१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नकिम उद्दिन
२०७८ बैशाख ९ बिहीबार १०:४५:००
Read Time : > 5 मिनेट
१४औँ वार्षिकोत्सव विशेषांक प्रिन्ट संस्करण

हल नै नरहे सिनेमा कहाँ चलाउने ?

Read Time : > 5 मिनेट
नकिम उद्दिन
२०७८ बैशाख ९ बिहीबार १०:४५:००
नकिम उद्दिन
सञ्चालक, क्युएफएक्स सिनेमाज

हामी ०५९ सालतिर सिनेमा व्यवसायमा प्रवेश गर्‍यौँ । अहिले त १९ वर्ष भइसक्यो । त्यसवेला माओवादी द्वन्द्व उत्कर्षमा थियो । जतिवेला साढे चार सय सिनेमा हल थिए । तर, माओवादी द्वन्द्व सकिने वेलासम्ममा सय हाराहारीमा हल बाँकी थिए । त्यो संकटको वेला थियो, तर जोखिम मोलिदियौँ । त्यो समय यस्तो समय थियो, जुन समयमा सिनेमा व्यवसायबारे सोच्नु नै जोखिम थियो । जय नेपाल हलबाट सिनेमा व्यवसायमा हात हालियो । पछि कुमारीमा पनि लगानी गरियो । 

सत्य तीतो हुन्छ, त्यसवेला झुर सिनेमा बन्थे । त्यो ओपन सेक्रेट नै हो । सन् ७०/८० को दशकका हिन्दी सिनेमाको कपी मात्रै हुन्थे त्यो वेलाका सिनेमाहरू । हुबहु त्यस्तै बन्थे । १६ एमएममा खिचेर ३५ एमएममा देखाइन्थ्यो । हलमा स्पष्ट आकृति देख्न १०/१५ मिनेट नै लाग्थ्यो । झनै सेलोलाइड प्रविधि, जसको एउटा प्रिन्ट कस्ट नै एक लाख पथ्र्यो । हल–हलमा दौडाउनुपर्ने । त्यसरी नै गुज्रियौँ हामी पाँच वर्षसम्म । तर, सन् २००७ को अन्तिमतिर कठोर निर्णय लियौँ । हामीले ‘कागबेनी’ सिनेमा रिलिज गरिदियौँ । 

‘कागबेनी’ पहिलो डिजिटल प्रविधिमार्फत बनेको चलचित्र थियो । ‘कागबेनी’पछि राष्ट्रिय बहस नै चल्यो, डिजिटल प्रविधिमा जानका लागि । डिजिटल प्रविधिले नेपाली चलचित्रलाई ठूलो सहयोग पुर्‍याउँछ, यो आउनैपर्छ भनेर लाग्यौँ । तर, डिजिटल प्रविधिमाथि सिने क्षेत्रमा हालीमुहाली गर्ने केही मान्छेहरूले विरोध गरे । त्यसवेला शम्भुजित बाँस्कोटा दाइ चलचित्र विकास बोर्डको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले पहल गर्दागर्दै कार्यकाल सकिएपछि डिजिटल प्रविधि हामीलाई आधिकारिक रूपमा भित्र्याउन दिइयो । 

‘कागबेनी’पछि अरू निर्माता साथीहरूलाई यही प्रविधिबाट सिनेमा बनाउन प्रोत्साहन गर्न ‘सानो संसार’ बनायौँ सन् २००८ मा । ‘कागबेनी’ बनाउँदासम्म डिजिटलाइजेन १४ हलमा थियो । ‘सानो संसार’पछि भने २५ हलमा पुग्यो । यसपछि भने समयले कोल्टे फेर्‍यो, निर्माता छविराज ओझाले डिजिटल प्रविधिबाट सिनेमा बनाउने घोषणा गरिदिए । अनि नेपालभर डिजिटलाइजेन भयो ।

मलाई लाग्छ– सिनेमा व्यवसायमा मल्टिप्लेक्स फ्लेवरमा हलहरू खोल्नु र ००८ पछि पूरै नेपालभर डिजिटलाइजेन हुनु नेपाली सिनेमाका लागि टर्निङ पोइन्ट हो । डिजिटलाइजेसनले नेपालभरका हलमा सिनेमा रिलिज गर्न सजिलो भयो । उक्त प्रविधिले निर्माता साथीहरूलाई पनि सहज भयो । खर्च कम भयो । नयाँ निर्माता साथीहरू आए । यसैबीच एउटा चलचित्र प्रदर्शन भयो, ‘लुट’ । मलाई लाग्छ– सन् २०१२ मा ‘लुट’ आएपछि डिजिटल प्रविधिको उपयोगिता देखियो ! यो सिनेमा नेपालभर रिलिज भएको थियो । पहिलोभन्दा दोस्रो हप्ता झनै राम्रो दर्शक पायो । हामी कस्तो सिने उद्योगमा लम्कँदै छौँ भनेर ‘लुट’ले देखाइदियो ।

