१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
गीता राणा
२०७८ बैशाख ९ बिहीबार ११:२४:००
Read Time : > 3 मिनेट
Read Time : > 3 मिनेट
गीता राणा
२०७८ बैशाख ९ बिहीबार ११:२४:००

नेपालसहित संसारभर नै शिक्षा क्षेत्रमा परिवर्तन आइरहेका छन् । अहिले शिक्षा व्यवसायीकरणतिर उन्मुख भइरहेको छ । पहिले शिक्षा भन्नेबित्तिकै ज्ञान आर्जन गर्ने माध्यम मानिन्थ्यो । त्योभन्दा अलि पछिका दिनमा शिक्षा रोजगारीमूलक हुनुपर्छ भनियो । फेरि शिक्षा जीवनोपयोगी हुनपर्छ भन्ने पनि आयो । शिक्षा ज्ञान, जीवनोपयोगी र रोजगारीलगायत विषयलाई त जोडेरै आएको छ । तर, अबको शिक्षा भनेको व्यवसायीकरणउन्मुख हुनुपर्छ भन्ने भएको छ । व्यवसायउन्मुख शिक्षा आवश्यक भएको कुरामा बहस हुन थालेको छ । शिक्षाको महत्व र आवश्यकता बुझे पनि त्यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा अन्योल छ । 

शिक्षा क्षेत्रमा पनि सुरुको अवस्थामा लगानी नै गर्नुपर्ने हुन्छ । बालबालिका, युवाहरूमा लगानी नै गर्नुपर्छ । यो लगानीले देशको विकास र भविष्यमा सकारात्मक प्रभाव पार्छ । शिक्षा क्षेत्रमा लगानी गरेर केही पनि पाइएन भन्ने हुँदैन । किनभने बालबालिका नै भविष्यका कर्णाधार, मेरुदण्ड हुन् । त्यसैले शिक्षा क्षेत्रमा लगानी हुन्छ । तर, यसको प्रतिफल भने प्रत्यक्ष हुँदैन वा दीर्घकालीन रूपमा मात्र प्रतिफल पाउन सकिन्छ ।

देशमा विकास, स्थायित्व, शान्तिका लागि शिक्षा क्षेत्रले जति अरू क्षेत्रले प्रतिफल दिन सक्दैन । थोरै लगानी गर्दा पनि शिक्षा क्षेत्रले धेरै प्रतिफल दिन्छ । जस्तै : सरकारले जुन–जुन विद्यार्थीमा लगानी गर्छ, भोलि ती विद्यार्थीले विभिन्न क्षेत्रमा गएर काम गरेको हुन्छ । अध्ययन गरेको क्षेत्रमा काम गर्नासाथ उसले देश विकासमा सहयोग गर्ने नै भयो । पहिला विभिन्न क्षेत्रमा काम गर्नका लागि बाहिरबाट मानिस ल्याउनुपथ्र्यो । अहिले शिक्षा क्षेत्रमा भएको विकास र विस्तारले नेपालमै सजिलै जनशक्ति उत्पादन भएका छन् । पहिला धेरै धनराशि शिक्षाका लागि बाहिर पठाउनुपथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । 

शिक्षामा लगानी भयो भने भोलिका दिनमा राम्रा उद्यम गरेर पनि व्यक्तिले कर तिर्छ । त्योभन्दा पनि यसले राज्य र समाजलाई धेरै योगदान दिन्छ । एउटा शिक्षित व्यक्तिले कहिले पनि गलत गर्न सक्दैन । उसलाई मैले गलत काम गर्नुहुँदैन भन्ने जानकारी हुन्छ । मैले अनावश्यक झगडा गर्नुहुँदैन, भ्रष्टाचार गर्नुहुँदैन भन्ने ज्ञानको विकास हुन्छ । अहिले हामीलाई शान्ति, सुरक्षा प्रत्याभूति चाहिएको छ । यो सबै शिक्षाबाटै सम्भव छ । त्यसले शिक्षामा लगानी गर्न कञ्जुस्याइँ गर्नुहुँदैन ।

