एथ्लेटिक्सकी इन्द्रा मल्ललाई ‘आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८०’ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा २८ वैशाखमा हुने कार्यक्रममा सात विधामा वितरण गरिने अवार्डमध्ये मल्ललाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइने भएको हो। प्रतिभा छनोट समितिले मल्ललाई अवार्ड दिन गरेको सिफारिस मञ्चको कार्यसमिति बैठकले अनुमोदन गरेको हो।
अवार्डसँगै मल्ललाई चाँदीको करुवा, ट्रफी र ताम्रपत्रसहित दोसल्ला ओढाइनेछ। यसअघि कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा. वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्याप्रसाद मरासिनीले लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका थिए।
स्याङ्जाको पुलतीबजार घर भएकी मल्लले वि.सं.२०२४ सालमा भारतको अम्बला केन्ट पञ्जावमा बुबा स्व. टीकाबहादुर मल्ल र आमा लक्ष्मीकुमारी मल्लको कोखबाट जन्म लिएकी थिइन्। सात कक्षासम्म भारतमा अध्ययन गरेकी उनी आठ कक्षादेखि स्याङ्जामा पढेकी हुन्।
सय, दुई सय र चार सय मिटर दौडमा प्रायः प्रथम हुने उनी पछि एक हजार पाँच सय, तीन हजार, पाँच हजार र १० हजार मिटरको धाविका बनेकी थिइन्। आफ्नो समयकी उम्दा खेलाडी इन्द्राले दर्जनौँ पदकसँगै राष्ट्रिय रेकर्डहरूसमेत कायम गरेकी छिन्।
०५६ सालमा एम.एड.अध्ययन गरिरहेको समय उनले भारतमा नेसनल इन्स्टिच्युट अफ स्पोर्टस् (एनआइएस)मा डिप्लोमा गर्ने अवसर पाएपछि अध्ययन छाडेर खेलकुद रोजेकी थिइन्।
त्यसअघि ०४० सालदेखि अस्थायी र ०४५ सालदेखि प्राविको स्थायी शिक्षिका बनेकी उनी ०५० सालमा शिक्षिकाको स्थायी जागिरसमेत छाडेर सहायक प्रशिक्षकको अस्थायी जागिर गर्दै निरन्तर खेल क्षेत्रमा लागेकी थिइन्। खेलकुदमा जीवन समर्पित गर्दा विवाहबारे सोच्नै भुलेको बताउने इन्द्राले खेलकुदसँगै विवाह भयो भन्ने गरेकी छिन्।