१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २० आइतबार
  • Saturday, 28 September, 2024
पुरञ्जन आचार्य
२o७८ असार २० आइतबार १o:o४:oo
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चीनबाट सिक्लान् त कांग्रेस–कम्युनिस्टले ? 

अग्रलेख

Read Time : > 6 मिनेट
पुरञ्जन आचार्य
नयाँ पत्रिका
२o७८ असार २० आइतबार १o:o४:oo

नेपालका कम्युनिस्टको सोच, आचरण र व्यवहार हेर्दा यी तीन सय वर्ष पछाडि छन्, चिनियाँ कम्युनिस्ट पार्टीभन्दा 

म चिनियाँ कम्युुनिस्ट पार्टीको शतवार्षिकी समारोहलाई टेलिभिजनमा बडो उत्साहपूर्वक हेर्दै थिएँ गत साता । समारोहमा चीनको आर्थिक उपलब्धिको खासै बखान थिएन । कम्युनिस्ट पार्टीको गौरवगाथा पनि थिएन भन्दा हुन्छ ।

चीन अझ समृद्धशाली हुन्छ र विश्वबन्धुत्वको भावनाले अगाडि बढ्छ भन्ने बडो सारगर्भित विचार प्रेषित भइरहेका थिए कार्यक्रममा । चिनियाँ कम्युनिस्ट पार्टीको गौरवगान कम सुनिरहँदा मलाई चौधौँ महाधिवेशनको तयारीमा लागेको नेपाली कांग्रेस पार्टीको सम्झना आयो । कांग्रेस आफ्नो अतीतसँग असाध्यै गौरव गर्छ । कांग्रेससँग गौरवगान गर्ने इतिहास पनि छ । तर इतिहासप्रति अनावश्यक अनुराग ‘वृद्ध’ लक्षण भनी मानिन्छ । वृद्ध हुनुको शरीरसँग सम्बन्ध छैन भनी बिपी कोइराला भन्नुहुन्थ्यो । शरीर युवा छ र विचार पश्चगामी छ भने त्यो वृद्ध हो भनी बिपी जोसका साथ भन्नुहुन्थ्यो । युवा हुन दृष्टि भविष्योन्मुख हुनुपर्छ, बिपीको कथन हो यो ।

जो विगतमा धेरै फर्किन्छ । धेरै अतीतको गौरवगानमा बोल्छ, त्यो युवा हुँदै बूढो हो । बिपीले आफ्ना लेखमार्फत विगतमा धेरै गौरव नगर, विगतलाई स्मरणमा राखेर भविष्य निर्माणको बाटोमा अगाडि बढ, सही युवा त्यही हो भनी लेखेर जानुभयो । बिपीको युवा र वृद्धबीचको लक्ष्मणरेखा यही थियो । 

नेपालमा राजनीतिक दलहरूको विधान, घोषणापत्र र नेपालको संविधान हेर्दा नेपाल विश्वमा गौरव गर्ने एक मात्र राष्ट्र हो कि भनी बुझिन्छ । नेपाल अतीतको गौरवगान गाएर रमाउने राष्ट्र हो भनी बुझिन्छ । अझ कांग्रेस कम्युनिस्ट नेताहरूबाट निःसृत विचार सुन्दा यी दुई पार्टीले नेपाललाई सही अर्थमा तीन दशकमा स्विट्जरल्यान्ड नै बनाइसकेको हुनुपर्ने हो । नेपाली प्रत्येक पक्षमा गरिब छन् । यो तितो सत्य स्विकार्ने हिम्मत गर्दा मात्र यसबाट निदान पाइन्छ । कांग्रेस महाधिवेशनले यसलाई स्विकार्नुपर्छ । कुन कुरामा हामी गौरव गर्ने ? जनजीविका, रोजगारी, शिक्षा, स्वास्थ, बाटोघाटो, उद्योगधन्दा, ज्ञान विज्ञान, संस्कृति र कला कुनै क्षेत्रमा हामी नेपाली एसियामा होइन, दक्षिण एसियामा पनि कसैसँग प्रतिस्पर्धा गर्न सक्तैनौँ । नेपाल चाँडै धनी हुन्छ र यो स्विट्जरल्यान्ड बन्छ भन्ने जस्ता बेतुकका कुरा अब नेताहरूले नगर्दा नै तिनको साख जोगिएला । 

