०८४ को आमनिर्वाचनपूर्व सबैभन्दा ठुलो दल कांग्रेसको आन्तरिक जीवनमा धेरै उथलपुथल हुँदै छ । १५औँ महाधिवेशनकेन्द्रित कांग्रेसका गतिविधि र उसको आन्तरिक जीवनमा देखिने हेरफेरले ०८४ को चुनावी अभियान र समग्र राष्ट्रिय राजनीति प्रभावित हुन सक्छ । त्यसैले, कांग्रेसको भावी नेतृत्वलाई लिएर उसका परम्परागत समूहहरूमा व्यापक हेरफेरको सम्भावना बढ्दै गएको छ । र, विभिन्न पदमा आकांक्षी नेताका गतिविधि पनि त्यसैतर्फ उन्मुख छन् ।
कुनै अप्रत्याशित कदम उठाएनन् भने १५औँ महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा पुनः सभापतिको उम्मेदवार हुने छैनन् । विधानले पनि तेस्रो कार्यकालको परिकल्पना गरेको छैन र देउवा आफैँले पनि उम्मेदवार नबन्ने घोषणा गरेपछि कांग्रेसमा भावी नेतृत्वमा नयाँ अनुहार आउने निश्चितजस्तै छ । सभापति देउवा मैदानमा नआउने भएपछि भावी नेतृत्व मध्यनजर गरेर कांग्रेसका परम्परागत समूहका ठाउँमा नयाँ समीकरणहरूको प्रयास देखिन थालेको छ ।
कांग्रेस विधानको धारा ५७ मा ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन पाउनेछैन’ भन्ने व्यवस्थाले देउवा आफैँ मैदानमा उत्रिनेछैनन् । ०७८ मंसिरमा १४औँ महाधिवेशन भएको कांग्रेसको नियमित १५औँ महाधिवेशन ०८२ मा हुनुपर्ने हुन्छ । असाधारण परिस्थितिमा महाधिवेशन एक वर्ष बढाउने कांग्रेस विधानको व्यवस्था छ । यसो गर्दा पनि ०८४ को चुनाव कांग्रेस नयाँ नेतृत्वका साथ लड्ने निश्चित छ ।
कांग्रेसको १४औँ महाधिवेशनमा अस्तित्वमा आएका गुट तितरबितर भैसकेका छन् । तर, १५औँ महाधिवेशनका लागि नयाँ गुटहरूले आकार लिइसकेका छैनन् । सम्भावित समीकरणलाई लिएर अर्को गुटप्रति नेताहरूका अभिव्यक्ति नरम देखिन थालेका छन् । विभिन्न पदमा आकांक्षी नेताहरू आफ्नो राजनीतिक भविष्यका लागि ‘स्पेस’ बनाउने गृहकार्यमा छन् ।
कांग्रेस संस्थापननिकट नेता एनपी साउद महाधिवेशनको प्रक्रिया सुरु भएपछि मात्र कांग्रेसका समूह स्पष्ट हुने बताउँछन् । संस्थापन समूहबाट देउवाले कसलाई अघि सार्लान् भन्ने विषय अन्योलमै र अन्तिममा प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने उनको भनाइ छ ।
‘महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छैन । समूहबाट को दाबेदार भन्ने अहिले नै भन्न सकिँदैन, तर पार्टीको सभापति बनाउँदा पार्टीमा समर्पित, पार्टीमा सबैले प्रतीक्षा गरेको सम्मानित व्यक्तित्व र पार्टीको संगठन संरचनालाई आगामी निर्वाचनसम्म लैजाने सक्षम नेतृत्व आवश्यक छ,’ उनी भन्छन्, ‘मुलुक र राज्यव्यवस्था हाँक्ने सक्षम व्यक्ति आवश्यक छ ।’ यसका लागि कसैले म दाबेदार छु भनेर मात्र हुँदैन । समूहगत रूपमा को भन्ने विषय महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएपछि उपयुक्त समयमा आवश्यक निर्णय हुन्छ ।’
