![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/devraj2025-02-08-06-14-15.jpeg)
हमासद्वारा ०८० असोज २० मा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको प्रयासका लागि सभामुख देवराज घिमिरेले शुक्रबार अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई पत्र पठाएका छन् । ‘मैले महामहिमलाई विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेको छु,’ सभामुख घिमिरेले सामाजिक सञ्जाल फेसबुक पेजमा जानकारी दिएका छन् । अरब संसद् हमास समूहसँग सम्पर्कमा रहेको मानिन्छ ।
‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।
पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । पत्रमा सभामुखले भनेका छन्, ‘नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदानप्रदान सम्झौताको लागि स्वागतयोग्य दृष्टिकोण लिएको स्मरण गराउँदछु ।’
जोशीको रिहाइका लागि सरकारले पनि कुटनीतिक पहल गरिरहेको छ । गएको आइतबार नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले सभामुखसँगको भेटमा विपिनको रिहाइका लागि संसदीय कुटनीति समेत प्रयोग गर्न सकिने सुझाव दिएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । पत्रमा सभामुख घिमिरेले नेपाल सरकारले हालै इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्दी आदान–प्रदान सम्झौताको स्वागत गरेको समेत उल्लेख गरेका छन् ।
परराष्ट्रमन्त्रीको फोनवार्ता
यसैगरी, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिहीबार राति इरानका विदेशमन्त्री सड्ढयद अब्बास अराघ्चीसँग फोनवार्ता गर्दै जोशी रिहाइको प्रयास गरिदिन अनुरोध गरेकी छिन् । इरानी विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले बताए ।
‘इजरायल सरकार र हमासबिच युद्धविरामको कुराकानी भएदेखि नै परराष्ट्रमन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहनुभएको छ,’ पाठकले भने, ‘विपिनको शीघ्र मुक्ति हुनेछ भन्नेमा उहाँ आशावादी हुनुहुन्छ ।’
इजरायल सरकार र हमासबिच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले मुक्त गर्न थालेको छ । यही क्रममा हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक प्रयास जारी राखेको छ । परराष्ट्रमन्त्री राणाले अघिल्लो साता इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेकी थिइन्।