
काठमाडौंको बल्खुस्थित फलफूल तथा तरकारी बजारमा एक व्यक्ति मृत भेटिएका छन्। उनको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
मकवानपुरको मकवानपुरगढी–४ स्थायी घर भई फलफूल बजारमा मजदुरी गर्ने ४१ वर्षीय रामकृष्ण दाहालको रहस्यमय मृत्यु भएको हो। निधारमा चोट रहेको अवस्थामा बिहीबार बिहान साढे १० बजे उनको शव भेटिएको थियो।
अनुसन्धानको क्रममा घटनामा संलग्न मकवानपुरको हेटौँडा–१४ का नारायणप्रसाद ढकाल, समीर घलान, बिमल रुम्बा र भीमफेदी–७ का अर्जुन स्याङ्तान छन्। पक्राउ परेकाहरू पनि सोही तरकारी बजारमा मजदुरी गर्ने व्यक्तिहरू हुन्। हत्याको आशंका गरिएपनि कारणबारे अझै अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।