
सिराहाको नवराजपुर गाउँपालिका– १, भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि भएको शंकास्पद मृत्यु घटनामा कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र मिलापत्र लेनदेन कसुरमा पञ्चसहित आठजनाविरुद्ध पूरक जाहेरी परेको छ । मृतककी आमा सीतादेवीले बिहीबार स्थानीय तीन युवा रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलविरुद्ध जबर्जस्ती करणी र शरीर बन्धक तथा वडासदस्य नथुनी साहसहित पाँच पञ्चविरुद्ध मिलापत्र लेनदेन कसुरमा जाहेरी दिएकी हुन् ।
यसअघि १ फागुनमा उनले चारजनाविरुद्ध दिएको किटानी प्रहरीले जबर्जस्ती दुईपटकसम्म सच्याउन लगाएर रूपेशको नाममा मात्रै आत्महत्या दुरुत्साहन कसुरको जाहेरी दर्ता गरेको थियो । बलात्कारजस्तो जघन्य अपराध आर्थिक लेनदेनमा गुपचुप पार्न वडासदस्यकै रोहबरमा गाउँका अगुवाहरू पञ्चायत बसेकोदेखि प्रहरीले मृतककी आमाले दिएको जाहेरी नै सच्याएकोसम्मका लापर्बाहीबारे समाचार आएपछि दबाबमा परेको प्रहरीले नै पीडित परिवारलाई पूरक जाहेरी दिन अनुरोध गरेको थियो ।
लहान प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले १ फागुनमा दर्ता भएको जाहेरीकै पूरक रहने गरी पूरक जाहेरी दर्ता भएको जानकारी दिए । उनले विभिन्न कोणबाट अनुसन्धान भइरहेकाले पूरक जाहेरीसँग सम्बन्धित तथ्य–प्रमाण पनि जुटाएर घटनामा संलग्नहरूलाई कानुनी कारबाही गरेर पीडितलाई न्याय दिलाउने बताए ।
‘यसअघि दर्ता भएको जाहेरीकै पूरक रहने गरी पूरक जाहेरी दर्ता भएको छ,’ डिएसपी सोतीले भने, ‘पूरक जाहेरीसँग सम्बन्धित तथ्य–प्रमाण पनि जुटाएर घटनामा संलग्नहरूलाई कानुनी कारबाही गरेर पीडितलाई न्याय दिलाउँछौँ । अनुसन्धान चलिरहेको छ, पीडित परिवार, सहयोगीहरूको तर्फबाट पनि कसुरसँग सम्बन्धित कुनै सूचना, तथ्य–प्रमाण उपलब्ध भएमा प्रहरीलाई सघाउन आग्रह गर्छु ।’ जाहेरी दर्ताका लागि पीडितलाई सघाउन सामाजिक कार्यकर्ता, दलित अधिकारकर्मी पनि इलाका प्रहरी कार्यालय पुगेका थिए ।
‘प्रतिवादीमध्ये बलात्कारमा संलग्न तीन युवकलाई जबर्जस्ती करणी (बलात्कार) मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद १२ मा उल्लेखित ज्यानसम्बन्धी कसुरअन्तर्गतको दफा १७७, परिच्छेद १७ को अपरहण वा शरीर बन्धकसम्बन्धी कसुरको दफा २११, २१२, परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ (१), २ (क) र ७ बमोजिम कसुर गरेकाले संहिताको दफा १७७ (२), २१३, २१४, २१९ ३ (घ), ३ (क), (ख) र (७) बमोजिम कैद सजाय तथा जरिवानाको माग गरिएको छ,’ दर्ता भएको पूरक जाहेरीमा उल्लेख छ, ‘त्यस्तै, दफा १८६, २१७ र २२८ बमोजिम मनासिब क्षतिपूर्तिसहित पञ्चायतमा संलग्न भई लेनदेन गरी बलपूर्वक मिलापत्र गराउन खोज्ने व्यक्तिहरूको हकमा परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २७७ क बमोजिम कानुनविपरीत गरेकाले सोही दफाको उपदफा (२) बमोजिम कैद सजाय र जरिवाना माग गरिएको छ ।
के छ पूरक जाहेरीमा ?
