Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रञ्जित आचार्य
२०७८ बैशाख १० शुक्रबार १०:२८:००
Read Time : > 3 मिनेट
१४औँ वार्षिकोत्सव विशेषांक प्रिन्ट संस्करण

विज्ञापनमा सरकारको दायित्व

Read Time : > 3 मिनेट
रञ्जित आचार्य
२०७८ बैशाख १० शुक्रबार १०:२८:००

रञ्जित आचार्य, सिइओ, प्रिज्मा एडभरटाइजिङ

नेपालमा विज्ञापनको इतिहास झन्डै आठ दशक पुरानो छ । नेपालमा गोरखापत्रको आरम्भपछि मात्र विज्ञापन गर्ने प्रणाली र सोच आरम्भ भएको हो । आरम्भको पाँच दशकसम्म राष्ट्रिय दैनिकका रूपमा गोरखापत्र मात्र रह्यो । त्यसपछि राइजिङ नेपाल आयो । सरकारका बाध्यात्मक सूचना प्रकाशनको एक मात्र उपाय त्यही थियो । विभिन्न विज्ञापन एजेन्सीले पनि विज्ञापन गोरखापत्र र राइजिङ नेपालबाटै प्रचारप्रसार गर्दै आइरहेका थिए । जुनसुकै सूचना पनि गोरखापत्रबाहेक अन्यत्र प्रकाशन गर्ने अवस्था थिएन । 

प्रजातन्त्रपछि खुला नीतिको अवधारणासँगै अन्य सञ्चारगृह र माध्यम पनि खुल्न थाले । विज्ञापनको बजार पनि बिस्तारै मौलाउँदै जान थाल्यो । पत्रिकाले पनि श्यामश्वेत छाडेर रंगीन पेज छाप्न थाले । टेलिभिजनमा पनि नेपाल टेलिभिजनबाहेकका अन्य टेलिभिजन च्यानल खुल्न थाले । रेडियो नेपालबाहेक विभिन्न एफएम स्टेसनको विकाससँगै विज्ञापनको बजार विस्तारीकरण हुन पुग्यो । त्यससँगसँगै ०४६ पछि एक किसिमको औद्योगिकीकरण पनि हुन थाल्यो । उद्योग खुल्ने अनुकूल वातावरणको सिर्जनासँगै थुप्रै उद्योग–प्रतिष्ठान थपिन थाले । उनीहरूले आप्mना उत्पादन बजारमा ल्याएपछि प्रचारप्रसार गर्ने नीतिअनुरूप विज्ञापनमा सञ्चारमाध्यम र उत्पादकको प्रतिस्पर्धा सुरु भयो । यसले विज्ञापनमा पनि प्रतिस्पर्धा सुरु गरायो । 

झन्डै डेढ दशकयताको नेपालको विज्ञापन बजारले ठूलै फड्को मारेको छ । विज्ञापन गर्ने, प्रचारप्रसार गर्नेदेखि कुनै पनि उत्पादनको ब्रान्ड बनाउने विषयमा विज्ञापन व्यवसायी पनि व्यावसायिक ढंगले नै सक्रिय भएका छन् । त्यसैले नेपालमा विज्ञापनको बजार कोभिड– १९ अगाडिसम्म वार्षिक १० देखि १२ प्रतिशतसम्म बढ्दै गएको हाम्रो अनुमान थियो । भनिरहनु परेन, कोभिडका कारण अहिले बजार खस्किन पुगेको छ । बजार खस्किनुमा कोभिडसँगै नयाँ सञ्चारमाध्यमका रूपमा उदाएको डिजिटल प्लेटफर्म पनि कारक हो । डिजिटल प्लेटफर्मले आफूलाई विज्ञापनको माध्यमका रूपमा प्रमाणित गर्दै गएको छ । 