आज शिक्षामा लगानी गरियो भने मात्र भोलिका दिनमा शान्ति, सुरक्षामा जुन खर्च गर्नुपरेको छ, त्यसको आवश्यकता रहँदैन । शिक्षामा लगानी गरेपछि भोलि जुन विद्यार्थी आउँछन् उनीहरूको सीपले आयात घटाउन सकिन्छ । कृषि क्षेत्रमा उत्पादन वृद्धि हुन्छ । प्रविधिको क्षेत्रमा विकास हुन्छ । जुन हामीले सबै अरू देशमा निर्भर हुनुपरेको छ । त्यसको अन्त्य हुन सक्छ । प्रतिफलको हिसाब गर्ने हो भने अंकगणितीय हिसाबकिताब यसको छैन । तर, यसको उपलब्धि ठूलै हुन्छ । 

राम्रो नीति आवश्यक
राजनीतिक दलले जनताको आवश्यकताअनुसार नीति निर्माण गर्नुपर्छ । नीति, नियम, ऐन, कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्छ । नीति, ऐन–कानुन निर्माण भएपछि सम्बन्धित मन्त्रालय वा कर्मचारीले कार्यान्वयन गर्छन् । मन्त्रालय स्थिर सरकार हो । सरकार परिवर्तन हुँदै जाँदा राजनीतिमा परिवर्तन हुन्छ । तर, मन्त्रालयमा परिवर्तन आउँदैन । शिक्षामा लगानी यति गर्नुपर्छ भन्ने सदनमै निर्णय हुन्छ । त्यसलाई कसरी उपयोग गर्ने, कता खर्च गर्ने भन्ने कुरा कर्मचारीतन्त्रले नै गर्ने हो । मलाई लाग्छ, हाम्रो देशको शिक्षा क्षेत्रमा लगानी भएको छैन भन्न मिल्दैन ।

पर्याप्त रूपमा नभएको भने स्वीकार गर्नुपर्छ । देशको आर्थिक अवस्था नै बलियो छैन । हरेक क्षेत्रलाई समेटेर बजेट बनाउनुपर्छ । यी सबैलाई हेर्दा पनि शिक्षा क्षेत्रलाई सरकारले बजेट दिएको छ । सरकारले गरेको लगानीको सदुपयोग गर्ने हो भने हामीले धेरै उपलब्धि हासिल गर्न सक्छौँ । त्यसका लागि कर्मचारीतन्त्र अलि बढी जिम्मेवार हुनुपर्छ ।

पहिले सरकारी विद्यालय धेरै थिए, निजी कम थिए । सरकारी विद्यालयमा सरकारकै लगानी बढी हुन्थ्यो । सरकारलाई पनि आर्थिक भार भएर होला पछि केही विद्यालयलाई सामुदायिक विद्यालयमा परिवर्तन गरेको छ । कतिपय सामुदायिक विद्यालयले आफैँ स्रोत व्यवस्थापन गरेर पनि काम गरिरहेका छन् । अगाडि बढेको अवस्था छ । निजी विद्यालयको संख्या पनि धेरै नै बढेको छ । कुलमध्ये ३० प्रतिशत विद्यार्थी निजी विद्यालयमा पढिरहेका छन् । यसले सरकारको आर्थिक भार कम ग¥यो । निजी विद्यालयले धानेको ३० प्रतिशतलाई सरकारले अन्य क्षेत्रमा लगानी गर्न सक्छ । लगानी क्षेत्रमा सरकारको मात्र होइन, निजी क्षेत्र र समुदायको पनि उत्तिकै लगानी छ, योगदान छ । 

पछिल्लो समय नेपालको पाठ्यक्रमहरूमा पनि परिवर्तन आएको छ । ज्ञान, रोजगारी दिने मात्र होइन, आफ्नै व्यवसाय गर्ने, उद्यमी नै बन्ने र बनाउने भनेर पाठ्क्रममा परिवर्तन गरिएको छ । कोही इलेक्ट्रोनिक सामग्री बनाउन पोख्त होलान्, कोही सिकर्मी, डकर्मी होलान् । कोही कृषिमा अब्बल होलान् । ज्ञान मात्र हासिल गरेर हाम्रो देशलाई पुगेको छैन । कृषि, पर्यटन, प्रविधिका क्षेत्रमा उद्यमी बनाउने किसिमले पाठ्यक्रमको विकास भएको छ । सबै उच्च शिक्षा अध्ययनमा जाँदैनन् । बीचमै तालिम लिन्छन् । आ–आफ्ना उद्यम सञ्चालन गर्छन् । शिक्षाको महत्वपूर्ण भाग भनेको पनि सीप हासिल गर्नु, तालिम दिनु हो । शिक्षाले व्यक्तिलाई उद्यमी बनाउन धेरै सहयोग गर्छ । 

