सर्वाेच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा फैसला गर्दा राजनीतिक दबाब आएको खुलासा गरेकी छिन् । शुक्रबार राजधानीको एक कार्यक्रममा बोल्दै उनले आफुलाई प्रधानन्यायाधीश बन्न नदिने भनेर धम्की समेत आएको बताएकी हुन्।
ह्वाइटहाउस लिटरेचर फेस्टिभलमा बोल्दै शुक्रबार उनले त्यस्ता धम्की र दबाबसँग नडराएको बताइन् । ‘तत्काल अवस्थामा दुई प्रश्न उठ्यो । अब तिमीलाई प्रधानन्यायाधीश बनाउँदैनन् नि भने । मैले म प्रधानन्यायाधीश बन्न न्यायाधीश बनेको होइन । जुन भूमिकामा छु, सम्झौता गर्दिनँ भनें,’ उनले भनिन्, ‘अर्को तिमीलाई जीवनको डर छैन भने । मैले भनेँ, राष्ट्र, संविधान र सार्वभौमसत्तामा सम्झौता गर्दिनँ । यही कारणले जीवन दाउमा लागेछ भने लागोस् । संविधानको मर्मभन्दा बहिर जाँदिनँ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको मुद्दामा न्यायाधीश मल्लसहितको इजलासले बदरको फैसला गरेको थियो । जून मुद्दाको फैसलामा आफुमाथि दबाब आएको उनको भनाई छ । तर, कसले दबाब र धम्की दिएको थियो भन्ने चाँही उनले खुलाएकी छैनन्।
सपना सर्वाेच्च अदालतकी वरिष्ठतम् न्यायाधीश हुन्। हालका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतपछि उनी प्रधानन्यायाधीश हुने रोलक्रममा छिन्।