कोभिडका कारण आउटडोर विज्ञापन माध्यम र लगानीमा कमी आएकाले त्यतातिर खर्च हुने बजेट अहिलेलाई डिजिटल माध्यममा भइरहेको छ । ०४६ पछि भएको सञ्चारमाध्यमको विकासले विज्ञापनको क्षेत्रलाई विस्तारित गरेको भए पनि त्यसको महत्वपूर्ण पाटोका रूपमा औद्योगिकीकरण नै थियो । त्यसैले नेपाली विज्ञापन बजारले झन्डै चारदेखि ६ दशकसम्म एक्लो प्रतिस्पर्धामा रहेको छापा सञ्चारमाध्यममार्फत नै बाध्यकारी विज्ञापन गर्दै आइरहेको थियो । पछिल्लो विश्व महामारीले हामीलाई प्रभावित नपारेको भए विज्ञापन बजार आफ्नै गतिमा वार्षिक १०–१२ प्रतिशतसम्मको विस्तार हुँदै अघि बढिरहेको हुन्थ्यो । तर, विडम्बनाका रूपमा आएको कोभिडको त्रासले विश्व बजारलाई नै प्रभावित पारेको समयमा नेपाल यसबाट अछुतो रहने सम्भावना नै रहेन । 

उद्यमशीलतामा यसको प्रभाव
विज्ञापन भनेको कुनै पनि मुलुकको आर्थिक क्षेत्रकै मेरुदण्ड नै हो । अर्थतन्त्र चलायमान हुन देशमा औद्योगिकीकरण हुनु अत्यावश्यक छ । देशमा उद्योग खुल्दै गर्दा र उद्योगले उत्पादनहरू बजारमा ल्याउँदै गर्दा ती उत्पादन उपभोक्तासम्म पुर्‍याउने र उनीहरूलाई ती उत्पादनबारे जानकारी दिलाउने तथा प्रतिस्पर्धात्मक बजारमा स्थापित गराउने सबै काम विज्ञापनले गर्ने हुनाले विज्ञापनको भूमिका अहं छ । विज्ञापनले विभिन्न कालखण्डमा विभिन्न उत्पादनलाई उपभोक्तासमक्ष पुर्‍याउनेदेखि उद्योगलाई नै उपभोक्तामाझ चिनाउन ठूलो भूमिका खेल्ने गरेको छ । 

हामीले नेपाली बजारमा रहेका जति पनि स्वदेशी उत्पादन छन्, ती मात्र नभई केही नेपाली उत्पादनलाई विदेशी बजारमा पनि पुर्‍याइरहेका छौँ । त्यसमा विज्ञापनको ठूलो भूमिका छ । विज्ञापन सिर्जनात्मक काम भएकाले उत्पादनलाई नाम दिनेदेखि त्यसको प्याकेजिङ, डिजाइनसम्मको काम पनि विज्ञापन एजेन्सीले नै गर्ने गर्छ । त्यसपछि उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने र उपभोक्ताको मस्तिष्कमा त्यसलाई स्थापित गर्दै घरघरमा त्यो उत्पादनको उपभोग गराउनेसम्मको काम गर्नका लागि विज्ञापनको सबैभन्दा ठूलो महत्व रहने गरेको छ । 

झन्डै डेढ दशकयताको नेपालको विज्ञापन बजारले ठूलै फड्को मारेको छ । विज्ञापन गर्ने, प्रचारप्रसार गर्नेदेखि कुनै पनि उत्पादनको ब्रान्ड बनाउने विषयमा विज्ञापन व्यवसायी पनि व्यावसायिक ढंगले नै सक्रिय भएका छन् ।

