मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १७ बिहीबार
  • Thursday, 19 December, 2024
२o७८ भदौ १७ बिहीबार १o:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गोठछेउमा मृत्यु कुरेकी उमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १७ बिहीबार १o:३३:oo

आँखा देख्दिनन् । बिस्तारामै दिसापिसाबले गालेर ढाड नै प्वाल परेको छ । गोठछेउमा निर्जीव वस्तुजस्तै ढलेको ६ महिना पुग्यो । गुल्मीको इस्मा गाउँपालिका– ४ दोहलीकी उमा घर्ती उपचार अभावमा भै‌ँसी गोठमा मृत्यु कुरिरहेकी छिन् । उनका दुवै दृष्टि गुमेकाे ६–७ वर्ष भयो । उमालाई एकपछि अर्को शारीरिक समस्याले च्याप्न थालेपछि श्रीमान् बिनबहादुर घर्तीले पनि साथ छोडे । 

उमा ६ महिनादेखि दिदी सिरकला गुरुङको घरमा छिन् । दिसापिसाब र भित्रबाहिर गर्न समस्या भएपछि उनी गोठछेउमा सुतिरहेकी छिन् । केही समय पहिलेसम्म दुवै आँखा नदेखे पनि लाैराे टेकेर तलमाथि र दिसापिसाब गर्थिन् । कम्मरदेखि तलको भाग नै नचल्ने भएपछि उमा बिस्तारामै सीमित छिन् । ओछ्यानबाट उठाउन पनि अरूको आवश्कता पर्छ । उमाका आठ र १३ वर्षका छोरा र छोरी छन् । दैनिक रोगले जितेकाले खाना खान पनि बन्द भएको दिदी सिरकला गुरुङले बताइन् । उमा शारीरिक पीडाले मानसिक रूपमा पनि विक्षिप्त छिन् । उपचारको आशा गरेकी छिन् । तर, निको हुने र जीवन फर्कने कल्पना गर्दिनन् ।

दृष्टि गुमेकै दिनबाट राम्रो उपचार, मिठो–मसिनो र आराम पाइनन् । अवस्था बिग्रँदै  गएपछि उमाले आफ्नो उपचारभन्दा बालबच्चाको विषयमा चिन्ता गर्ने गरेकी छिन् । उमासँग बोल्न आठ वर्षीय छोरा अनिल छन् । दैनिक आमाको पीडासँग नजिक छन् । तर, बच्चासँग आमालाई बिस्ताराबाट उठाउने कुनै उपाय छैन । 

आमाको शरीर दैनिक खस्किएको छ । उमालाई अहिलेसम्म स्याहार गरेकी दिदी सिरकला पनि एकल विपन्न महिला हुन् । दैनिक मेलापात पुग्नुपर्छ । काम नगरे आफैँले कसरी खाने भन्ने सिरकलालाई चिन्ता छ । आँखाअगाडि बहिनी छट्पटाएको देख्न सक्दिनन् । तर, उनीसँग पनि उपचार गर्ने कुनै स्राेत छैन । ‘मैले सकेको जिल्ला अस्पतालसम्म पुर्‍याएँ । बिहान–साँझ खान मागे काँचो–कचिलो दिएकी छु,’ उनले भनिन्, ‘बचाउन गाउँभर हारगुहार पनि गरेकी छु ।’ सिरकलाले केही ऋण खोजेर गुल्मी अस्पताल पुर्‍याएकी हुन् । डाक्टरले थप उपचारका लागि पाल्पा पठाए । तर, उपचारका लागि पैसा नभएकाले घर लिएर फर्किएको गुरुङले दुःखेसो पोखिन् ।

स्थानीय सरकार पनि उमाको सबै उपचार गर्न सक्दैन । इस्मा गाउँपालिकाको कार्यविधिअनुसार उमाले पाँच हजार पाउँछिन् । इस्मा गाउँपालिकाका प्रमुख लक्ष्मण विष्टले उपचार गर्न अस्पतालसम्म एम्बुलेन्स भने गाउँपालिकाले उपलब्ध गराउने बताए । उनले उमाको पीडा आफूहरूले पनि महसुस गरेको बताउँदै कानुनी सीमा र समस्याको कारण धेरै सहयोग गर्न नसकिएको बताए ।