मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ७ बुधबार
  • Friday, 21 February, 2025
स्टिफन क्विलेन
२o८१ फाल्गुण ७ बुधबार o९:२३:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रुस–युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पको रोडम्याप : युक्रेनलाई न नेटो सदस्यता, न सुरक्षा ग्यारेन्टी

Read Time : > 4 मिनेट
स्टिफन क्विलेन
नयाँ पत्रिका
२o८१ फाल्गुण ७ बुधबार o९:२३:oo

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार (फेब्रुअरी १२) रुसी र युक्रेनी नेतासँग पालैपालो फोनवार्ता गरे । उनको सरकारको युक्रेनमा जारी युद्ध अन्त्य गर्ने योजनाअनुरूप यी फोनवार्ता भएको बताइयो । वार्तापछि पत्रकारसँग बोल्ने क्रममा ट्रम्पले उनका प्रमुख चुनावी प्रतिबद्धतामध्ये एक रहेको युक्रेन द्वन्द्व अन्त्य गर्न ‘तुरुन्तै’ वार्ता सुरु गर्ने बताए । त्यसपछि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले युक्रेनको नेटो सदस्य बन्ने आकांक्षादेखि युद्धका प्रमुख मुद्दामा ट्रम्प प्रशासनको अडानलाई हालसम्म सबैभन्दा विस्तृत रूपमा प्रस्तुत गरे । नेटोका सदस्य मुलुकका रक्षमन्त्रीको ब्रसेल्समा भएको बैठकमा हेगसेथले उनको सरकारको अडान प्रस्तुत गरेका थिए । युक्रेन नेटो सदस्य बन्न नसक्नेदेखि युक्रेनको सन् २०१४ पूर्वका भूमि अब उसले फिर्ता नपाउनेसम्मका हेगसेथका भनाइले युरोपसमेत स्तब्ध बन्यो । यस्तो टिप्पणीले आगामी वार्तामा युक्रेनको अवस्थिति स्वतः कमजोर हुने तिनको भनाइ छ । ट्रम्पको फोनवार्तापछिका एक हप्तामा युक्रेन एकाएक एकदम कमजोर स्थितिमा पुगेको देखिएको छ । आफ्नो सबैभन्दा ठुलो एकल सहयोगी मुलुकले साथ छाडेपछि युक्रेन असहाय देखिएको छ । यस्तो लाग्न अब, ऊसँग गुमाउनेबाहेक कुनै विकल्प बाँकी छैन । 

पुटिन र जेलेन्स्कीसँग ट्रम्पले के भने ? 
ट्रम्पका अनुसार पुटिनसँगको फोनवार्ता डेढ घण्टासम्म चलेको थियो । उनका अनुसार सो फोनकल ‘अत्यन्त फलदायी’ थियो र त्यहाँ पुटिनले युद्ध अन्त्य गर्ने चाहना व्यक्त गरे । ‘हामी दुवै सहमत भएझैँ, हामी रुस–युक्रेनबिचको युद्धमा खेर जाने लाखौँ मृत्युलाई रोक्न चाहन्छौँ,’ ट्रम्पले ट्रुथ सोसल नामक सामाजिक खातामा गरेको पोस्टमा उल्लेख छ । ‘राष्ट्रपति पुटिनले मेरो चुनावी अभियानको धेरै बलियो आर्दश वाक्य ‘सामान्य चेत’समेत प्रयोग गरे । हामी दुवै यसमा धेरै दृढ विश्वास गर्छौं ।’ 

ट्रम्पले पछि पत्रकार भेटघाटमा उनी र पुटिनले ‘निकट भविष्य’मै आमनेसामने भएर भेट्ने योजना बनाएको पनि जानकारी दिए । उनले भेट्ने सम्भावित स्थलका रूपमा साउदी अरबको नाम लिए । ट्रम्प–पुटिन फोनवार्ताले धेरै रुसमा ठुलो आशा जगाएको त्यहाँबाट रिपोर्टिङ गर्ने पश्चिमा मिडियाले नै लेखेका छन् । अल जजिराका लागि मस्कोबाट रिपोर्टिङ गर्ने क्रममा युलिया सापोभालोभाको ठम्याइमा युक्रेनमा युद्ध अन्त्य गर्ने वाचामा ट्रम्प सक्रिय रूपमा लागिपरेको आम मानिसमा विश्वास देखिएको छ । तथापि अमेरिका–रुस सम्बन्धमा कुनै न्यानो मोड आउनुअघि लामो बाटो तय गर्न बाँकी छ ।