चीनले विगत तीन दशकमा प्राप्त गरेको आर्थिक र सामाजिक उपलब्धि चमत्कार नै हो भनी व्याख्या गरिरहेको छ पश्चिमा सञ्चार क्षेत्रले । चिनियाँ मिडिया र नेता पश्चिमा मिडिया जसरी अहिले प्रस्तुत भएका छैनन्, संयम देखिन्छन् । किन चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका राष्ट्रपति संयमित भए ? किनकि, चीन पहिलो महाशक्ति राष्ट्र नबनी धेरै गौरवगान नगाउने सोचमा देखिन्छ । चीन अमेरिकालाई सबै क्षेत्रमा जितेर मात्र अब सन्तुष्ट हुने देखिन्छ । ‘सी’ विचारधाराबाट प्रेरित र दीक्षित प्रम ओली र उनको टिमले चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीबाट अधैर्यपूर्वक गरिने गौरवगान लाजलाग्दो ठानिन्छ भनी सिकून् ।  

यताका दिनमा जब म चीनबारे पुस्तकहरू पढ्छु, टेलिभिजन र रेडियोमा चीनबारे सुन्छु, मेरा अगाडि कैयन् प्रश्न उठ्छन् । म विस्मयमा पर्छु । हज्जारौँ वर्षको चिनियाँ इतिहास बुझ्न खोज्दा यो राष्ट्र सधैँ मलाई ‘रहस्यमय’ लाग्थ्यो, अझै लाग्छ । 

चीन बन्द समाज हो भनी बुझ्थेँ म । कोरोना भाइरस चीनको वुहानबाट निस्केको हो भनी विभिन्न समाचारमा सुनेपछि बन्द समाजले मानव जातिलाई प्रताडना दिने रहेछ भन्ने मेरो चीनप्रति थप अविश्वास भयो । भारत, अमेरिका र पश्चिमा लोकतान्त्रिक देश खुला छन् । खुला, जनताप्रति उत्तरदायी र पारदर्शी शासन व्यवस्थाले मलाई सधैँ आकर्षित गर्‍यो । 

बन्द समाजमा निर्माण ‘चिनियाँ भेरोसेल खोप’ मेरो शरीरमा पार्दिनँ भनेर म दृढ थिएँ । नेपालमा कम्युनिस्टको सरकार भए पनि खोप म लोकतान्त्रिक देशकै लगाउँछु भनी निश्चिन्त थिएँ । पश्चिमा राष्ट्रको विज्ञानसम्मत मेडिकल साइन्सप्रति मेरो अगाध विश्वास थियो । चीनको मेडिकल क्षेत्र भारतभन्दा पनि पछाडि छ जस्तो मेरो अनुमान थियो । कुनै पनि नेपालका नेताहरू उपचार गर्न चीन गएको मैले सुनिनँ । यसबाट पनि मेरो चीनको मेडिकल साइन्सप्रति सकारात्मक धारणा बन्न सकेन । चीनप्रति पूर्वाग्रह र पश्चिमा राष्ट्रप्रतिको मेरो प्रेम कोरोना खोपसँग मात्र सम्बन्धित थिएन होला, मेरो राजनीतिक विचारसँग पनि जोडिएको रहेछ । 

खोप उत्पादनको बेताज बादशाह भारत हो भन्ने मेरो विश्वास धेरै पहिलेदेखिको हो । संसारको असी प्रतिशत खोप भारतमा बन्छ, भारतले गर्ने यो गौरव मलाई दक्षिण भारत जाँदा त्यहाँका मित्रहरूले सुनाउँथे । तसर्थ, खोप भारतबाट सहज हामी पाउँछौँ भनी बसेका थियौँ । तर, पश्चिमासँगको जस्तै भारतसँगको विश्वास पनि काम लागेन । 

चीनको अर्जुनदृष्टि प्रस्ट छ, पृथ्वीको पहिलो महाशक्ति राष्ट्र हुने धेरै चाँडो । नेपालमा कांग्रेस र कम्युनिस्टको अर्जुनदृष्टि सिंहदरबार र बालुवाटारमा सीमित छ । कसरी घुमाउने यिनका आँखा ? 

आज लाखौँ नेपालीले भारतमा बनेको कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएको अवस्था छ । पश्चिमाहरूले ‘भ्याक्सिनलाई राष्ट्रियकरण’ गरेर मानवताविरोधी कार्य गरे । भारतले त्यही सिक्यो । मानवता, विश्वबन्धुत्व र समानताका पश्चिमा मूल्यपद्धति संकीर्ण राष्ट्रवादको पइतालामुनि लम्पसार भयो । यसैबीच भारतको भ्याक्सिन निर्माणको ‘ताज’ चीनले खोस्यो । किन खोस्यो ? 