गत २७ माघको रााति साढे ८ बजेतिर शौच गर्न गएकी रिंकु घर नफर्किएपछि खोजतलास गरिरहेकै वेला भोलिपल्ट बिहान करिब ३ बजेतिर रुँदै आएपछि पेट दुखिरहेको सुनाएकी थिइन् । त्यसपछि आमाले सोधखोज गर्दा गाउँकै रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरी सामूहिक करणीपछि हत्या गर्न खोजिएको जाहेरीमा उल्लेख छ । उक्त घटना कसैलाई नसुनाउनू, सुनाए सिंगो परिवारलाई नै सिध्याउने धम्की दिएसँगै उनलाई छोडिएको थियो । जसोतसो ज्यान जोगाएर घर फर्किएकी उनले आफ्नी आमालाई आफूमाथि भएको घटनाबारे सुनाएपछि २८ माघमा कानुनी प्रक्रियामा जान खोज्दा वडासदस्यसहित गाउँका अगुवा पञ्चहरूले गाउँको इज्जतको कुरा हो, गाउँमै मिलाउनुपर्छ, नत्र तिम्रै छोरीको इज्जत जाने हो, विवाह नहुने भन्दै त्रास देखाएर पञ्चायत बसेको थियो ।
पञ्चायतले तीन युवकमाथि मुद्दा गर्न नहुने भन्दै डर त्रास देखाएर एक लाख ५० हजार रुपैयाँ दिने गरी घटना सल्टाउन दबाब दिँदै प्रहरीमा उजुरी नगर्न भनी धम्क्याएको जाहेरीमा उल्लेख छ । जाहेरीमा स्थानीय रूपेश मण्डल, चन्दन साह, रामविनय मण्डललगायतलाई मुख्य प्रतिवादी बनाइएको छ ।
मृतकको घर पुगे प्रदेश गृहमन्त्रीदेखि पूर्वमन्त्रीसम्म, पक्राउ परेनन् एउटै आरोपी
मधेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी बिहीबार मृतक रिंंकुको घरमा पुगे । मधेशकै सांसददेखि अधिकारकर्मीहरू पनि पुगिरहेका छन् । तर, घटना भएको १२औँ दिन बिहीबारसम्म कुनै पनि आरोपी पक्राउ परेका छैनन् । मन्त्री लेखीले मृतक रिंकुका बाबु बिजुल सदायलाई घरमै भेटेर दोषीलाई न्यायको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता जनाए । यसअघि मधेशकै पूर्वगृहराज्यमन्त्री रिजवान अन्सारी, प्रदेश सांसदहरू शारदा पहाडी, ललिता दास, दलित र महिला अधिकारकर्मीहरू मृतकका परिवारलाई सान्त्वना दिन पुगेका थिए । उनीहरूले न्यायका लागि सघाउने प्रतिबद्धता पनि जनाएका थिए ।
अधिकारकर्मीहरूले बुझाए ज्ञापनपत्र
घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीसहित पीडित परिवारलाई भयरहित ढंगले गाउँमै बस्ने सुरक्षित वातावरण बनाउन माग गर्र्दै सिराहाका अधिकारवादी संघसंस्थाहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । मानव अधिकार संरक्षण केन्द्र (सञ्जाल), महिला मानव अधिकार रक्षक सञ्जाल, नेपाल मानव अधिकार संगठन, संयुक्त दलित मोर्चा, दलित जनकल्याण युवा क्लब, समग्र जनउत्थान केन्द्र, मुक्ति नेपाल, जीवन ज्योति समाज, अपांग पुनस्र्थापना केन्द्र, इन्सेक, ओरेक नेपाल, दलित संरक्षण अभियान मञ्च, दलित समाज सेवा संघ, दलित विकास मञ्च, मेची महाकाली बुहारी संयुक्त आवाजलगायतका अधिकारवादी संस्थाहरूले सामूहिक बलात्कारजस्तो गम्भीर अपराध ढाकछोप गर्न पञ्चायत राखेर जरिवाना तोक्ने व्यक्तिहरूलाई समेत पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।