मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक १ सोमबार
  • Monday, 18 October, 2021
राजबहादुर शाह
२०७८ बैशाख ११ शनिबार ०९:४४:००
Read Time : > 4 मिनेट
Read Time : > 4 मिनेट
राजबहादुर शाह
२०७८ बैशाख ११ शनिबार ०९:४४:००

राजबहादुर शाह प्रबन्ध निर्देशक, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज

म डिस्टिलरीभित्रै जन्मिएको हुँ । हामीले यसबीचमा धेरै कुरा भएको देखेका छौँ । मेरो हजुरबुबाको समय, मेरो बुबाको समय, मेरो समयमा पनि यो उद्योग परिवर्तन भइरहेको छ । भोलि मेरो बालबच्चाको समयमा पनि यो क्रम निरन्तर कायम रहनेछ । विगत २० वर्षदेखि म यो उद्योगको नेतृत्वमा छु । विगतमा भन्दा यो समयमा छिटोछिटो परिवर्तन भइरहेका छन् । पहिलो परिवर्तन बजारमा खेलाडीहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । पहिले आठवटा डिस्टिलरीहरू थिए, अहिले डेढ–दुई सय पुगिसके । अझ सानोसानो उद्योगको पनि कुरा गर्ने हो भने १५ सयवटा लाइसेन्स बाँडिएको छ । त्यसो हुँदा यस क्षेत्रमा अधिक प्रतिस्पर्धा छ । मुलुकमा १०–१५ वटाभन्दा बढी ब्रान्डहरू दिगो रूपमा टिक्न सक्दैनन् । तर, हरेक वर्ष ५० वटा नयाँ ब्रान्ड आइरहेका छन् । बियर क्षेत्रमा पनि नयाँ लाइसेन्स खोलेपछि नयाँ कम्पनी आएका छन् । पहिले गोर्खा ब्रुअरीको एकाधिकार थियो, अहिले बजार हिस्सा बाँडिएको छ । गएको वर्ष कोभिड–१९ का बीचमा पनि २० वटा नयाँ ब्रान्ड निस्किए । यस्तो अवस्थामा ८० प्रतिशत ब्रान्ड फेल हुन्छन् । 

यो पृष्ठभूमिमा आजका दिनमा लिकर उद्योग तथा बियर उद्योग सञ्चालन गर्नु कठिन छ । हामी लिकर उद्योगमा धेरै लामो समयदेखि भएकाले यसमा आउने धक्काहरूलाई सामना गर्ने बानी नै लागिसक्यो । तर, बियरमा भने आश्चर्यजनक कुराहरू भइरहेका छन् । विगतमा एक केसमा १ हजार रुपैयाँ नाफा हुन्थ्यो भने अहिले १ सय पनि छैन । बियर उद्योगमा सिमेन्टमा भन्दा पनि बढी प्रतिस्पर्धा छ । सिमेन्टमा यति प्रतिस्पर्धा छ कि कहिलेकाहीँ निःशुल्क पनि वितरण हुने गरेको छ, किनभने सिमेन्टको आफ्नै आयु छ । आयु सकिन लागेपछि कम्पनीहरूले निःशुल्क पनि वितरण गर्ने गर्छन् । बियरको पनि त्यस्तै आयु हुन्छ । त्यसैले निःशुल्क बाँडिरहेका हुन्छन् । 

विगत १० वर्षमा मदिराको मूल्य तीन गुणा बढेको छ । त्यसो हुँदा विगतमा भोड्का खानेहरूले अहिले त्यो खान नसक्ने भएका छन् । हाम्रो रुस्लान भोड्का कुनै वेला सबैभन्दा बढी बिक्री हुन्थ्यो । तर, अहिले ‘गोल्डेन ओक’ बिक्री हुन्छ । 

अहिले कोभिडका कारणले पनि लिकर तथा बियर उद्योगहरूलाई समस्या परेको छ । मानिसहरू बाहिर गएर खान छाडेका छन् । मानिसको आम्दानी घटेको छ, रोजगारीको सुरक्षा छैन । रोजगारीको सुरक्षा नभएपछि मानिस आत्तिन्छन् र रमाइलो गर्न कम गर्छन् । पार्टी तथा भोजहरू कम भएका छन् । त्यसो हुँदा मदिराको व्यापार घटेको छ । बियरको व्यवसाय ४० देखि ५० प्रतिशतले घटेको अनुमान छ । लिकरको व्यवसाय २५ देखि ३५ प्रतिशतले घटेको छ । त्यसमा पनि प्रिमियम ब्रान्डहरूको खपत ७० प्रतिशतसम्मले घटेको छ । 

