
भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
सोमबार भारतमा गएकाे २४ घन्टाको अवधिमा थप ३८ हजार सात सय ७२ जना थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ९४ लाख नाघेको हो ।
हाल भारतमा ९४ लाख ३१ हजार ६ सय ९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । जसमध्ये ८८ लाख ४७ हजार ६ सय व्यक्ति संक्रमणमुक्त भएका छन् ।
सो मन्त्रालयका अनुसार हाल चार लाख ४६ हजार नाै सय ५२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकैदिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २३औँ दिन हो ।
भारतमा संक्रमणबाट २४ घन्टामा थप ४४३ जनाको मृत्यु भएको र योसहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३७ हजार एक सय ३९ पुगेको छ।
भारतभरि सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी सहर दिल्ली भएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १४ करोड तीन लाख ७९ हजार नमुना परीक्षण गरेको जनाएको छ । हिजो एकैदिनमा आठ लाख ७६ हजार एक सय ७३ व्यक्तिको कोरोना भाइरस परीक्षण भएको समाचारमा जनाइएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार भारतमा काेराेना संक्रमण निकाे हुने दर ९३.७१ प्रतिशत छ ।