ट्रम्पका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको उनको फोनवार्ता पनि ‘धेरै राम्रो’ रह्यो । उनका अनुसार फोनमा युक्रेनी राष्ट्रपतिले पनि ‘शान्ति स्थापना गर्न’ चाहेका छन् । फोनवार्ताको सार बताउने क्रममा जेलेन्स्कीले भने उनी र ट्रम्पबिच आर्थिक र सैन्य मुद्दामा ‘धेरै ठोस’ छलफल भयो । यस क्रममा युक्रेनको ड्रोन प्रयोगको विषय पनि नछुटेको उनले बताए । साथै आफूसँग ट्रम्पले पुटिनसँग भएको फोन संवादबारे अध्यावधिक गराएको जेलेन्स्कीको भनाइ थियो । ‘हामी रुसी आक्रामकता रोक्न र भरपर्दो, दिगो शान्ति सुनिश्चित गर्न अमेरिकासँगको संयुक्त कदमलाई स्पष्ट गर्दै छौँ,’ जेलेन्स्कीले भने । तर, पछि ट्रम्पले जेलेन्स्कीका केही प्रमुख युद्ध उद्देश्यविपरीत टिप्पणी गरे । प्रेससँगको कुराकानीमा ट्रम्पले विगतमा रुसले कब्जा गरेको युक्रेनका सबै  क्षेत्र फिर्ता हुने सम्भावना सकिएको मात्र बताएनन्, युक्रेन ‘उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)’ को सदस्य हुने सम्भावनासमेत नरहेको बताइदिए ।

युक्रेन नेटोमा सामेल हुने बाटो लगभग बन्द

अमेरिकालाई मान्ने हो भने युक्रेन नेटो सदस्य बन्ने सम्भावना अब अन्त्य भएको छ । हेगसेथले स्पष्ट रूपमा भने कि अमेरिका ‘वार्तामार्फत समाधान निकाल्ने हो भने युक्रेनको नेटो सदस्यता यथार्थपरक परिणाम हुनेमा विश्वास नगर्ने’ बताए । जेलेन्स्कीले पनि ‘द इकोनोमिस्ट’सँगको अन्तर्वार्तामा नेटोमा सामेल हुने विषय वार्तामा सामेल हुन नसक्ने अवस्था स्विकारेको देखिन्थ्यो, जहाँ उनले ‘दोस्रो विकल्प’ प्रस्ताव गरे । युक्रेन नेटो सदस्य बन्न नसके, उसले रुसको बराबर सेना बनाउनुपर्ने जेलेन्स्कीले सो अन्तर्वार्तामा भने । ‘ठुलो आकारको सेना बनाउन हामीलाई हतियार र पैसा चाहिन्छ । र, हामी अमेरिकाले यसमा सहयोग गरिदियोस् भन्न चाहन्छौँ,’ जेलेन्स्कीले भने । उता, स्विडेनका रक्षामन्त्री पल जोन्सनले बिहीबार भविष्यमा नेटो सदस्यताका लागि आवश्यक सर्त पूरा गरेमा युक्रेनको सदस्यता खुला राख्नुपर्ने टिप्पणी गरे ।

युरोपबाट सेना घटाउने, एसिया प्राशान्तमा बढाउने योजनाको हिस्सा

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले ब्रसेल्समा नेटोका रक्षामन्त्रीसँगको भेटमा युक्रेन युद्धबारे उनको सरकारको विवरण सार्वजनिक गरे । उनले आफ्नो सरकारको युक्रेनको भावी सिमाना र प्रतिरक्षा प्रतिबद्धतासम्बन्धी विचार त्यहाँ खुलेर व्यक्त गरे । हेगसेथका अनुसार युक्रेनसम्बन्धमा ट्रम्पको अडान युद्धको अग्रमोर्चाको यथार्थमा आधारित छ । पछिल्लो समय रुसले धेरै भेगमा सफलता हासिल गर्दै युक्रेनी फौजलाई पछाडि धकेल्दै लगेको छ । हेगसेथले यो पनि स्पष्ट पारे कि उनको सरकार अहिले देशभित्र र एसिया प्रशान्त क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । यसैकारण उसले युरोपमा आफ्नो उपस्थिति घटाउनुपर्ने हुन्छ । ‘हामी युद्धभूमिमा सहयोगीको सामथ्र्य हेरेर नै यो विनाशकारी युद्धको अन्त्य गरी दिगो शान्ति स्थापना गर्न चाहन्छौँ,’ हेगसेथले बुधबार युक्रेनलाई सैन्य रूपमा समर्थन गर्ने ५७ देशहरूको गठबन्धन ‘युक्रेन डिफेन्स कन्ट्याक्ट ग्रुप’का सहयोगी सदस्यलाई भने ।