भारतले खोपको रिसर्च एन्ड डेभलोपमेन्टमा कामै गरेको थिएन, पश्चिमाले गर्देका थिए । चीनले पहिला खोप अनुसन्धान केन्द्र तीव्र गतिमा निर्माण गर्‍यो अनि चीन खोपमा सम्राट् बन्यो, आफ्नै ज्ञान र विज्ञानबाट । भारतका प्रम मोदीले बडो उत्साहपूर्वक विश्वभरि ठुल्दाइझैँ घोषणा गरेको ‘खोप कूटनीति’ पूरै असफल भयो । नेपालले भुक्तानी गरेबमोजिमको कमिटमेन्ट पनि भारतले खोप आपूर्तिमा गर्न सकेन ।  

मैले अविश्वास गरेको चिनियाँ खोप मेरो शरीरमा प्रवेश गराउनुको मसँग विकल्प भएन । कोरोनाको दोस्रो लहरले परिवारका सबै बिरामी परे । कैयन् आफन्तलाई दाहसंस्कार गर्न जान सकिएन । यसैक्रममा झन्डै तीन साताअघि नेपाल सरकारले साठी वर्षदेखिका लाई चिनियाँ खोप उपलब्ध गराएपछि म खोप लगाउन ‘क्वालिफाइड भएँ’ र पहिलो डोज लगाएँ । चिनियाँ भेरोसेल खोप संयुक्त राष्ट्रसंघमा खटिएका ‘पिस किपिङ फोर्सले’ पनि लगाएको समाचारले मलाई राहत दियो । चिनियाँ खोप लगाउनासाथ चीनप्रति अविश्वास गर्ने मेरा कैयन् मान्यताहरू धराशयी भए । चीन मेरो जीवनरक्षाका लागि अगाडि आएको थियो ।

अमेरिका र युरोपको विश्वास थियो, पुँजीवादको माध्यमबाट आर्थिक प्रगति गर्दै चिनियाँ समाजमा लोकतन्त्रको लहर क्रमशः आउनेछ भनेर । यही कारण उदार पुँजीवादको प्रारम्भिक चरणमै पश्चिमाहरूले चीनमा नाफाका लागि प्रशस्तै लगानी गरे । चीन क्रमशः विकसित राष्ट्र मात्र भएन महाशक्ति राष्ट्र नै भयो । अब चीन विश्व राजनीतिको रंगमञ्चमा पश्चिमाको प्रतिस्पर्धी भयो । शक्तिशाली चीन अन्तर्राष्ट्रिय राजनीतिको खेलाडी भएपछि पश्चिमा राष्ट्रहरूको चिन्ता मात्र बढेन, विश्वमा ‘दुई सय वर्षको पश्चिमा वर्चस्व’ माथि पनि चीनले चुनौती दियो । 

कोरोना महामारीका कारण चीनप्रति विश्वको अविश्वास बढ्नेछ भन्ने मेरो पनि सोचाइ थियो । पश्चिमा विश्वको पनि त्यस्तै सोच थियो होला । चीनको व्यापार र उद्योग अब कैयन् वर्ष पछाडि पर्नेछ भनी मैले अनुमान लगाएको थिएँ । चीन मानवताविरोधी कार्यका लागि विश्वको शंकाको घेरामा पर्नेछ भनी मैले सहज रूपमा बुझेको थिएँ । 

तर आजको चीन बेग्लै भएको रहेछ । आजको चीनको क्षमता पनि बेग्लै छ । बजार र कूटनीतिलाई पृथक् राखेर चीन हेर्दैन । चीनको कूटनीति नेपालको जस्तो ‘तन्नम’ र बेरोजगार कार्यकर्तालाई रोजगारी उपलब्ध गराएजस्तो होइन । जब कोरोना महामारीका कारण भारत, अमेरिका र युरोपेली युनियनको मानवता हराएको थियो । विश्व कूटनीतिमा यी राष्ट्र असफल भइरहेका थिए, चीन अगाडि आयो मानवताको पक्षमा खोप लिएर । 

चीन कोरोना भाइरसको उद्गम स्थल हो भनी लगाएको आरोप खेपेर निराश भएर टाउकोमा हात राखेर बसेन । उसले यो महिना मात्र विश्वका झन्डै असी देशमा कोरोना भ्याक्सिन पुर्‍याएको छ । चीनमा अनेकन् रोगसँग लड्ने ५० भ्याक्सिनमा काम चल्दै छ । चीनले अहिले जुन गतिमा भ्याक्सिनमा काम गर्दै छ, यसको सफलतासँगै विश्वमा कैयन् असाध्य रोग र जेनेटिक रोगका भ्याक्सिन सस्तोमा बजारमा उपलब्ध हुनेछन् धेरै चाँडै । 

भ्याक्सिन कूटनीतिले चीनले कोरोनाको प्रारम्भिक चरणमा गुमाएको अन्तर्राष्ट्रिय विश्वसनीयता पुनस्र्थापित गरेको छ । अहिले कोरोना भाइरस कहाँबाट निस्कियो भनी कसैलाई सोच्ने फुर्सद छैन । चीनले गुमेको साख उठायो । चीन विश्वमा स्वास्थ्य क्षेत्रको ‘लिड’ राष्ट्र भएर उदायो । 

