
स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले एक साताभित्र पहिलो युनिटको विद्युत् परीक्षण उत्पादन गर्ने भएको छ । शनिबार रातिदेखि मुख्य सुरुङको ८ किलोमिटर क्षेत्रमा ४८ घन्टा पानी भरेर परीक्षण गरेको आयोजनाले आगामी आइतबारसम्म ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन गर्ने माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
उनका अनुसार बिहीबारसम्म मल्टी सर्किटका चार टावरमा तार तान्ने काम सम्पन्न भए, आइतबार पहिलो युनिटबाट विद्युत् उत्पादन हुनेछ । अहिले वर्षाका कारण काममा केही अवरोध भइरहे पनि आइतबारसम्म पहिलो युनिटको विद्युत् उत्पादन हुने उनको भनाइ छ । आइतबारबाट पहिलो युनिटको विद्युत् उत्पादन भएपछि आयोजनाले असार मसान्तभित्रै दोस्रो युनिटबाट पनि बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । न्यौपानेका अनुसार दोस्रो युनिटमा पनि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजनाले दोस्रो युनिटको समेत काम सम्पन्न गर्ने र उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने तयारी भइरहेको आयोजनाका प्रशासन प्रमुख मित्रमणि पोखरेलले जनाएका छन् । ४ सय ५६ मेगावाट क्षमताको आयोजना निर्माण सुरु भएको झन्डै १० वर्षपछि सम्पन्न हुँदै छ । आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि आइतबारदेखि १९ असारसम्म आवश्यक तयारी गर्न समय निर्धारण गरिएको छ । माथिल्लो तामाकोसीको विद्युत्गृहबाट आएको २ सय २० केभी क्षमताको प्रसारण लाइनलाई न्युखिम्तीमा रहेको सबस्टेसनमा जोड्न लागिएको छ । यसअघि बिजुली ढल्केबर सबस्टेसनमा जोड्ने तयारी थियो ।
नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले राष्ट्रिय गौरवको माथिल्लो तामाकोसीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती–लामोसाँघु १ सय ३२ केभी प्रसारण लाइन बन्द हुने जानकारीसमेत गराइसकेको छ ।
माथिल्लो तामाकोसीको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम भइरहेको छ । आयोजनामा कुल ६ युनिट रहेका छन् । सुरुवाती लागत ३५ अर्ब रुपैयाँ रहेको भए पनि अमेरिकी डलरमा आएको उतारचढाव, ब्याजलगायत कारण लागत भने बढेर झन्डै ८० अर्ब रुपैयाँको हाराहारी पुगेको आयोजनाका अधिकारीहरूले बताएका छन् ।