सत्तारूढ कांग्रेसका सांसद सुनील शर्माले जिबी राईलगायत सहकारी ठगी गर्नेहरूलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखकको कार्यप्रति असन्तुष्टि जनाएका छन्।
सरकारबाहिर हुँदा कांग्रेस प्रमुख सचेतक रहेका लेखकले जिबी राई पक्राउ गर्न सरकारलाई दबाबका लागि सदनमै नाराजुलुस गर्न लगाएको स्मरण गराउँदै शर्माले गृहमन्त्री बनेका लेखकलाई प्रश्न गरेका हुन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शर्माले आफ्नै पार्टीका नेतासमेत रहेका गृहमन्त्रीको काममा असन्तुष्टि पोखेका हुन्।
‘जुनवेला हामी सरकारमा थिएनौँ, त्यसवेला सदनमा उहाँ (लेखक) सचेतक पनि हुनुहुन्थ्यो हाम्रो आदरणिय दाइ । प्रमुख सचेतक भएका वेला उहाँले हामी सबैलाई रोस्ट्रममा बोलाएर नारा–जुलुस गर्न लगाउनुभयो। ह्विप जारी गर्नुभयो । अनि हामीले जिबी राई खोइ ? किन पक्रँदैनौ भनेर नारा जुलुस गर्याैँ,’ शर्माले भने, ‘आफू गृहमन्त्री भइसकेपछि जिबी राई पक्रन पर्ने दायित्व उहाँको हो कि होइन ? किन पक्राउ नगरेको ? तत्काल जिबी राईजस्ता यो देशका सहकारी ठगहरू जति छन् ती सबैलाई कानुनको कठघराभित्र ल्याएर अनुसन्धान सुरु गरेर यो प्रक्रियालाई इन्ड गरिदिनको निम्ति म यो सरकारलाई, विशेषतः गृहमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु।’