Skip This
ad
मुलुकको अर्थतन्त्र मिश्रित अवस्थामा छ :  गभर्नर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार १९:५८:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मुलुकको अर्थतन्त्र मिश्रित अवस्थामा छ :  गभर्नर

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १९:५८:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको अर्थव्यवस्था मिश्रित अवस्थामा रहेको बताएका छन्। 

नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले ०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताएका हुन्। 

‘समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहे तापनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैंक सफल रह्यो,’ गभर्नर अधिकारीले भने, ‘अघिल्लो आर्थिक वर्ष जस्तै चालू आवमा पनि विप्रेषण आप्रवाह उच्च छ । विप्रेषण आप्रवाह उल्लेख्य बढेको तथा आयात घटकोले चालू खाता एवं शोधनान्तर बचत कायम भई तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग पुगेको छ।’

पर्याप्त तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउने आधार सिर्जना भएको पनि गभर्नर अधिकारीले दाबी गरे। 

थोक मूल्य र तलब तथा ज्यालादर सूचकांकको वृद्धिदर न्यून रहेसँग नेपालले दुईतिहाइभन्दा बढी आयात गर्ने मुलुक भारतमा समेत मुद्रास्फीति घट्दै गएका कारण मूल्य स्थितिमा परेको चाप क्रमशः कम हुँदै गएको उनको भनाइ छ। 

चालू आवको उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्यवृद्धि दर साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्रै रहने देखिएको पनि गभर्नर अधिकारीले बताए। 

आर्थिक वर्ष ०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने अनुमान गरिएको गभर्नर अधिकारीले उल्लेख गरे। 

त्यसैगरी, करिब ६ मेगावाट जलविद्युत् उत्पादन थप हुने र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालू वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने उनको भनाइ छ। यद्यपि, केही क्षेत्रमा अझै चुनौती कायम रहेको गभर्नर अधिकारीले दाबी गरे। 
   
‘सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य संख्यामा वैदेशिक रोजगारी र अध्ययनका लागि युवाहरू बिदेसिएकाले आन्तरिक माग भने शिथिल रहेको छ। खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएका छन्,’ उनले भने। 

आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको पनि उनले बताए। 

राष्ट्र बैंकका अनुसार गत फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ। 

आर्थिक तथा मौद्रिक सूचक 

नेपालको केन्द्रीय बैंकका रूपमा रहेको नेपाल राष्ट्र बैंक आजबाट स्थापनाको ६८ वर्ष पूरा गरी ६९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रसँग जोडिएका विभिन्न आर्थिक तथा मौद्रिक सूचकहरूसमेत प्रस्तुत गरेका छन् । उनले प्रस्तुत गरेको आर्थिक सूचकहरूको अवस्थासम्बन्धी विवरणको सम्पादित अंश अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा अप्रिल २०२४ मा प्रकाशित वर्ल्ड इकोनोमिक आउटलुकअनुसार सन् २०२४ मा विश्व अर्थतन्त्रको वृद्धिदर तीन प्रतिशत हुने प्रक्षेपण छ। 

विकसित देशहरूको अर्थतन्त्र सन् २०२३ मा १.६ प्रतिशतले वृद्धि भएकोमा सन् २०२४ मा एक प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ। 

यसैगरी, २०२३ मा ४.३ प्रतिशतले वृद्धि भएको उदीयमान तथा विकासोन्मुख देशहरूको अर्थतन्त्र सन् २०२४ मा ४.२ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ। सन् २०२४ मा छिमेकी मुलुकहरू भारतको अर्थतन्त्र ६.८ प्रतिशत र चीनको अर्थतन्त्र ४.६ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ।

विश्वको मुद्रास्फीति सुधारोन्मुख रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२३ मा विश्वको मुद्रास्फीति ६.८ प्रतिशत रहेकोमा सन् २०२४ मा ५.९ प्रतिशत रहने प्रक्षेपण छ । विकसित अर्थतन्त्रको औसत मुद्रास्फीति ४.६ प्रतिशत रहेकोमा सन् २०२४ मा दुई रहने प्रक्षेपण छ। यसैगरी, सन् २०२३ मा ८.३ प्रतिशत रहेको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको औसत मुद्रास्फीति सन् २०२४ मा ८.३ प्रतिशत नै रहने कोषको प्रक्षेपण छ।

