
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले मंगलबार भक्तपुरस्थित निकोसेराबाट पक्राउ गरेको थियो ।
प्रसाईंले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिआटा टेलिकममा अवैध लगानी रहेको भन्दै विवादास्पद विवरण सार्वजनिक गरेका थिए । भिडियोसहित सार्वजनिक विवरण प्रसाईंले आफ्नो फेसबुक र अपडेट सेरोफेरो नामक फेसबुक अकाउन्टबाट सार्वजनिक गरेका थिए । सोही विवरण भ्रमपूर्ण रहेको भन्दै उनलाई सिआइबीले पक्राउ गरेको हो ।
एसपी होविन्द्र बोगटी, प्रवक्ता, सिआइबी
प्रधानमन्त्रीज्यूसँग जोडेर प्रसाईंले विवादास्पद विवरण सार्वजनिक गरेको भेटियो । प्रारम्भिक अनुसन्धानका क्रममा सबै विवरण भ्रामक रहेको देखियो । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत उनीविरुद्ध अनुसन्धान अघि बढेको छ ।
सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले विवादास्पद विवरण सार्वजनिकपछि प्रसाईं पक्राउ परेको र उनीविरुद्ध विद्युतीय कारोबार ऐन कसुरअन्तर्गत अनुसन्धान अघि बढेको बताए । ‘प्रधानमन्त्रीज्यूसँग जोडेर प्रसाईंले विवादास्पद विवरण सार्वजनिक गरेको भेटियो । प्रारम्भिक अनुसन्धानका क्रममा सबै विवरण भ्रामक रहेको देखियो । विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत उनीविरुद्ध अनुसन्धान अघि बढेको छ । मंगलबार ढिला भएकाले उनलाई म्याद थपका लागि बुधबार अदालत पेस गरिनेछ,’ उनले भने ।
प्रसाईंविरुद्ध अनुसन्धान गर्न सिआइबीले मातहतको साइबर ब्युरो पठाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा प्रसाईबाट सार्वजनिक विवरणसँग प्रधानमन्त्री ओलीको हस्ताक्षर, नागरिकतामा उल्लेखित विवरणसँग जाँच गरिएको थियो । प्रधानमन्त्री ओलीको दाबी गर्दै प्रसाईंबाट सार्वजनिक विवरणसँग ओलीको सक्कली कागजात कुनै पनि मेल नखाने सिआइबीको अनुसन्धानबाट खुलेको छ ।
‘प्रधानमन्त्रीज्यूको कम्बोडियामा लगानी भन्ने समाचार भ्रामक रहेको देखिन्छ । सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी घृणा, द्वैष फैलाउने उद्देश्यले विवरण सार्वजनिक भएको पाइयो । प्रसाईंले सार्वजनिक गरेको विवरणसँग प्रधानमन्त्रीज्यूको सक्कली कुनै पनि विवरण मेल खाँदैन,’ एसपी बोगटीले भने ।
झापाको बिर्तामोड नगरपालिका– ५ का ५३ वर्षीय प्रसाईं भक्तपुरको मध्यपुर नगरपालिका– ६ निकोसेरामा बस्दै आएका छन् । उनीविरुद्ध कागजात किर्ते, एक्सट्रोसन, बैंकिङ कसुरलगायत मुद्दामा पनि अनुसन्धान हुने प्रहरीको भनाइ छ । प्रधानमन्त्री ओलीको नक्कली हस्ताक्षरसहित कागजात उत्पादन गरेको, व्यापारीलाई धम्की दिएको तथा बैंकबाट लिइएको ऋण फरक प्रयोजनमा प्रयोग गरेको उजुरीसमेत सिआइबीमा आएकाले तथ्यका आधारमा सम्बन्धित कसुरमा अनुसन्धान हुने एसपी बोगटीले बताए । ‘प्रसाईंले प्रधानमन्त्रीको भन्दै नक्कली कागजात बनाएको देखियो । त्यसबाहेक कतिपय व्यवसायीलाई धम्की दिने गरेको पनि फेला प¥यो । बैंकबाट एउटा प्रयोजनमा ऋण लिने, तर प्रयोग अर्कैमा गर्ने गरेको पनि सूचना प्राप्त छ । कतिपयमा त उजुरीमा परेका छन् । त्यसैले यी कसुरमा पनि अनुसन्धान हुन सक्छ,’ बोगटीले भने ।