युक्रेनको गुमेको भूमि फिर्ता नहुने 
यो कैयौँ कुरामा निर्भर गर्छ । युक्रेनले वार्तामार्फत आफ्नो केही भूमि फिर्ता पाए पनि उसले सन् २०१४ भन्दा पहिलेको सिमानामा फर्कने आशा त्यागिदिनिुपर्ने ट्रम्पले गत बुधबारको फोनवार्तापछि पत्रकारलाई भने । रुसले सन् २०१४ मा युक्रेनी भूमि क्रिमिया हत्याएको थियो । रुसले ‘धेरै जमिन लिएको र तिनले त्यो जमिनको लागि धेरै सैनिक गुमाएको’ ट्रम्पले त्यस वेला भनेका थिए । हेगसेथले ट्रम्पकै विचारलाई ब्रसेल्सको बैठकमा दोहोर्‍याए । युक्रेन अब सन् २०१४ अघिको स्थितिमा फर्किने ‘भ्रामक लक्ष्य’ भएको बताउँदै यस लक्ष्यको पछि लागियो भने ‘युद्ध लम्बिने र पीडा थपिने’ अवस्था मात्र हुने हेगसेथले भने । 

बाइडेन सरकारको अडान 
जो बाइडेनको नेतृत्वमा अघिल्लो अमेरिकी सरकारका अडानमा ‘यु–टर्न’जस्तो देखिएको छ । बाइडेनले युक्रेनलाई दसौँ अर्ब डलरको सैन्य सहायता प्रदान गरेर रुसविरुद्धको युद्धमा पूर्ण रूपमा सघाएको थियो । साथै अमेरिकाले त्यति वेला युक्रेनलाई रूसविरुद्धको युद्ध जति लामो जान्छ, त्यति समयसम्म उसलाई समर्थन गर्ने वाचा गरेको थियो । 

विगतमा बइडेनको साथ सहयोग पाइन्जेल रुसलाई एक इन्च भूमि पनि नसुम्पने बताउँदै आएका जेलेन्स्की बदलिँदो अमेरिकी अडानमा चुपचाप अनुकूलन हुँदै गएको देखिन्छ ।

नोभेम्बरमा जेलेन्स्कीले आफूहरू ‘क्राइमियालाई कूटनीतिक रूपमा फिर्ता ल्याउन’ तयार रहेको बताएका थिए । जुन, खासमा सो क्षेत्रमाथिको वास्तविक रुसी नियन्त्रण स्वीकार गर्ने संकेत थियो । जेलेन्स्कीले हालै रुससँग ‘जमिन साट्ने’ प्रस्ताव पनि गरेका छन् । युक्रेनी सेनाले अहिले रुसको पश्चिमी कुस्र्क क्षेत्रका केही भाग कब्जा गरिरहेको छ । भूमि साटफेर भनेर उनको यसैतर्फ संकेत थियो । तथापि, क्रेमलिनले यस्तो आदानप्रदानलाई ‘असम्भव’ भनेर अस्वीकार गरिदिएको छ । 

युक्रेनको सुरक्षा ग्यारेन्टी हुनेछैन 
जे भए पनि युक्रेनी भूमिमा अमेरिकी सेना नओर्लिने हेगसेथले भने । बरु युक्रेनको सुरक्षा ‘सक्षम युरोपेली र गैरयुरोपेली सेना’ले हेर्न सक्ने उनले औँल्याए । तथापि, ती सेना शान्ति सेनाको रूपमा तैनाथ हुने नेटोको हिस्सा नहुने उनले बताए ।

जिम्मेवारी जति युरोपको काँधमा
लन्डनस्थित थिंक ट्यांक ‘चथम हाउस’का वरिष्ठ परामर्शदाता केयर गिल्सका अनुसार हेगसेथको भनाइले अब युक्रेनलाई ‘अमेरिका वा नेटोबाट प्रभावकारी रूपमा सुरक्षा ग्यारेन्टी हुने कुरालाई अस्वीकार गर्छ ।’ हेगसेथले नेटो सहयोगी राष्ट्रहरूलाई रक्षा भार बढाउन पनि आह्वान गरे । त्यसमा रक्षा खर्च कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतबाट पाँच प्रतिशतमा पुर्‍याउनुपर्ने माग पनि समावेश छ । ‘युक्रेनले भविष्य पाउने सशस्त्र र गैरसैन्य सहायताको ठुलो हिस्सा युरोपले व्यहोर्नुपर्छ,’ हेगसेथले भने ।

शुक्रबारदेखि सुरु भएका ‘म्युनिख सुरक्षा सम्मेलन’मा बोल्ने क्रममा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युक्रेनको लगभग उल्लेख नै गरेनन् । सम्बोधनभरि उनले युरोपेली मुलुकमा बढ्दो सेन्सरसिपको केन्द्रित हुँदै उनीहरूप्रति आक्रोश पोखे । कार्यक्रमको छेउमा जेलेन्स्की र अन्य शीर्ष युक्रेनी अधिकारीले अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसँग भेट गरे । तथापि, त्यो भेटवार्ता जेलेन्स्कीले चाहेजस्तो फलदायी रहेन । 

अल जजिराबाट