संस्थापन इतरसमूहमा पनि पछिल्लो समय देखिएको दरारले महाधिवेशनसम्म पुग्दा के होला भन्ने आकलन गरिहाल्ने अवस्था तयार भइसकेको छैन ।
कांग्रेस इतरसमूहका नेता गुरुराज घिमिरे आगामी महाधिवेशन केन्द्रित भएर कांग्रेसमा नेताहरू आफ्नो भविष्य सुरक्षित गर्नेतर्फ केन्द्रित बन्न थालेको संकेत बताउँछन् । कांग्रेसमा गुट बन्ने र भत्कने विषय नयाँ नभएको उनको तर्क छ । ‘कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा गुटहरू बन्ने, भत्कने र पुनर्गठन हुने विषय सामान्य हुन् । यसलाई स्वाभाविक नै मान्नुपर्छ । आफ्नो अनुकूलतामा कार्यशैलीगत वा महत्वाकांक्षागत गुटहरू बन्ने र भत्कने गर्दछन्,’ उनी भन्छन्, ‘१३औँबाट १४औँसम्म पुग्दा हामीले रामचन्द्र पौडेल नेतृत्वको समूहलाई एकढिक्का बनाउने कोसिस ग¥यौँ । खासगरी युवाहरूकै कोसिस थियो । पुराना पुस्ताका नेताहरू आ–आफ्नो बाटो लाग्ने र अरूलाई स्वीकार गर्न तयार नहुँदा त्यसअघि पनि गुट बन्ने र भत्कने भइरह्यो । १४औँमा पुग्दा हामीले गुटलाई एकैठाउँमा राख्न सकेनौँ । नेताहरू आफ्नो अनुकूलतामा लागे, लडे,’ उनी भन्छन् ।
१४औँ महाधिवेशनपछि संस्थापन इतरसमूहको नेतृत्व गरिरहेका डा. कोइराला र महामन्त्री गगन थापा समूहमा पछिल्लो समय दरार आएको देखिएको स्विकार्छन् । तर, यही विषयलाई इतरसमूह ध्रुवीकरण भएको रूपमा बुझ्न नहुने घिमिरेको तर्क छ । उनी आगामी महाधिवेशनमा एक बनाएर लैजाने प्रयास हुने बताउँछन् । समयसँगै परिदृश्यले आकार लिने उनको भनाइ छ ।
‘हाम्रो प्रयत्न शेखर–गगन समूहलाई एकताबद्ध गर्दै अरूलाई पनि जोडेर परिणाम निकाल्ने हुन्छ । प्रयत्न कति सार्थक हुन्छ र सफल हुन्छ, समय क्रमले देखाउँछ । अब कसरी गुटहरू बन्छन् र कसरी ध्रुवीकरण हुन्छ, अहिले नै भन्न सकिने अवस्था आइसकेको छैन,’ उनले भने, ‘अहिले सतहमा देखिएको परिदृश्य नै अन्तिम होइन । जे सतहमा देखिएको छ, जे प्रचार भएजस्तो छ, ती कुरा अन्तिम होइनन् । अहिले नै समूह तितरबितर भइसक्यो भन्ने अवस्था भइसकेको छैन । यो अलगअलग हुन्छ या नेताहरू कुन गुटमा छिर्छन् अथवा उनीहरूले आफ्नै गुट बनाउँछन भन्ने अहिले नै भन्नु हतार हुन्छ ।’
