१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o७:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सत्ता र शक्तिको आडमा जोगिँदै आएका थिए आलम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:o५:oo

क्रूर अपराधपछिका १२ वर्षमा रौतहटमा १६ एसपी फेरिएका थिए, तर १५ जनाले अनुसन्धान नै अघि बढाएनन् । सर्वोच्चले आलमलाई पक्राउ गरेर मुद्दा चलाउन आदेश दिँदासमेत प्रहरीले उनलाई छोएको थिएन । १६औँ एसपी भूपेन्द्र खत्रीले उनलाई पक्राउ गर्दा आलमको चेतावनी थियो– ‘ए ! एसपी तिमी को हौ ? म आइजी बनाउने ताकत राख्छु, पक्राउ गरेर ठूलो गल्ती गर्‍यौ, छुटेर आएपछि देखाइदिन्छु । ठट्टा ठानेका छौ, जिल्लामा आग लाग्छ आग ।’

जिउँदै मान्छेलाई भट्टामा जलाएर मार्ने क्रूर अपराधमा संलग्न रहे पनि मोहम्मद आफताब आलम सत्ता र शक्तिको आडमा जोगिँदै आएका थिए । कांग्रेसको तर्फबाट सांसद मात्र होइन, चारपटक मन्त्रीसमेत भएका थिए उनी । राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली थिए । जिल्लामा ‘रौतहट टाइगर’ नामले चिनिने उनका अगाडि प्रहरी प्रशासनसमेत नतमस्तक थियो । कतिसम्म भने हत्या घटना भएको ०६४ चैतदेखि ०७६ असोजसम्मको १२ वर्षमा रौतहटमा १६ एसपी फेरिएका थिए, तर १५ जनाले अनुसन्धान नै अघि बढाएनन् । घटनालगत्तै त प्रहरीले उजुरी लिनसमेत मानेन ।

जिल्ला सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा अगाडि बढाउन नमानेपछि पीडित परिवार सर्वोच्च अदालत पुगे । सर्वोच्चले घटनालाई गम्भीर भन्दै थप अनुसन्धान गर्न आदेश दियो । तर, पटकपटक ताकेता गर्दा पनि प्रहरीका हाकिम सर्वोच्चको आदेशको सम्मान होइन, आलमको संरक्षणमा लागिरहे । सर्वोच्च अदालतले आलमलाई पक्राउ गरेर मुद्दा चलाउन आदेश दिँदासमेत प्रहरीले उनलाई छोएको थिएन ।

आलम ०५४ मै सहायकमन्त्री भएका थिए । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको मन्त्रिपरिषद्मा उनी श्रम तथा यातायात सहायकमन्त्री भएका थिए । ०५७ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वनमन्त्री भए  । ०५८ मा उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा भूमिसुधारमन्त्री भएका थिए । ०६४ को संविधानसभा निर्वाचनको मुखमा मतदातालाई आतंकित बनाएर बुथ कब्जा गर्न आलमकै योजनामा बनाइएको बम अचानक विस्फोट भएपछि घाइतेलाई उपचार गर्नुको सट्टा प्रमाण नष्ट गर्न बम बनाउनेहरूलाई नै जिउँदै इँटाभट्टामा हालिएको थियो । यति क्रूर ठूलो अपराध पनि उनले तत्काल लुकाए चुनाव जितेपछि जिल्लामा उनको ‘आतंक’ झन् बढ्यो । किनकि उनी मन्त्री पनि बने । आलम ०६६ मा माधवकुमार नेपालको नेतृत्वको मन्त्रिपरिषद्मा श्रममन्त्री भएका थिए ।

