मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २६ शनिबार
  • Saturday, 08 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ २६ शनिबार o८:४३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकिङ क्षेत्रविरुद्धको अराजक गतिविधि रोक्न माग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २६ शनिबार o८:४३:oo

वित्तीय संस्थाहरूको एक स्वर– बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको निक्षेप पूर्ण सुरक्षित छ, भ्रम फैलाउनेलाई कारबाही गर्नुपर्छ 

बैंक तथा वित्तीय संस्थाहरूले बैंकिङ क्षेत्रविरुद्ध अराजक गतिविधि भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् । बैंकिङ क्षेत्रसँग सम्बन्धित संघ–संस्थाले शुक्रबार विज्ञप्ति जारी गर्दै यस क्षेत्रविरुद्ध भइरहेको अराजक गतविधि रोक्न र संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका हुन् । 

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाको नाम प्रयोग गरी गरिएको भ्रामक र गलत अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएका छन् । ‘सामाजिक सञ्जालहरूमा देखिने गलत तथा भ्रामक टिप्पणीमा कुनै ध्यान नदिनुहुन र सम्बन्धित सरोकारवाला निकायले गरेको सूचनालाई मात्र आधिकारिक रूपमा लिनुहुन अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘आमसर्वसाधारणलाई त्रसित पार्ने, सामाज खलबल्याउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेलाई कानुनको दायरामा ल्याई आवश्यक कारबही गर्नसमेत सरकारी निकायलाई आग्रह गर्दछौँ ।’

बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको र आजका दिनमा यी संस्थाहरू सुरक्षित रहेको उनीहरूले स्पष्ट पारेका छन् । यस क्षेत्रलाई खलबल्याउन केही अराजक गतिविधि भइरहेको र सामाजिक सञ्जालमा समेत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको नाम प्रयोग गरी प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्ति आएको उनीहरूले बताएका छन् । 

बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको उनीहरूले जनाएका छन् ।  विज्ञप्तिमा उल्लेख छ, ‘यस संघसँग सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताको रकम पूर्ण रूपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको पाँच लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गरिएको छ ।’

त्यस्तै, नेपाल मुद्रा विप्रेषक संघले पनि शुक्रबार नै विज्ञप्ति जारी गरेर बैंक तथा वित्तीय संस्थाप्रतिको भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले गलत गर्नेलाई कानुनी दायरामा ल्याउन मागसमेत गरेको छ ।