डिजिटल प्रविधिले प्रदर्शन र निर्माण व्यवसायलाई सहज बनाइदिए पनि एउटा चुनौती भने थपिदियो– राम्रो सिनेमा बनाउनुपर्ने । यसको अभिभारा निश्चल बस्नेतहरूले उठाए । दर्शकमा उत्साह थपिदिए । हिन्दी र अंग्रेजी छाडेर नेपाली सिनेमामा दर्शकको आकर्षण बढ्यो । हामी जय नेपाल हलमा आउनु, सिनेमा हलहरू डिजिटल प्रविधिमा जानु, ‘लुट’ रिलिज हुनु ऐतिहासिक मोड थियो नेपाली सिनेमाका लागि ।

हामीले सिनेमा व्यवसाय सुरु गरेको केही समयपछि हलिउडले उसको सिनेमा चलाउन कमसेकम टुके प्रोजेक्टर हुनुपर्ने नियम ल्याइदियो । यदि टुके प्रोजेक्टर नभए अंग्रेजी सिनेमा नदिने । टुकेमा जान बाध्यता आइलाग्यो । तर, त्यो टुकेमा अंग्रेजीको साथै हिन्दी र नेपाली सिनेमा पनि देखाउन पाइने भयो । त्यसले नेपाली सिनेमालाई नै फाइदा भयो । किनभने टुकेअघि हामीले एनालग, सेलोलग प्रोजेक्टरमा सिनेमा देखाउँथ्यौँ । 

मलाई लाग्छ– सिनेमा व्यवसायमा मल्टिप्लेक्स फ्लेवरमा हलहरू खोल्नु र ००८ पछि पूरै नेपालभर डिजिटलाइजेन हुनु नेपाली सिनेमाका लागि टर्निङ पोइन्ट हो । डिजिटलाइजेसनले नेपालभरका हलमा सिनेमा रिलिज गर्न सजिलो भयो । 

प्रविधि राम्रो भयो । सिनेमा पनि राम्रा बन्दै गए । तर, पछिल्लो दुई–चार वर्षमा राम्रा सिनेमा खासै बनेनन् । हाम्रो सिनेमाको लेखन पक्ष हिजो पनि र आज पनि धेरै कमजोर छ । भलै ४०/५० लाखमा बन्ने सिनेमा अहिले दुई करोड बजेटमा बन्छ । तर, हाम्रो चिन्तनमा कुनै बदलाव आएन । वर्षमा सय फिल्म बन्छन् । तीमध्ये आठ÷दश वटा हेर्न सकिने हुन्छन् । क्युएफएक्समा बल्लतल्ल ३०÷३५ सिनेमा रिलिज गर्छौं, त्यो पनि केलाउँदा–केलाउँदा । त्यसमध्ये एकदमै थोरैले मात्रै नाफा कमाउँछन् । 

हामीले ३०/३५ सिनेमा मात्रै क्युएफएक्समा देखाउनुको कारण क्वालिटी मात्रै दिने उद्देश्य हो । सयवटै सिनेमा देखायो भने त दर्शक क्युएफएक्सबाट हराइदिन्छन् । हामीले क्वालिटी नियन्त्रण गरेपछि नै दर्शक तीन–चार सय तिरेर सिनेमा हेर्न आउने हुन् । यसो गर्दा क्युएएक्सले सिनेमा चलाइदिँदैन भनेर पनि निर्माता, निर्देशकले सिनेमामा थोरबहुत मेनटेन गरिरहेका छन् । यहीबीचमा ‘छक्कापन्जा’ले १५–२० करोड व्यापार गर्‍यो । यो नेपाली सिनेमाका लागि ठूलो कुरा हो । यसको परिकल्पना सन् २००५ बाटै गरेका थियौँ । सन् २००८ मा डिजिटल प्रविधिको सुरुवात भएपछि ‘लुट’ले सहयोग गर्‍यो, ‘छक्कापन्जा’ले मियो समायो । 

०००
हामीलाई आरोप लाग्छ– नेपाली सिनेमालाई पाखा लगाएर हिन्दी र अंग्रेजी सिनेमा चलाइदियो । कोही सिनेमा बनाउन आएका छन्, कोही कलाकार बन्न, कोही निर्देशक बन्न त कोही प्रदर्शक, वितरक बनेका छन् । सबैको चाहना दुई–चार पैसा कमाउने नै हो । राज्यले इजाजत दिएको छ । अनुमति लिएर चलाउँदा जे चल्छ, त्यही चलाउने हो हामीले । तर, यदि नेपाली सिनेमा राम्रो बनेको छ भने पक्कै पनि हिन्दी र अंग्रेजीलाई प्राथमिकता दिँदैनौँ नै होला ।

