
काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा करिब ३३ हजार वर्गमिटरमा ढुंगा बिछ्याउने भएको छ । महानगरका लागि कुल ३२ हजार ८५१ वर्गमिटर ढुंगा बिछ्याउने लक्ष्यसहित काम भइरहेको छ।
महानगरको सार्वजनिक निर्माण विभागले चालू आवमा सार्वजनिक खरिद प्रक्रियाबाट सातवटा प्याकेजमा आठवटा योजना कार्यान्वयन ल्याइएकोमा पाँचवटा योजना सम्पन्न भएको जनाएको छ । सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्ने, सहरी सुन्दरता अभिवृद्धि गर्ने, पैदलयात्रीको यात्रा सहज बनाउने उद्देश्यसहित सम्पदा क्षेत्र, पैदलमार्ग, भित्री सडक तथा गल्लीमा ढुंगा बिछ्याउने काम भइरहेको हो ।
विभागका प्रमुख सुरज शाक्यका अनुसार योजना वडा नं. ६, ८, १२, २१, २६ र २७ गरी ६ वटा वडा र हनुमानढोका दरबार संरक्षण क्षेत्रमा काम भइरहेको छ । यसका लागि रु. २९ करोड ४७ लाख ८८ हजार ८५९ लागत अनुमान गरिएको थियो ।
सम्पन्न भएका पाँचवटा योजनामार्फत १० हजार ७२९ वर्गमिटर क्षेत्रमा ढुंगा बिछ्याइसकिएको छ । यसअन्तर्गत वडा नं. ८ को जयबागेश्वरी मार्ग सिफल सेतो ढोकादेखि जयबागेश्वरी चोकसम्मको एक हजार ४८५ वर्गमिटर मार्गको काम सकिएको छ । यसको लागत रु. एक करोड २६ लाख ६० हजार हो । वडा नम्बर १२ को ह्युमत खोल्सापाखा, ह्युमतदेखि लगनसम्मको एक हजार ८२५ वर्गमिटर मार्गमा ढुंगा बिछ्याइसकिएको छ । यसको लागत रु. एक करोड ५४ लाख ६८ हजार आठ सय हो ।
वडा नं. २१ को लगनचोकमा दुई हजार ९२ वर्गमिटर क्षेत्रको काम सकिएको छ । यसको लागत रु. एक करोड ३६ लाख २९ हजार ७२७ रहेको छ । वडा नं. २६ को कुमारीकृपा मार्गको एक हजार १७ वर्गमिटर क्षेत्र र वडा नम्बर ६ को रामहिटी मार्गमा ५२० वर्गमिटर क्षेत्रमा रु. ४४ लाख ८७ हजार ६ सयमा काम सम्पन्न भएको छ ।