मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ८ बिहीबार
  • Friday, 21 February, 2025
२o८१ फाल्गुण ८ बिहीबार o६:१५:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बलात्कार र हत्या अभियोगमा पूरक जाहेरी दिँदै पीडित परिवार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ८ बिहीबार o६:१५:oo

सिराहामा सामूहिक बलात्कारपछि किशोरीको शंकास्पद मृत्यु प्रकरण

सिराहाको नवराजपुर गाउँपालिका– १, भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको बलात्कारपछि भएको शंकास्पद मृत्यु प्रकरणमा पीडित परिवारले बलात्कार र हत्या अभियोगमा पूरक जाहेरी दिने तयारी गरेको छ । १ फागुनमा पीडित परिवारले इलाका प्रहरी कार्यालय, लहानमा बलात्कारका तीन आरोपी र गाउँमा धाकधम्की दिने एकजनाविरुद्ध किटानी जाहेरी दर्ता गर्न जाँदा मुद्दा फाँटका प्रहरीले जबर्जस्ती जाहेरी नै बदलेर एकजनाको नाममा मात्रै आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गर्न लगाएका थिए । त्यसमा असन्तुष्ट पीडित परिवारले रिंकुको बलात्कार र हत्या भएको भन्दै बिहीबार पूरक जाहेरी दिने तयारी गरेको हाे ।

‘पहिले जाहेरी लैजाँदा प्रहरीबाटै चलखेल भएर जाहेरी नै परिवर्तन गराई कसुरलाई कमजोर बनाइएको छ । हामी बलात्कार र हत्या अभियोगमा पूरक जाहेरी लैजाने तयारीमा छौँ,’ रिंकुका ठुलोबुवा रामसेवक सदायले भने । रिंकुले आफूमाथि जबर्जस्ती सामूहिक करणी भएको भनेर संलग्नहरूको नामसमेत किटान गरी गाउँ पञ्चायतमै बयान दिएको, दोस्रोपटक गाउँमा पञ्चायत बसेकै दिन उनी घरभित्रै झुन्डिएको अवस्थामा भेटिएको, तर शव भेटिएको कोठामा बाहिरबाट चुकुल लगाइएको पाइएकाले बलात्कार र हत्या अभियोगसम्बन्धी जाहेरी दिन लागिएको उनले बताए । 

प्रहरीले पनि आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दर्ता भइसकेको अवस्थामा आउने पूरक जाहेरी पनि दर्ता गरी अनुसन्धान अघि बढाउने जनाएको छ । ‘पीडित परिवारले ल्याएको पूरक जाहेरी दर्ता गरेर अनुसन्धानलाई थप अगाडि बढाउँछौँ,’ इप्रका लहानका प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले भने । घटनामा यौनजन्य कसुर भएको भनेर परिवारबाट सूचना आएकाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा त्यसको पनि परीक्षण गर्ने गरी शव पठाइएको पनि उनले बताए । सोतीले आफूमातहतको युनिटबाट खटिएको अनुसन्धान टोलीले पञ्चायत बसेको भिडियो फुटेजको विश्लेषण तथा परिवार र छिमेकीसँग भेटेर अनुसन्धान गरिरहेको बताए ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले प्रदेश प्रहरीबाट खटिएको छानबिन टोलीले पीडित परिवार, स्थानीय छरछिमेकलगायतसँग भेटघाट गरी अनुसन्धान गरिरहेको बताए । रिंकुमाथि भएको बलात्कार घटना दबाउन गाउँमै पञ्चायत बसेर पैसाको बार्गेनिङ गरिएको समितिले प्रारम्भिक निष्कर्ष निकालेको छ । यसमा वडासदस्य नथुनी साहसहित गाउँका अगुवा संलग्न रहेको खुलेको छ । ‘तर, पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि धेरै स्पष्ट हुन्छ,’ उनले भने । 

पीडित किशोरीले २७ माघको राति शौच गर्न घरबाहिर निस्किएको वेला स्थानीय तीन युवक रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरेर बलात्कार गरेको सम्बन्धमा २८ माघमा आमा सीतादेवीलाई सुनाएपछि घटना बाहिरिएको थियो । श्रीमान् रोजगारीका लागि भारतमा रहेकाले सीतादेवीले जेठाजु (रिंकुका ठुलोबुवा) रामसेवक सदायलाई भनेकी थिइन् । रामसेवकले न्यायका लागि गाउँमा हारगुहार गर्दा २९ माघमा वडासदस्य साह, स्थानीय अगुवाहरू रामप्रीत साह, रामकृपाल मण्डल, रामपुकार मण्डललगायतको उपस्थितिमा आर्थिक लेनदेनमा मेलमिलाप गर्न दबाब दिइएको थियो । तर, आर्थिक क्षतिपूर्ति रूपेशको परिवारले मात्रै बेहोर्नुपर्ने पञ्चायतको निर्णयपछि उनको बुवा देवो मण्डलले ३० माघमा अर्को पञ्चायत डाकेका थिए । उक्त पञ्चायतमा उपस्थित भएर सीतादेवी घर फर्किँदा घरको ढोकामा बाहिरबाट चुकुल लगाएको र भित्र रिंकु झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । 

भोलिपल्ट १ फागुनमा रामसेवक बुहारी सीतादेवीलाई लिएर बलात्कार र धाकधम्कीसम्बन्धी किटानी जाहेरी दिन इलाका प्रहरी कार्यालय लहान पुगेका थिए । तर, मुद्दा फाँटका हवल्दार जयकृष्ण कुर्मीले दुईपटकसम्म जाहेरी फेर्न लगाएर रूपेशविरुद्ध मात्रै आत्महत्या दुरुत्साहनको जाहेरी लेखाएर दर्ता गरेका थिए । 

बालात्कार र शंकास्पद मृत्युजस्तो अपराधलाई आर्थिक लेनदेनमा मिलाउन खोजिएको भन्दै मिडियामा समाचार आएपछि प्रदेश प्रहरीले समिति नै बनाएर अनुसन्धान गरिरहेको छ ।