राम्रो सिनेमा त हलले कुरेर बसेकै हुन्छ । ‘छक्कापन्जा’को नयाँ शृंखला आयो भने उसलाई कुन हलले चलाउँदैन ? बरु हिन्दी र अंग्रेजी सिनेमालाई साइड लगाइदिन्छ । सत्य त यत्ति हो, समस्या नेपाली सिनेमामै छ । मेरो आसय यत्ति हो, जो पायो त्यही मान्छेले नेपाली सिनेमा बनाएर चल्दैन, पढेको, बुझेको, सिर्जनशील, आइडिया भएको मान्छे आउनुपर्छ । 

हाम्रोमा सिनेमा बनाउन कथाको समस्या छैन । संसारभरका सिनेमाको आ–आफ्नै संरचना छ । तर, नेपाली सिनेमाको कस्तो संरचना छ त ? संरचना र पहिचानै छैन । तर, हामीले पाँच–दश वर्ष मिहिनेत गर्दा गाह्रो छैन । त्यसका लागि लामो बाटो हिँड्नुपर्छ, त्यो धैर्यता कोसँग छ ? लगानीको समस्या छैन । वर्षमा सवा दुई अर्ब लगानी भइरहेकै छ । तर, सही कथामा सिनेमा छैन । खासमा भन्ने हो भने हाम्रो सिनेमामा पुनर्संरचनाको आवश्यकता छ । सबै सचेत र जिम्मेवार भएर नसोच्ने हो भने आगामी दिनमा झन् गाह्रो छ ।
०००
सिनेमा हल हो, त्यहाँ विदेशी सिनेमा आउँछन् नै । नेपाली सिनेमा पनि आउँछन् । तर, दर्शक कता जान्छन् भन्दै गर्दा नेपाली सिनेमातिर गएनन् भने समस्या नेपाली सिनेमामै छ । नेपाली सिनेमा नै गतिलो बनिरहेको छैन । र हामी सबैले मनन गर्नुपर्ने प्रश्न हो– नेपाली सिनेमालाई कसरी राम्रो बनाउने ? वर्षमा २०–३० सिनेमा बन्दा अहिलेको हलको अनुपातमा पुग्छ । त्योभन्दा ज्यादा सिनेमा देखाउने ठाउँ पनि छैन । तर, सय सिनेमा बन्छन् । ती सिनेमा कसरी देखाउने, चुनौती छ । हलमा भने चुनौती छैन । विदेशका धेरै हलमा पुगेर सिनेमा हेरेको छु । संसारभरको हलको तुलनामा हाम्रो कम छैन । तर, सिनेमा पनि चाहिन्छ नि ! 

पछिल्लो समय मैले के महसुस गरिरहेको छु भने गएको बीस वर्षमा हाम्रो सिनेमाले कोल्टे फेरेको छ । तर, अब यत्तिले मात्रै पुग्दैन । यसलाई विस्तार गर्न त अन्तर्राष्ट्रिय स्तरको स्कुल खोल्नुपर्छ । त्यहाँ नेपाली र सार्क राष्ट्रका विद्यार्थीलाई ल्याएर सँगै पढाउनुपर्छ । संसारको राम्रो स्कुलको एफिलियसन ल्याएर सार्कको विद्यार्थीसँग हाम्रो नेपाली विद्यार्थीलाई सँगै पढाउने हो भने हामीले चाहेको नेपाली सिनेमा निर्माण हुन सक्छ । किनभने हाम्रो उद्योगमा पढेलेखेका मान्छे निकै कम छन् । त्यसको परिणति पनि हो, अहिले बनिरहेका सिनेमा ।

परिवर्तन कसरी ल्याउने, त्यो हाम्रो काँधमा छ । नेपाली सिनेमालाई नयाँ परिचय दिएर कसरी चिनाउने, अभिभारा हामीमाथि छ । सिनेमामा संसारभर ठूलो प्रतिस्पर्धा छ अहिले । संसारभर दशौँ हजार सिनेमा बन्छन्, त्यहाँ हाम्रो स्थान कहाँ हो ? हावाको भरमा सिनेमा बनाएर कहीँ पुगिँदैन ।

