
बानेश्वरस्थित संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुईजना प्रमुख हुँदा कामकारबाही प्रभावित बनेको छ । सरकारले यसअघिका प्रमुखलाई हटाएर नयाँ प्रमुख तोकेकोमा अदालतले सरकारको निर्णय कार्यान्वयनमा रोक लगाएको थियो । केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर राई कार्यरत रहेकोमा सरकारले गत २३ पुसमा सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मालाई जिम्मेवारी तोकेको थियो ।
विशिष्ट संरचना तथा व्यवस्थापन समिति (गठन) आदेश, २०८१ मार्फत शर्मालाई सम्मेलन केन्द्रसमेत हेर्ने जिम्मेवारी दिइएको हो । तर, ११ माघमा उच्च अदालत पाटनले चार वर्षका लागि नियुक्त भएका राईलाई स्वतः पदमुक्त गर्न नमिल्ने भन्दै उनलाई नहटाउन अन्तरिम आदेश दिएको थियो । सो आदेशअनुसार राई केन्द्र फर्किएका छन्, तर जिम्मेवारी पाएका छैनन् । सरकारले नियुक्त गरेका शर्मालाई कार्यकारी निर्देशक मान्ने कि राईलाई भन्ने विवादले केन्द्रका बजेटसम्बन्धी सबै काम रोकिएका छन् । जसकारण चेकमा हस्ताक्षरसमेत हुन नसक्दा पुसदेखि नै कर्मचारीको तलबसमेत रोकिएको छ । तलब रोकिएपछि कर्मचारी आन्दोलनको तयारीमा छन् ।
केन्द्रका जनसम्पर्क अधिकृत कमल थापा दुई महिनाभन्दा लामो समयदेखि तलब रोकिएकाले समस्या समाधान गरिदिन सहरी विकास मन्त्रालयलाई आग्रह गरिएको बताउँछन् । केन्द्रमा १२८ कर्मचारी कार्यरत छन् । जसलाई बानेश्वरस्थित संसद् भवनका साथै गोदावरीस्थित सनराइज हलको समेत व्यवस्थापन हेर्ने जिम्मेवारी छ । अर्काेतर्फ संसद् सचिवालयसँग केन्द्रको सम्झौतासमेत सकिए पनि नवीकरण हुन सकेको छैन । माघ अन्तिम सातासम्म मात्र सचिवालय र केन्द्रबिच सम्झौता थियो । केन्द्रको प्रमुख को भन्ने आधिकारिताको विवादका कारण सम्झौता नवीकरण हुन नसकेको हो ।