१३औँ महाधिवेशनसम्म आउँदा देउवा, कोइराला र तेस्रो धारको रूपमा अस्तित्व कायम गरेका नेता कृष्ण सिटौला समूह सक्रिय थियो । १४औँ महाधिवेशनमा आउँदा कोइराला समूह तीनतिर बाँढियो । सिटौला समूह देउवा गुटमा विलिन बन्यो । यद्यपि, १४औँ महाधिवेशनपछि सिटौला समूहले केही कार्यक्रममार्फत अस्तित्व देखाउने प्रयास गरेको थियो, तर पछिल्लो समय निष्क्रिय छ । १४औँ पछि पनि त्यो प्रयत्न गरे पनि फैलिन भने सकेको छैन ।
त्यस्तै, कांग्रेसमा महामन्त्री थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलसहितका युवा नेताहरू एक ठाउँमा उभिने प्रयासको संकेत पनि देखिने गरेको छ । नेतात्रयबिचको निकटताले पुराना पुस्ताका नेताहरूलाई चुनौती दिने चर्चा कांग्रेसमा छ । १४औँ महाधिवेशनमा दोस्रो चरणमा सभापतिमा देउवालाई समर्थन गरेका प्रकाशमान सिंह र बिमलेन्द्र निधि समूह पनि महाधिवेशनपछि सक्रिय छैनन् ।
नेता नैनसिंह महर कांग्रेस स्थापना गरेका नेताहरूको बर्हिगमन र नयाँ नेतृत्व आउने समय भएकाले बनेका गुटहरूमा व्यापक फेरबदलको सम्भावना रहेको आकलन गर्छन् । तर, अहिले नै स्पष्ट रूपमा गुटबारे भन्न नसकिने उनले बताए ।
विश्लेषक पुरञ्जन आचार्य इतरसमूहमा दरार आएको र सभापति देउवाले नेताहरूलाई आफूअनुकूलको नेतृत्व आउने गरी परीक्षण गरिरहेको बताउँछन् । तर, कस्तो समूह बन्छ भन्ने दृश्य स्पष्ट भइनसकेको उनको भनाइ छ । ‘ठ्याक्कै समूहहरू पुनर्निर्माण हुन सकेका छैनन् । १४औँ महाधिवेशनपछि पार्टीको इतरसमूहको रूपमा बनेको शेखर–गगन समूह पनि अहिले इन्ट्याक छ/छैन भन्ने स्पष्ट छैन । त्यहाँ पनि केही धमिरा लागेको बुझिन्छ । शेरबहादुरजीकामा पनि उहाँपछि को भन्ने केही स्पष्ट भइसकेको छैन । अहिलेसम्म सभापतिमा दाबेदार बन्छु भन्नेमा शेखर कोइराला, शशांक कोइराला र गगन थापा देखिन्छन्,’ उनी भन्छन्, ‘शेखरले कोशीमा भेला गरेर दौडाहा सुरु गरेका छन् । गगनले पछिल्लो समय यस विषयमा मुख खोलेका छैनन् । कोइराला परिवारलाई एक ठाउँमा ल्याउने विषयमा पनि प्रयास भएका देखिन्छन् । आकार लिइसकेका छैनन् । गतिविधि बढेका छन् । केही घर्षणहरू देखिएका छन् । महाधिवेशनकेन्द्रित समूह नै बनाएर व्यवस्थित योजनाका साथ गतिविधि भएका छैनन् ।’
विश्लेषक शंकर तिवारी संस्थापन र संस्थापन इतरसमूहमा आकार आउने गरी फेरबदल नदेखिएको बताउँछन् । सभापति देउवाले समूहबाट दाबेदारका रूपमा कसैलाई अगाडि नसारेको र देउवाले इतरका नेताहरूसँग समेत निकटता देखाइरहेको स्थिति रहेको विश्लेषण गर्छन् । ‘शेरबहादुर देउवा समूहका पनि तल्लो तहमा दरार देखिएको छ । देउवापछि कसलाई रोज्ने ? दोस्रो–तेस्रो तहका नेताले सामान्य नेगोसिएसन गर्न खोजेको देखिन्छ । यसबाहेक इतरका नेताहरूसँगको संवाद पनि निरन्तर छ,’ उनी भन्छन्, ‘गगनसँग सहज हुँदा गगनसँग र शेखरलाई सहज हुँदा शेखरसँग संवाद गर्न खोजिएको देखिन्छ । गगन–शेखर समूहमा फुट आएजस्तो देखिएको छ ।’