एउटा ‘छक्कापन्जा’ चलिदियो, सबैले त्यही लाइनमै बनाइदिए । हाम्रोमा सिर्जनशीलता नै भइदिएन । हामी मिहिनेत गर्न चाहँदैनौँ । लामो बाटो हिँड्न चाहँदैनौँ । सटकट बाटोबाट कमाइहाल्छौँ, चलिहाल्छौँ भन्ने सोच्छौँ । यसले सिनेमा उद्योगलाई झनै ओरालो लगाइरहेको छ । सिनेमा त कठिन र थोरै कमाइ हुने काम हो । प्यासन भएकाहरू निरन्तर लागिरहने हुन्, मौसमीहरू होइनन् ।
०००
अहिले हामी एउटा बिन्दुमा आइपुगेका छौँ । एक वर्ष भयो, महामारीको चपेटामा छौँ । सरकारले दुईपटक लकडाउन गरिसक्यो । एक वर्ष सिनेमा हल बन्दै भयो । तर, देशभरमा मल्टिप्लेक्स निर्माणको लहर आइरहेको छ । आज ‘छक्कापन्जा’ले बीस करोड कमाउँछ । यसरी हेर्दा नेपालको बक्स अफिसमा ढिलोचाँडो पचास करोडको बजार बन्ने नै छ । तर, दुई पर्दाको क्युएफएक्स बनाउन घटीमा १६ करोड लगानी जान्छ, तीन पर्दाका लागि १९/२० करोड । तैपनि मल्टिप्लेक्स हलहरू बनिरहेका छन् । यसले के प्रमाणित गर्छ भने नेपालमा सिनेमाको भविष्य छ ।

संसारभरका सिनेमाको आ–आफ्नै संरचना छ । तर, नेपाली सिनेमाको कस्तो संरचना छ त ? संरचना र पहिचानै छैन । तर, हामीले पाँच–दश वर्ष मिहिनेत गर्दा गाह्रो छैन । त्यसका लागि लामो बाटो हिँड्नुपर्छ, त्यो धैर्यता कोसँग छ ?

तीतो सत्य के हो भने महामारीमा दुई क्षेत्र नराम्रोसँग थला पर्‍यो– सिनेमा र पर्यटन । तर, हामीलाई राज्यले अहिलेसम्म नीतिगत रूपमा केही सहयोग गरेको छैन । अनुदानको कुरा त परको भयो । जब कि यस क्षेत्रमा हजारौँ मान्छे जोडिएका छन् । यसबारे हामीले सञ्चार मन्त्रालयमा प्रपोजल पनि दियौँ । वर्तनमा अर्थमन्त्री विष्णु पौडेललाई पनि दिएका छौँ ।

यसवेला एउटा यक्ष प्रश्न हो– यस्तो विषम परिस्थितिमा सबैले हामीलाई सहयोग नगरिदिने हो भने भोलि सिनेमा कहाँ लगेर देखाउने ? हल जोगाउन सकिने अवस्था छैन, यसवेला नेपाली सिनेमाप्रति चासो भएका सबैको जिम्मेवारी हो । नेपाली सिने क्षेत्र र हल त नङमासुजस्तै हो । संकटको वेला नै साथ चाहिने हो । तर, त्यसको कतै गुन्जायस छैन ।

नेपाली सिनेमा व्यवसायमा अधिक कर तिर्ने क्युएफएक्स हो । पारदर्शी व्यापार गर्ने हामी नै हो । हामीलाई नै राज्य अनि सबैको सहयोगको आवश्यकता छ । पछिल्लो समय राज्यले हामीलाई हल खोल्न दियो । ५० प्रतिशतमा अकुपेन्सीमा खोल्नु भन्ने आदेश दियो । तर, हल चल्न त सिनेमा र दर्शक चाहिन्छ ।

बिस्तारै हिन्दी र अंग्रेजी साना तर, राम्रा सिनेमा आएका थिए । फेरि कोभिडको लहर देखियो । त्यसले अंग्रेजी सिनेमा आएनन् । तर, राम्रो सिनेमा आउने हो भने दर्शक आउँछन् होलान् । किनभने नाइट क्लबमा खुट्टा राख्ने ठाउँ छैन । ती युवा सिनेमा हेर्न पनि आउन सक्छन् । गतिलो सिनेमा त चाहियो नि ! यस्तो भयावह अवस्थामा पनि नेपालभर मल्टिप्लेक्स बढिरहेको छ । कोभिडले एक वर्षै दुःख दियो । यस्तो अवस्थामा राज्यले कसरी हेरिदिने ? 

राज्यले यो क्षेत्रलाई नहेरिदिँदा ओझेलमा छ । हलहरू बन्द हुन्छन् । करबाट राज्य वञ्चित हुन्छ । त्योभन्दा ज्यादा हजारौँ मान्छेले रोजीरोटी खोसिन्छ । त्यो रोजीरोटी कति ठूलो पाटो हो, सबैले बुझ्नुपर्छ । यसवेला सिनेमा हल टिकाउने प्रयत्नतिर लाग्नुपर्छ । त्यसपछि चलाउँला नि सिनेमा ! राम्रो सिनेमा बनेको छ भने दर्शक आइहाल्छन् । तर, हलै रहेन भने कहाँ सिनेमा चलाउने ?