताउँदै महानगरपालिकाको कार्यक्रमबाट लिनेदिने बराबरी हुने धारणा राखे। छलफलमा छार्का ताङसाेङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङ, सेफोक्सुन्डाे गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङसहित वडाध्यक्षहरू, रोजगार संयोजक, स्वास्थ्यकर्मीसहितको टोली थियो । 

छलफलमा उनीहरूले डोल्पा जिल्ला विकासका दृष्टिले पछाडि परेको र महानगरपालिकाबाट यसको उन्नतिका लागि सहयोग प्राप्त हुने अपेक्षा राखेपछि उपप्रमुख डंगोलले, एकपटक दिएको सहयोग दिगो नहुने बताउँदै महानगरपालिका वितरणमुखी सहयोगभन्दा सेवामूलक सम्बन्धबाट नागरिक तहमा लाभ पुग्ने गरी सहयोग गर्ने नीतिमा रहेको  बताइन् । उनले भनिन्, ‘एग्रो पुलिङ हामीले कार्यान्वयनमा ल्याएको कार्यक्रम हो । यसबाट डोल्पाका नागरिकलाई आर्थिक लाभ हुन्छ । काठमाडौंका नागरिकले ताजा खाद्यान्न तथा तरकारी प्राप्त गर्नुहुनेछ ।’

कुराकानीका क्रममा विकासको ढाँचा विषयमाथि कुरा गर्दै उनले आदिवासी, जनजाति र पूर्खाको ज्ञान र सीपलाई नासिन नदिनतर्फ सचेत रहन आग्रह  गरिन्। ‘आफ्नोपन जोगाएर मौलिक स्वरूप कायम राख्न पनि नसक्ने, आधुनिकतालाई अँगालेर पूर्ण आधुनिक पनि बन्न नसक्ने हुनुहुँदैन । हाम्रो मौलिकपन नै हाम्रा लागि उपयुक्त छ । यसलाई बचाउनुपर्छ,’ उनको सुझाव थियो। 
एग्रो पुलिङ कार्यक्रममार्फत महानगरपालिकाले सबै स्थानीय तहसँग सहकार्य गर्न सक्ने भएकाले यही कार्यक्रममार्फत डोल्पाका स्थानीय तहसँग काठमाडौंले काम गर्न सक्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत नूरनिधि न्यौपानेले धारणा राखे। 

कुराकानीका क्रममा छार्का ताङसाेङ गाउँपालिकाका अध्यक्ष गुरुङले ठुलो भूगोल र पातलो बस्ती हुनु नै पालिकालाई विकास वितरण र व्यवस्थापनमा कठिन भएको धारणा राखे । ‘आफ्नै ठाउँमा उद्यम गरेर बसाइँसराइ रोक्न सके पनि ठुलै उपलब्धि हुने थियो । यस्ता कार्यक्रम चलाउन महानगरपालिकाबाट सहयोगको अपेक्षा गरेका छौँ,’ उनले भने। 

त्यस क्रममा सेफोक्सुन्डाे गाउँपालिकाका उपाध्यक्ष गुरुङले मानिसहरू गाउँमा नबस्ने भएपछि पालिकाको अस्तित्व बचाउनै कठिन भएको धारणा  राखे । ‘सेफोक्सुन्डाे राष्ट्रिय निकुञ्जले आय गर्छ । तर, यो आय संघ सरकार र निकुञ्जले नै लिन्छन् । यसबाट सुरक्षा त छ, तर विकास छैन । यसवेला हामीलाई महानगरपालिकाले एउटा एम्बुलेन्स प्रदान गर्न सक्यो भने पालिकाबाट जोमसोम विमानस्थलसम्म बिरामी ल्याएर नागरिकको ज्यान बचाउन सकिने थियो,’ उनले अपेक्षा सुनाए। 

छलफलमा वडा नं. १ का अध्यक्ष जिंमे छोइङ नोबु लामा, वडा नं. ३ का अध्यक्ष पेमा धुर्मी गुरुङ, वडा नं. ७ का अध्यक्ष पेमा छिरिङ गुरुङलगायत जनप्रतिनिधिले डोल्पालाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनका लागि उपयुक्त भएको चित्रण गर्दै आन्तरिक पर्यटनले डोल्पाको विकासलाई योगदान दिन सक्ने र यो काठमाडौंबाट सम्भव हुने धारणा राखे। 
काठमाडौं महानगरपालिकाले कृषकका उत्पादन सिधै काठमाडौंका ग्राहकसम्म पुर्‍याउने उद्देश्यले एग्रो पुलिङ कार्यक्रम सुरु गर्न लागेको हो।