
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको मुटु र मन सानो भएका कारण व्यवस्था नै खतम पार्न असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको दाबी गरेका छन् । सिराहाको कर्जन्हामा जय गोविन्द साहको ३१औँ स्मृतिसभालाई सम्बोधन गर्दै नेपालले ओलीले संविधान, कानुन, नीतिको विरुद्धमा गएर जे मन लाग्छ त्यही गर्न खोजेको बताए ।
सरकारले तीन वर्षमा उपलब्धिमूलक काम गर्न नसकेको भन्दै नेपालले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको बताए । प्रधानमन्त्री ओलीलाई दुर्योधन, भस्मासुर, शिशुपाल र रावणको संज्ञा दिँदै नेपालले भने, ‘घमण्डले मात्तिएको व्यक्ति झुठो कुरा बोलेर जोकरको जस्तो व्यवहार प्रस्तुत गरिरहेको छ ।’
ओली प्रवृत्तिको विरोधमा नेता–कार्यकर्तालाई उत्रिन आह्वान गर्दै नेपालले न्याय, सत्य, संविधान, विधान, विचार, नीति, विधि, मापदण्ड जोगाउन सडकमा ओर्लिनुपर्ने बताए । पार्टीको विधान, निर्णय नमान्ने पार्टीलाई नै खतम गर्न लागेकाले ओलीलाई अध्यक्ष पदबाट हटाएको भन्दै नेपालले सडकबाट टिपेर केन्द्रीय सदस्य बनाएर काम नलाग्ने दाबी गरे ।
स्मृतिसभामा नेकपाका नेता एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओलीले चालेको कमदको पर्दाफास र सत्य–तथ्य जनतालाई बुझाउनुपर्ने बताए । ‘केपी प्रवृत्तिको विरोध गर्दै जानुपर्छ,’ पोखरेलले भने, ‘सानातिना केपी प्रवृत्ति तपाईं हाम्रोबीचमा हुन सक्छ । त्यसको विरोध गर्नुपर्छ ।’