कोशी भेलामा शेखर–गगन अलग–अलग
कांग्रेसमा गुटगट गतिविधि बुझ्ने पछिल्लो उदाहरण कोशी हो । शनिबार कांग्रेसको कोशी प्रदेश सम्मेलनअगाडि कोइरालाले विराटनगरमा आफ्नो समूहका पालिका सभापतिहरूको भेला राखे । भेलामा प्रदेशका १३७ मध्ये ११३ पालिका सभापति सहभागी भए । भेलामा कोइरालाले आफू महाधिवेशनमा सभापति उम्मेदवार बन्ने र त्यसको सुरुवात भएको बताएका थिए । कोइरालाले गुट भेला गर्ने जानकारीपछि कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर पार्टीको कुनै कार्यक्रम नरहेको जनाएको थियो । महामन्त्री थापा कोइरालाको भेलामा सहभागी थिएनन् । उता शनिबार प्रदेश सम्मेलन बहिष्कार गरी कोइराला चितवन गए । शनिबार नै प्रदेश सम्मेलनकै लागि विराटनगर पुगेका सभापति देउवा नेता शशांक कोइरालासँगै कोइरालानिवास पुगेका थिए ।
देउवाको मौनताले नेताहरूमा ‘कन्फ्युजन’
आगामी महाधिवेशनमा नेतृत्वको दौडमा नरहेकोमा सभापति शेरबहादुर देउवा स्पष्ट छन् । तर, उनले कसलाई समर्थन गर्छन् भन्ने सबैभन्दा महत्वपूर्ण र कांग्रेस नेतृत्वका लागि करिब करिब निर्णायक प्रश्नमा भने उनी मौन छन् । देउवाको मौनताले उनका समूहका नेताहरूमा ‘कन्फ्युजन’ छ । ‘तीनै तहको निर्वाचनमा कांग्रेस ठुलो पार्टी बनेको छ । मैले सबैभन्दा ठुलो पार्टी बनाइहालेँ । भोलिका दिनमा पार्टीलाई अझै बलियो बनाउनु छ । अब मैले सहयोग गर्ने हो । म पार्टी सभापति हुनेवाला होइन,’ देउवाले २१ जेठ ०८० मा भनेका थिए । त्यसपछि ०८० जेठ २६ मा चितवनमा शेखर–गगन सहभागी कार्यक्रममा उनले आफू सभापतिमा नलड्ने दोहो¥याए, ‘सभापति लड्ने साथीहरू नडराए हुन्छ । अब म सभापति लड्दिनँ । एमालेले उमेरहद हटाइसक्यो । मैले हटाउनुपर्छ भनेको छैन ।’
देउवाले कसलाई समर्थन गर्लान् भन्ने विषयले कांग्रेसको नेतृत्व चयनमा अर्थ राख्छ । उनी व्यक्तिमा होइन, अझै प्रक्रियाको कुरामा केन्द्रित छन् । ‘कहाँ उत्तराधिकारी घोषणा गरेर हुन्छ ? महाधिवेशन तोकिएकै समयमा हुन्छ । पार्टी नेतृत्व निर्वाचनबाट चयन हुन्छ,’ कांग्रेस कोशी प्रदेश सम्मेलनका अवसरमा शनिबार (२१ मंसिर) विराटनगर पुगेका देउवाले सञ्चारकर्मीसँग भने । निकट स्रोतका अनुसार देउवा पत्नी आरजु राणा देउवासहितको राजनीतिक भविष्य सुनिश्चित हुने गरी अनुकूलको नेतृत्व बनाउने प्रयासमा छन् । ‘उहाँ सभापतिमा नउठ्ने निश्चित छ । आफू निकटकाको राजनीतिक भविष्य सुरक्षित राख्ने गरी अनुकूल सभापति बनाउनुहोला,’ देउवानिकट कांग्रेसका एक पदाधिकारी भन्छन् ।