अबको मार्गचित्र
अहिले इन्टरनेटको विकाससँगै जसरी मानिसको रहनसहन र दिनचर्यामा परिवर्तन भइरहेको छ, त्यसले हाम्रो परम्परागत सञ्चारमाध्यम र सूचनालाई ग्रहण गर्ने प्रक्रियामा भिन्नता ल्याइदिएको छ । त्यसरी नै हामीले अबको बदलिँदो समयमा नयाँ परिस्थितिलाई आत्मसात् गरी फेरिएका उपभोक्तालाई केन्द्रमा राखेर नयाँ मार्गचित्र कोर्नु आवश्यक भइसकेको छ । पछिल्लो समय सञ्चारमाध्यम टेलिभिजनबाट स्मार्ट फोनमा सिफ्ट हुँदै छन् भने पत्रपत्रिकामा आउने समाचार तत्काल स्मार्ट फोन र अनलाइन माध्यममा आइरहेका छन् । यसले पाठकको सूचना लिने शैलीमा तात्विक भिन्नता ल्याइदिएको छ । यही परिवर्तित अवस्थालाई ध्यानमा राखेर विज्ञापन र सूचना उपभोक्तासम्म कसरी प्रभावकारी ढंगले पुर्‍याउने, त्यसको नतिजा कसरी थप प्रभावकारी बनाउने र आममानिसमा त्यसप्रति कसरी अभिरुचि जगाउने भन्ने अहिलेको मुख्य चुनौती हो । यसमा सबैले स्पष्ट मार्गचित्र कोर्नु जरुरी छ । यति भन्दै गर्दा के चाहिँ बुझ्नुहुँदैन भने सबै विज्ञापन अब अनलाइनमार्फत नै हुनेछन्, त्यसैले पत्रपत्रिका र रेडियोमा विज्ञापन दिनुपर्ने छैन । अझै पनि पत्रपत्रिका र रेडियो बन्द हुनेछैन । त्यसैले सबैखाले सञ्चारमाध्यमलाई समेट्ने खालका विज्ञापन निर्माणमा जोड दिनुपर्नेछ । 

पत्रपत्रिकाले हामी अनलाइनमा जान्नौँ, त्यो हाम्रो क्षेत्र होइन भन्ने समय रहेन । उसले पनि आफूलाई परिमार्जित गर्दै डिजिटल माध्यममा लैजानुपर्नेछ भने टेलिभिजन र रेडियोले पनि आफूलाई परिमार्जित गर्दै अनलाइनमा लग्नुपर्नेछ । किनभने पहिले एफएम सुन्नका लागि एफएम रेडियो नै चाहिन्थ्यो भने अहिले मोबाइल, इन्टरनेट र फेसबुकबाट समेत सुन्न र हेर्न सकिने भएको छ । अब फेसबुकमै एफएम जोडेर प्रचारप्रसारको माध्यमलाई जीवितै राख्छु भन्ने सोचको विकास जतिसक्दो छिटो गर्नुपर्नेछ । यसका लागि सबैभन्दा पहिले सरकारले चासो दिनुपर्छ । कुनै पनि मार्गचित्र कोर्नुमा सरकारकै सबैभन्दा ठूलो हात हुने गर्छ । 

त्यसैले यस विषयलाई सम्बोधन गर्ने गरी आवश्यक नीति–नियम ल्याउन सरकारले चासो दिनुपर्छ । विज्ञापन बजार टिकाउने मात्र होइन देशको उत्पादन र अन्य सूचनालाई भ्रमरहित वातावरणमा उपभोक्तासम्म पु¥याउने वातावरण बनाउने दायित्व पनि सरकारको हो । बदलिँदो परिस्थितिमा सरकारले आवश्यक नीति–नियम बनाउनु आवश्यक छ र त्यसका लागि नेपालमै रहेका पुराना सञ्चारमाध्यमलाई सहज हुने गरी नीति ल्याइनुपर्नेछ । सरकारको सबैभन्दा ठूलो योगदान नै त्यही हुनेछ । 

निजी क्षेत्रले पनि विज्ञापनको अपरिहार्यता बुझिसकेका कारण विज्ञापनमा खर्च गर्ने रकमलाई सुव्यवस्थित गर्नु र नियमभित्र रहेर खर्च गर्नु आवश्यक छ । किनभने हाल थुप्रै उत्पादकले आफ्ना सामानको विज्ञापन विदेशी सञ्चारमाध्यमबाट गर्दै गर्दा त्यसको भुक्तानी हुन्डीबाट पठाउनुपर्ने बाध्यतामा छन् । यो विकृति हो । त्यसैले यसलाई तत्कालै रोक्नुपर्छ । सरकारले पनि नियमन तथा अनुगमनमा कडाइ गरेर यसलाई नियन्त्रण गर्नतर्फ ध्यान दिनुपर्छ । यसका साथै उद्योगी व्यवसायीले पनि यस्तो काम हामी गर्दैनौँ भनेर सोच्नुपर्ने हुन्छ ।