![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/game2025-02-08-08-41-12.jpeg)
सिवाइसी अत्तरियाले राष्ट्रिय अर्जुन ट्रफीमा लगातार तेस्रो जित निकाली समूह ‘बी’को शीर्ष स्थान बलियो बनाएको छ । प्रतियोगिताको सेमिफाइनल स्थान बनाइसकेको अत्तरियाले शुक्रबार धनगढीको फाप्ला रंगशालामा न्यु होराइजन बुटबललाई ७८ रनको फराकिलो अन्तरले हरायो । पहिलो ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा पाँच विकेट गुमाएर १८८ रन बनाएको थियो । प्रत्युत्तरमा होराइजनले २० ओभरमा आठ विकेट गुमाएर ११० रन बनाएको थियो ।
समूह ‘बी’मा अत्तरियाले तीन खेलबाट सर्वाधिक ६ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको होराइजनले तीन खेलमा एक जित र दुई हारका साथ दुई अंक जोडेको छ । बैतडी र काठमाडौंले तीन खेलबाट समान दुई अंक बटुलेका छन् । रनरेटमा होराइजन दोस्रो स्थानमा रहेको हो ।
पहिलो ब्याटिङ गरेको अत्तरियाका लागि राष्ट्रिय खेलाडी भीम सार्की र विवेक यादवले आक्रामक इनिङ्स खेलेका थिए । दुवैले चौथो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । भीमले ३९ बलमा आठ चौकाको सहयोगमा ५८ रन जोडे । विवेकले ३८ बलमा समान तीन चौका र छक्का प्रहार गरी ५१ रनको योगदान दिए । भीम इनिङ्सको १८.१ ओभरमा आउट भए । उनी पेभेलियन फर्कँदा अत्तरिया १६३–४ को बलियो अवस्थामा थियो ।
विवेकको अलराउन्ड प्रदर्शन
बुटवलको होराइजनले १८९ रनको लक्ष्य पछ्याउँदा गतिलो प्रदर्शन गर्न सकेन । कुनै पनि खेलाडीले अर्धशतकीय इनिङ्स खेलेनन् । अर्कोतिर ब्याटिङमा आक्रामक खेल देखाएका विवेकले बलिङमा धारिलो प्रदर्शन गरे । उनले चार ओभरमा दुई विकेट लिन ३३ रन खर्चेका थिए । यद्यपि, उनले प्रतिओभर ८.२५ रन खर्चे पनि होराइजनका महत्वपूर्ण विकेट हात पारेका थिए । सो इनिङ्समा अत्तरियाका लागि रासिद खानले तीन ओभरमा २१ रन दिएर दुई विकेट लिए । सहाव आलमले १६ रनमा दुई विकेट हात पारे ।
ब्याटिङ र बलिङमा अलराउन्ड प्रदर्शन गरेका विवके म्यान अफ दी म्याच भए । होराइजनका लागि प्रतीक श्रेष्ठले २१ बलमा १८ रन बनाए । उनले एक छक्का प्रहार गरेका थिए । कप्तान तथा ओपनर दिलीप नाथले पाँच बलमा एक छक्काको सहयोगमा १० रन तथा निश्चल ज्ञवालीले १६ बलमा १२ रन बनाए । आरिफ खानले १० रन र तुलबहादुर थापाले १५ बलमा दुई चौका र एक छक्काको सहयोगमा १७ रन जोडे । होराइजनका ११औँ क्रमका खेलाडी वीर मगरले केवल सात बलमा समान एक चौका र छक्का प्रहार गरी १५ रन जोडे ।