शिक्षा क्षेत्रमा आमूल परिवर्तन आइसकेको छ । जस्तै : पहिला हामी विद्यालय भन्थ्यौँ । अब त्यो विद्यालय संस्थाका रूपमा विकसित भइसकेको छ । संस्थाका रूपमा आइसकेपछि यसभित्र विभिन्न विभाग हुन्छन् । कसैले शिक्षाको पाटो हेर्छ । कसैले उद्यमशीलताको पाटो हेर्छ । कसैले प्रविधिको पाटोलाई हेरेको हुन्छ । विद्यालयभित्र पनि धेरै विभाग हुन्छन् ।

विद्यालय संस्थाका रूपमा विकास भएको हुनाले हामीले पनि विद्यालयमा लगानी बढाउनुपर्छ । लगानी आवश्यक पनि हुन्छ । पहिला कक्षामा गएर चक र डस्टरका भरमा शिक्षकले पढाउँथे, विद्यार्थीले सोहीअनुसार पढ्थे । शिक्षा क्षेत्र सस्तो थियो । कम लगानी गर्दा पनि पुग्थ्यो । अब अहिले त्यो रहेन । अहिले ज्ञानका साथै अतिरिक्त क्रियाकलाप, उद्यमशीलता, रोजगारी, सीप विकास भन्ने विषय उठेको छ । त्यसअनुसार शिक्षा धेरै महँगो हुँदै गएको छ । ती आवश्यकता पूरा गर्दा निजी विद्यालय महँगो भएको छ । सरकारी क्षेत्रका विद्यालय पनि महँगो भएका छन् । यसले सरकारलाई पनि शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्नुपरेको छ ।

पाठ्क्रममा उद्यमशीलतादेखि रोजगारी, जीवनोपयोगी शिक्षा, ज्ञान आर्जनलगायत थपियो । तर, व्यवस्थापनको पाटो भने मजबुत बनाउन सकिएको छैन । नीति बनाइरहने, छलफल गरिरहने भन्दा पनि जुन आवश्यकता अहिले देशलाई छ, आवश्यकताअनुसार व्यवस्थापन गर्नेतर्फ लाग्नुपथ्र्यो, तर त्यसो हुन सकेको छैन । लगानी त आवश्यकता पर्छ नै । लगानीको साथसाथै व्यवस्थापनको सबैभन्दा ठूलो पाटो हो ।

हाम्रो देशमा सबैभन्दा ठूलो समस्या भनेको लगानी मात्र होइन, व्यवस्थापन र दक्ष जनशक्तिको पाटो पनि हो । नयाँ शिक्षा प्रणालीअनुसार अगाडि बढ्न नयाँ जनशक्ति नै चाहियो । जसले जीवनोपयोगी शिक्षा भनेको के हो, बालबालिकालाई उद्यमी कसरी बनाउने, प्रविधिको क्षेत्रमा कसरी पोख्त बनाउने भन्ने कुराको सजिलै जानकारी दिन सकोस् । होइन भने नयाँ पाठ्यक्रम ल्याउनु नै हुँदैन थियो ।

पाठ्यक्रम आइसक्यो । अब व्यवस्थापन गर्ने कि नगर्ने ? नगर्दा हाम्रो देशमा पटकपटक शिक्षाको बारेमा राम्रो शिक्षा भएन । विद्यार्थीका लागि आवश्यक शिक्षा भएन भन्ने कुरा उठ्छ । तपाईंले सुरु गर्नु हामी ज्ञान मात्र दिन्छौँ भनेको भए सबै ज्ञानकै खोजीमा हुन्थे । किताबमै पढ्ने हुन्थे । किताबमा जाने भन्ने हुन्थे । वेलावेलामा उद्यमशीलता चाहियो, जीवनोपयोगी, रोजगारमूलक शिक्षा चाहियो भन्ने कुरा उठ्यो । त्यो सबैलाई सरकारले जोड्दै गएको छ । जोड्दै गएअनुसारको व्यवस्थापन भने गर्न सकेको छैन । त्यसका लागि सरकारले अन्तक्र्रिया, छलफल गर्नुपर्छ ।