पछिल्लो समय बजार खुल्दा निश्चय पनि आम्दानी बढ्न थालेको छ । तर, यहीवेलासमेत अत्यधिक प्रतिस्पर्धाका कारण नाफा भने बढ्न सकेको छैन । हाम्रोमा मूल्यवृद्धिको सामान्य दरको तुलनामा मदिराको मूल्यवृद्धि अत्यधिक धेरै छ । विगत १० वर्षमा मदिराको मूल्य तीन गुणा बढेको छ । त्यसो हुँदा विगतमा भोड्का खानेहरूले अहिले त्यो खान नसक्ने भएका छन् । हाम्रो रुस्लान भोड्का कुनै वेला सबैभन्दा बढी बिक्री हुन्थ्यो । तर, अहिले ‘गोल्डेन ओक’ बिक्री हुन्छ । किनभने गुणस्तर उस्तै भए पनि यसको मूल्य कम छ । यो निम्नमध्यम वर्गले खान सक्ने मूल्यमा छ, त्यसो हुँदा यो ‘मास’मा बिक्री हुन्छ । यस्ता उत्पादनका कारण हामी बचिरहेका छौँ । बियरमा पनि विगतमा प्रिमियम ब्रान्ड खानेहरूले अहिले स्वदेशी ब्रान्ड खाइरहेका छन् । यसले गर्दा कम्पनीहरू टिक्न सकेका छन् । 

कोभिडले मुलुकको अर्थतन्त्र हल्लियो । रेमिट्यान्स पनि कम भयो । मानिसले खोर्चयोग्य आय पनि खर्च नगरेर बचत गर्न लागे । किनभने भोलि के हुन्छ भन्ने निश्चितता भएन । 

बजारको आकारको हिसाबले बियरको वार्षिक खपत १ करोड ५० लाख केस हुन्छ, जुन दक्षिण एसियामै राम्रो हो । लिकरमा प्रमियम र मध्यमस्तरको ब्रान्डहरूको खपत ५०–४० लाख केस होला । अलि कम मूल्यको मदिराको २ करोड केससम्म होला । तर, कम मूल्यका मदिराको बिक्री यकिन गरेर भन्न सकिन्न । किनभने यो सेग्मेन्टमा धेरै कर छली हुन्छ । 

हाम्रो रुस्लान भोड्का करिब ५० वर्षदेखि बजारमा छ । खुकुरी रम पनि पुरानो ब्रान्ड हो । त्यसो हुँदा नेपालमै बनेका ब्रान्डहरू बजारमा पहिल्यैदेखि थिए । तर, पछिल्लो समयमा बहुराष्ट्रिय ब्रान्डको तुलनामा नेपाली ब्रान्डहरूले निकै राम्रो गरिरहेका छन् । नेपाली ब्रान्डहरू सस्तो भएकाले पनि बजारमा यिनीहरूको उपस्थिति बलियो छ । प्रिमियम नेपाली ब्रान्डहरू पनि छन् । हाम्रै पनि प्रिमियम ब्रान्ड छ– मास्टर सेलेक्सन नामको । वल्र्ड दरबारको पनि ब्ल्याक चिम्नी छ । तर, ब्ल्याक लेबल, सिभास रिगलजस्ता अन्तर्राष्ट्रिय ब्रान्ड उपभोग गर्न नसक्नेहरूले नै यी ब्रान्ड उपभोग गर्ने हुन् । 

मानिसहरू बाहिर गएर खान छाडेका छन् । आम्दानी घटेको छ, रोजगारीको सुरक्षा छैन । रोजगारीको सुरक्षा नभएपछि मानिस आत्तिन्छन् र रमाइलो गर्न कम गर्छन् । पार्टी तथा भोजहरू कम भएका छन् । त्यसो हुँदा मदिराको व्यापार घटेको छ । 

नेपाली ब्रान्डहरूको विकास हुन सक्छ । विगतमा नेपाली मदिरा भन्नेबित्तिकै मानिसले राम्रो दृष्टिकोणले हेर्दैनथे । तर, अहिले आएर धेरै नेपाली ब्रान्डले राम्रो गरेका छन् । यद्यपि, नेपाली ब्रान्डले बहुराष्ट्रिय ब्रान्डलाई उछिन्न भने सक्दैनन् । किनभने उनीहरू ग्लोबल ब्रान्ड हुन् । मूल्यका कारणले मात्रै होइन, अन्य धेरै कारणले उनीहरूसँग प्रतिस्पर्धा गर्न सकिन्न । किनभने उनीहरूले यो उद्योगलाई पनि ‘परिभाषित’ गरेका छन् । 