जिल्लामा आलमको आतंक कुन हदसम्म थियो भने १२ वर्षपछि २९ कात्तिक ०७६ मा उनलाई जेल पठाउने न्यायाधीश र सरकारी वकिलले लगत्तै जिल्ला छाडेका थिए । पुर्पक्षका लागि आलमलाई जेल पठाउने जिल्ला न्यायाधीश दीपक ढकाल र बहस गर्ने जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) फणीन्द्रराज कटवालले भोलिपल्ट नै जिल्ला छाडेका थिए । उनीहरूले रौतहटबाट आफूलाई तत्काल सरुवा गर्न माग गरेका थिए । अदालतमा बहस चल्दै गर्दा जाहेरवाला र साक्षीलाई धम्की दिने, बन्धक बनाउने र बयान फेर्न लगाउने आलमले न्यायाधिवक्ता र न्यायाधीशलाई समेत विभिन्न माध्यमबाट त्रासमा पारेका थिए । 

आलमले भारतबाट भाडाका अपराधीसमेत जिल्लामा खटाएको सूचना थियो । अदालतमा बहस चलिरहेकै वेला पनि रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार गरिएको थियो । राज्य संयन्त्रलाई नै आतंकित बनाउने योजनाका साथ आलमले नै बम हान्न लगाएको विश्लेषण त्यतिवेला सुरक्षा निकायले गरेको थियो । 

यस्तो थियो २७ चैत ०६४ को त्यो घटना

०६४ चैतको अन्तिम साता नजिकिँदै गर्दा संविधानसभा निर्वाचनको माहोल तातिएको थियो । २८ चैतमा निर्वाचन थियो । त्यसको अघिल्लो दिन साँझ ६ः१५ बजे रौतहटकै फरहदवा गाउँ (हालको राजपुर नगरपालिका– २) स्थित शेख इद्रिसको छाप्रोमा बम बन्दै थियो । बम बनाउने कामदार भारतबाट झिकाइएका थिए, केही नेपाली पनि थिए । विस्फोट गराएर मतदाता तर्साउने र बुथ कब्जा गर्ने उद्देश्यले कांग्रेस उम्मेदवार मोहम्मद आफताब आलमको योजनामा धमाधम बम बनाइँदै थिए । अचानक, बम बनिरहेकै ठाउँमा विस्फोट भयो । कैयौँ कामदार घाइते भए, कैयौँको मृत्यु भयो । 

पीडाले छटपटाइरहेका घाइते ‘अस्पताल लग’ भन्दै गुहार मागिरहेका थिए । तर, आफैँलाई चुनाव जिताउन बम बनाउँदा घाइते भएकाहरूलाई उपचार होइन, ‘व्यवस्थापन’ गर्ने योजनामा पुगे आलम । उपचार गर्ने भनेर सुई लगाएर घाइतेहरूलाई बेहोस बनाइयो । र, एक–एक गरेर बोरामा प्याक गरियो । ट्र्याक्टरमा लोड गरेर नजिकैको आलमकै दाजु मुस्ताफको इँटाभट्टामा पुर्‍याइयो । इँटाभट्टामा हालिएका शरीर खरानी बने । खरानी बन्नेमा २२ वर्षीय नेपाली युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह पनि थिए । बम बनिरहेको ठाउँमा तमासा हेरिरहेका पिन्टु खासमा गम्भीर घाइते भएका थिएनन् । बम विस्फोटपछि उछिट्टिएको छर्रा पिन्टुको तिघ्रामा लागेको थियो । आत्तिएर भाग्दाभाग्दै उसलाई आलमका मान्छेले लखेटी–लखेटी समाते । उपचार गर्न भन्दै उसलाई सुई लगाएर बेहोस बनाए । बोरामा कोचे । इँटाभट्टामा हाल्दा हात नछिरेपछि गिँडेर हाले र जिउँदै खरानी पारे । पिन्टुसँगै घटनामा घाइते भएका अर्का नेपाली युवक हुन्– ओसी अख्तर । उनलाई पनि जिउँदै खरानी पारियो । बम विस्फोटमा कति मारिएका थिए भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन । किनभने अधिकांश भारतबाट झिकाइएका कामदार थिए ।

ad
ad