 आर्थिक वर्ष ०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल भई समयमा वर्षा भएको र मलको आपूर्ति सहज नै रहेकाले कृषि उत्पादन बढ्ने अनुमान छ । विप्रेषण आप्रवाहमा भएको सुधारले बाह्य क्षेत्र सुदृढ भई बैंकिङ प्रणालीमा तरलता बढेको र कर्जाको ब्याजदर घटेकाले आर्थिक गतिविधि चलायमान हुनका लागि आधार सिर्जना भएको छ।

पयर्टक आगमन कोभिडपूर्वको अवस्थामा पुगेको तथा विद्युत् र सिमेन्टको निर्यात बढ्दै गएको सन्दर्भमा चालू आवमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार हुने देखिन्छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष ०८०/८१ मा धानबाली लगाइएको क्षेत्रफल ०.६१ प्रतिशतले घटे तापनि धानबालीको उत्पादन ४.३३ प्रतिशतले वृद्धि भएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालू आवको दोस्रो त्रयमासको आर्थिक वृद्धिदर चार प्रतिशत रहेको छ। यस अवधिमा औद्योगिक उत्पादनमा कमी आएको छ भने आवास तथा भोजन सेवा, विद्युत् तथा ग्यास क्षेत्र, यातायात तथा भण्डारण क्षेत्रको उत्पादन उल्लेख्य रूपमा बढेको छ। 

समग्रमा चालू आवको आर्थिक वृद्धिदर तीनदेखि चार प्रतिशतको हाराहारीमा रहन सक्ने अन्तर्राष्ट्रिय संघसंस्थाहरूको अनुमान ०८० फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत थियो।

गत फागुन महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ । आव ०८०/८१ को सुरुवाती आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ६.०८ प्रतिशत छ । अघिल्लो आवको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.९३ प्रतिशत थियो।

गत फागुन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ३.६९ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१० प्रतिशत थियो । चालू आवको दोस्रो त्रैमासिक अवधिसम्ममा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकांक ५.५६ प्रतिशतले बढेको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार ०८० चैत मसान्तसम्ममा चालू खर्च रु. ६ खर्ब ४४ अर्ब दुई करोड, पुँजीगत खर्च रु. ९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च रु. एक ६७ अर्ब ९९ करोड गरी कुल सरकारी खर्च रु. नौ खर्ब नौ अर्ब ३९ करोड अर्थात् विनियोजित बजेटको ५१.९३ प्रतिशत छ।

गत चैत मसान्तसम्ममा नेपाल सरकारको कर राजस्व रु. ६ खर्ब ७१ अर्ब १२ करोड र गैरकर राजस्व रु. ७६ अर्ब ९३ करोड गरी कुल राजस्व संकलन ९.४ प्रतिशतले वृद्धि भई रु. सात खर्ब ४८ अर्ब चार करोड पुगेको छ।

 चालू आव ०८०/८१ मा नेपाल सरकारको रु. दुई खर्ब ४० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य रहेकोमा गत चैत मसान्तसम्ममा रु. एक खर्ब ७६ अर्ब परिचालन भएको छ। चालू आर्थिक वर्षको आठ महिनामा कुल वस्तु निर्यातमा चार प्रतिशतले कमी आई रु. एक खर्ब ६२ करोड कायम भएको छ।

चालू आर्थिक वर्षको सुरुवाती आठ महिनामा कुल वस्तु आयातमा २.७ प्रतिशतले कमी आई रु. १० खर्ब ३० अर्ब २२ करोड पुगेको छ । यो अवधिमा कुल वस्तु व्यापार घाटामा २.५ प्रतिशतले कमी आई रु. नौ खर्ब २९ अर्ब ६१ करोड कायम भएको छ।

चालू आवको दोस्रो चौमासिक अवधिसम्ममा चालू खाता रु. एक खर्ब ६६ अर्ब ८७ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु. ५५ अर्ब २८ करोडले घाटामा थियो। यसैगरी, समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. एक खर्ब ४२ अर्बले बचतमा थियो।

चालू आवको सुरुवाती आठ महिनामा विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भई रु. नौ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३  प्रतिशतले बढको थियो।

गत वर्ष असार मसान्तमा रु. १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई गत फागुन मसान्तमा रु. १८ खर्ब ७२ अर्ब ८२ करोड पुगेको छ । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

चालू आवको आठ महिनामा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको छ भने सञ्चित मुद्रा १.७ प्रतिशतले घटेको छ। आठ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ७.६ प्रतिशतले वृद्धि भई गत फागुन मसान्तमा रु. ६१ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ। यो अवधिमा निजी क्षेत्रतर्फको कर्जा ४.२ प्रतिशतले बढेर रु. ४९ खर्ब ९६ अर्ब ५३ करोड पुगेको छ। रासस
 

ad
ad