यो क्षेत्रमा प्रविधिको विकास पनि तीव्र रूपमा भइरहेको छ । पहिले नयाँ ब्रुअरी वा डिस्टिलरी लगायो भने त्यसको आयु २५ वर्ष मानिन्थ्यो । तर, अहिले हरेक तीन महिनामा प्रविधिमा परिवर्तन भइरहेको छ । यसले गुणस्तर नियन्त्रणलाई अझै राम्रो बनाएको छ । मदिरा उद्योगमा गुणस्तरको निरन्तरता निकै महत्वपूर्ण हुन्छ । किनभने रुस्लान भोड्काको स्वाद अहिले जस्तो छ, भोलि त्योभन्दा मीठो बनाइयो भने पनि उपभोक्ताले रुचाउँदैनन् । 

हामी अहिल्यै नयाँ डिस्टिलरी बनाउन सुरु गरिसकेका छौँ । किनभने नयाँ डिस्टीलरी खोल्ने प्रक्रिया लामो छ । एउटै उद्योग बनाउन ८–१० वर्ष लाग्छ । ३–४ वर्ष त योजनाकै लाग्छ । नयाँ–नयाँ प्रविधि यस उद्योगमा भित्रिरहे पनि अझै पनि उच्च स्तरको प्रविधि भित्रिसकेको छैन । नेपालमा श्रमिकको ज्याला कम नै छ । तर पनि श्रमप्रधान उद्योग लगाउनुभन्दा प्रविधिप्रधान उद्योग लगाउँदा त्यो सस्तो पर्न जाने अवस्था बनिसकेको छ । श्रमिकको मूल्यका कारणभन्दा पनि मजदुरहरूको युनियनका कारणले यस्तो भएको हो । श्रमप्राधान उद्योगभन्दा प्रविधिप्रधान उद्योग लगाउँदा ४–५ गुणा बढी लगानी पर्ने भए पनि दीर्घकालमा यसबाटै बढी फाइदा हुन्छ । मसँग एउटा तीन सय कामदारले काम गर्ने उद्योग छ, अर्को २० जना कामदारले काम गर्ने स्वचालित उद्योग छ भने २० जनावालाले तीन गुणा बढी प्रतिफल दिन्छ । नेपालमा पनि अटोमेसन भइरहेको छ, तर हाम्रा छिमेकीको तुलनामा पनि हामी असाध्यै पछाडि छौँ । त्यसैले हामीले यस क्षेत्रमा धेरै काम गर्न बाँकी छ । 

नेपालमा विगतदेखि नै मदिरा र सुर्तीमा अन्तःशुल्क उच्च नै थियो । नेपालमा मात्रै होइन, विश्वका अन्य मुलुकमा पनि लिकर र सुर्तीमा कर बढी नै लगाउने गरिन्छ । हाम्रो उत्पादनमा तपाईंले १ सय रुपैयाँ मूल्य तिर्नुभयो भने ६० प्रतिशत करबापत सरकारले नै उठाउँछ । नेपालजस्तो विकासशील मुलुकमा राजनीतिक अस्थिरता, भ्रष्टाचार व्याप्त छ । यस्ता मुलुकमा मदिराजन्य उत्पादनमा कर छली पनि ठूलो मात्रामा हुन्छ, जसलाई रोक्नुपर्छ । तर, सरकार अल्कोहलविरोधी भएजस्तो मलाई लाग्दैन । यसमा सरकार जिम्मेवार भइरहेको जस्तो लाग्छ । कतिपय गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय एजेन्सीहरूले चाहिँ यसमा केही दबाब पनि दिइरहेका छन् । 

सरकारले मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही सुरु गर्‍यो । हामी त्यसको बलियो समर्थक हौँ । त्यही कारणले पछिल्लो समयमा मदिरा पिएर सवारी चलाउन मानिसले छाडे । हामी त्यसमा खुसी भयौँ । त्यसले हाम्रो व्यापार घटाएन, बरु बढायो । किनभने मानिस घरमै मदिरा सेवन गर्न थाले, जुन उनीहरूका लागि पनि सस्तो पर्न गयो । 

यी विविध कारणले सरकार यस विषयमा जिम्मेवार भएको देखिन्छ । तर, यस विषयमा अझै बढी चेतना आवश्यक छ । यस क्षेत्रमा अझै पनि नियमन गर्नुपर्छ । त्यसो हुँदा नेपालमा मदिरा उद्योगप्रति सरकार नकारात्मक छैन । नेपालको सरकार तथा ब्युरोक्रेसी धेरै मैत्री छ । अन्य धेरै विकासशील मुलुकको तुलनामा नेपालको लिकर उद्योग धेरै इमान्दार पनि छ । तर, यस क्षेत्रमा धेरै काम गर्न अझै बाँकी छ । कर बढाउनेभन्दा पनि धेरै मानिसले कर तिर्ने वातावरण सरकारले बनाओस् भन्ने चाहन्छौँ ।