मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ फाल्गुण १७ सोमबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण १७ सोमबार १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतमोहन अधिकारीको दोस्रो स्मृति दिवस मनाइँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण १७ सोमबार १४:४४:oo

वरिष्ठ वामपन्थी नेता एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको सम्झनामा दोस्रो स्मृति दिवस मनाइने भएको छ । 

भरतमोहन अधिकारीको स्मृति फाउन्डेसनको आयोजना तथा विष्णुमाया पुस्तकालयको सहआयोजनामा मंगलबार विराटनगरमा हुने स्मृति सभामा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि छन् । नेपाल उक्त फाउन्डेसनका संरक्षकसमेत हुन् । 

त्यस अवसरमा स्वर्गीय अधिकारीले वामपन्थी आन्दोलनमार्फत नेपालको राजनीतिक परिवर्तन, राजनीतिक अर्थशास्त्र तथा सामाजिक रूपान्तरणमा पु¥याएको योगदानको चर्चा, अग्रज कम्युनिस्ट र ज्येष्ठ नागरिक सम्मान तथा फाउन्डेसनको प्रदेश १ समिति घोषणा गर्ने कार्यक्रम रहेको फाउन्डेशनकी सदस्य एवं अधिकारीपुत्री लीमा अधिकारीले जानकारी दिइन् । 

विक्रम सम्वत् १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमरपुरामा बुबा रामचन्द्र र आमा पूर्णकुमारीको कोखबाट जन्मिएका अधिकारीको ८२ वर्षको उमेरमा ०७५ साल फागुन १८ गते निधन भएको थियो । अधिकारीले कानुन तथा अर्थराजनीतिको गहिरो अध्ययन गरेका थिए । अर्थशास्त्रमा एमए र कानुनमा बिएलसम्मको औपचारिक शिक्षा हासिल गरेका अधिकारी पञ्चायतकालीन समयमा चर्चित अधिवक्ता थिए । 

अधिकारीले ०४७ सालको संविधान मस्यौदा समितिमा रहेर संविधान निर्माणमा महत्वपूर्ण योगदान गरेका थिए । ०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको लोकप्रिय सरकारमा भरतमोहन अर्थमन्त्री थिए । अधिकारीले नै आफ्नो गाउँ आफैं बनाऔँ कार्यक्रममार्फत हरेक स्थानीय तहमा सीधै रकम पठाउने कामको सुरुवात गरेका थिए । 

यस्तै वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता दिने कामको सुरुवात गरेका अधिकारीलाई अहिले पनि वृद्धवृद्धाले श्रद्धापूर्वक स्मरण गर्ने गर्दछन् । अधिकारी ०४६ सालको राजनीतिक परिवर्तनपछि चारपटक सांसद र पाँचपटक मन्त्री भए । पटकपटक सरकारमा सहभागी हुँदासमेत उनी कहिल्यै विवादमा परेनन् ।