गुमेको साख चाँडो उठाउन सकिन्छ भन्ने उदाहरण चीनले प्रस्तुत गरेको छ । नेपालमा राजनीतिक दल र तिनका नेताले साख गुमाएका छन् । गत साता काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नागरिक समाज र स्तम्भकारहरूको अन्तरक्रिया थियो । पाँचदलीय गठबन्धनका नेताहरूलाई तिमीहरू पनि वर्तमान ‘प्रम ओली प्रवृत्तिका’ होइनौ भनी कसरी पत्याउने भनेर प्रश्न तेस्र्याए । साख गिरेपछि प्रश्न बर्सिन्छ भन्ने उदाहरण हो यो । तर, गिरेको साख पनि उठाउन सकिन्छ भन्ने उदाहरण चीन हो । कांग्रेस र कम्युनिस्ट नेताहरूको साख नउठी लोकतन्त्र र यो संविधानको रक्षा गर्न गारो छ भनी बुझेका नागरिक समाज र प्रबुद्धवर्गसँग गठबन्धन नेताहरूलाई मञ्चमा राख्नुको विकल्प पनि केही थिएन । जस्तो चीनको भेरोसेल भ्याक्सिनको विकल्प मलाई भएन । र म जस्ता करोडौँलाई चिनियाँ भ्याक्सिनको विकल्प छैन यतिखेर । भारत र युरोपले कब्जा गरेको भ्याक्सिन बजार कोरोना महामारीबीचमै चीनले कब्जा गर्न सफल भयो । लगनले काम गर्दा के हुँदैन भन्ने प्रमाण चीनले प्रस्तुत गरेको छ । नेपालका कांग्रेस कम्युनिस्टले सिक्लान् त यस्तो चिनियाँ स्पिरिट ? नेपालमा पनि कम्युनिस्ट पार्टीहरू छन्, विगत सात दशकदेखि । चीनको कम्युनिस्ट पार्टीभन्दा यी तीन दशक मात्र कान्छा छन् । नेपालका कम्युनिस्टको सोच, आचरण र व्यवहार हेर्दा यी तीन सय वर्ष पछाडि छन्, चिनियाँ कम्युनिस्ट पार्टीभन्दा । 

नेपाल कसैले कुनै जिम्मेवारी नलिने देश भएर यस्तो भएको हो । पुल बगाउँदा पनि कसैले सजाय पाउँदैनन् । मेलम्चीबाट पानी होइन, आँसु झरेके छ, नेपालीको यतिखेर । संविधान भत्काउँदा पनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सरम छैन । कांग्रेसको अधिवेशन चार वर्षमा किन नगरेको भनी नेतासँग जबाफ छैन, प्रश्न पनि छैन । तर, उनै नेता फेरि सभापतिमा उमेदवारी दिने घोषणा गर्दै छन् लाजै नमानी । कहिलेसम्म रहने हो यस्तो बेथिति नेपालमा । यस्तै बेथितिको सुदूर भविष्यसम्म सम्भावना देखेर नेपाललाई गरिब र असभ्य अफ्रिकी मुलुकसँग तुलना गरेको पढ्नुपर्दा टाउको निहुरिन्छ । 

चीनको अर्जुनदृष्टि प्रस्ट छ, पृथ्वीको पहिलो महाशक्ति राष्ट्र हुने धेरै चाँडो । नेपालमा कांग्रेस र कम्युनिस्टको अर्जुनदृष्टि सिंहदरबार र बालुवाटारमा सीमित छ । यिनका आँखा कसरी घुमाउने ? नेपाल सिंगापुरजस्तो सय वर्षपछि पनि नहुने भयो, निराशा यसमा छैन । चीनजस्तो पनि नहुने पक्का देखियो । अब नेपाललाई बंगलादेश बन्ने सपना हेर्न बाध्य पारिँदै छ । 

कांग्रेसको महाधिवेशन, सर्वोच्चको राजनीतिक चहलपहल, बाढीपीडित नेपालीको कथा र व्यथा, कोरोना र कम्युनिस्ट कार्यकर्ताले अस्तव्यस्त बनाएको अर्थतन्त्रबारे लेख्न मन लागेन, कति लेख्ने । जुन जोगी आए पनि कानै चिरेको उखान नेपालमा चरितार्थ भइरहँदा त्यतापट्टि आँखा चिम्लिन मन लाग्यो । र, मलाई खोप दिने चीनबारे लेख्न मन लाग्यो । उत्तरको चीन समृद्ध भएको र गौरवगान गाउन चीनले नरुचाएको कुरा मलाई असाध्यै मन पर्‍यो ।