मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २६ बुधबार
  • Wednesday, 11 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २६ बुधबार २o:o१:oo
Read Time : < 1 मिनेट
समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीकै मिलेमतोमा सुन तस्करी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २६ बुधबार २o:o१:oo

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै सुन तस्करी पनि हुन थालेको छ। प्रहरीलगायत कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको खुलेको छ। 

विमानस्थलमा कार्यरत प्रहरी जवान तस्करीको एक सय ५० ग्राम सुनसहित पक्राउ परेका छन्। कतारबाट आएका एक युवकले तस्करी गरी ल्याएको सुन विमानस्थलबाट पास गराउने क्रममा जवान बाबुलाल विक पक्राउ परेका हुन्। 

विमानस्थल स्रोतका अनुसार गत २३ मंसिरमा फ्लाई दुबईको उडानमार्फत कतारबाट आएका जनार्दन गुप्ताले सो सुन ल्याएका थिए। गुप्ताले प्रहरी जवान विकलाई शौचालयमा सुन दिए। सो सुन लिएर निस्कन खोज्ने क्रममा प्रहरीले नै उनलाई नियन्त्रणमा लिएको हो। 

सुन लिएर आएका गुप्ता शौचालयमा अक्मकिएपछि त्यहाँ रहेका सफाइ कर्मचारी राजन यादवले जवानलाई दिनु भनेका थिए। जसका आधारमा यादवको समेत यसमा मिलेमतोको आशंका गरिएको छ। 

सो दिन प्रहरी जवान बाबुलालको डिउटी विमानस्थलको आन्तरिक टर्मिनलतर्फ थियो। आन्तरिकतर्फ खटिएका उनलाई अन्तर्राष्ट्रिय टर्मिनलको भन्सार क्षेत्रमा देखेपछि डिउटीमा रहेका अर्का प्रहरीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट तस्करीको सुन बरामद भएको हो। 

प्रहरीले प्रहरी जवानसहित सुन ल्याउने जनार्दन र सफाइ कर्मचारी राजनलाई पक्राउ गरी विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ। प्रारम्भिक छानबिनमा सुन ल्याउने जनार्दन भरिया हुन्। उनी वैदेशिक रोजगारबाट फर्किएका हुन्। सुन तस्करी गर्ने गिरोहले विमानस्थलमा कार्यरत सफाइ कर्मचारी र प्रहरीसँग मिलेर गौतम बुद्ध विमानस्थलबाट तस्करी सुरु गरेका थिए। यो घटनापछि विमानस्थल प्रहरी कार्यालयले प्रहरीकै डिउटीमा पनि कडाइ थालेको छ। तोकिएकोबाहेक अन्य क्षेत्रमा जान रोक लगाइएको छ। 

यसरी बरामद सुन करिब १७ लाख मूल्यबराबरको छ।