Skip This
रास्वपाले थाल्यो राजधानीकेन्द्रित आन्दोलन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
काठमाडौंको बबरमहलमा रास्वपाको प्रदर्शन । तस्बिर : संजित परियार/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडाैं
२o८१ कार्तिक १० शनिबार o६:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रास्वपाले थाल्यो राजधानीकेन्द्रित आन्दोलन 

Read Time : > 1 मिनेट
कमलराज भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार o६:५८:oo

रास्वपाले सभापति रवि लामिछाने पक्राउको विरोधमा राजधानी काठमाडौं उपत्यकाकेन्द्रित आन्दोलन थालेको छ । जिल्ला अदालत कास्कीले बिहीबार मात्र दोस्रोपटक सात दिनका लागि म्याद थपेपछि रास्वपाले शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरेको हो । ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ ब्यानरमा सडकमा उत्रिएका नेता–कार्यकर्ताले ‘सत्य कहिल्यै ढल्दैन, तानासाही चल्दैन’, ‘भ्रष्ट सरकार चाहिँदैन’, ‘वास्तविक सहकारी ठगलाई कारबाही गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘नेपाली जनता के भन्छ, विधिको शासन ल्याऊ भन्छ’ लगायत नारा लगाएका थिए । 

उपनेता विराजभक्त श्रेष्ठको नेतृत्वमा सांसदहरू शिशिर खनाल, हरि ढकाल, अशोक चौधरीसहित रास्वपाका नेता–कार्यकर्ताले माइतीघरदेखि बानेश्वरसम्म नाराबाजीसहित र्‍याली निकालेका थिए । उपसभापति श्रेष्ठले काठमाडौंको आन्दोलन पोखराकै निरन्तरता भएको बताए । सरकारले राज्यको दुरुपयोग नगरोस् भनेर खबरदारी गराउन शान्तिपूर्ण प्रदर्शन गरिरहेको उनको भनाइ छ । ‘न्यायपालिकाभित्र बन्दुकसहित प्रहरी दस्ता शक्ति पृथकीकरणको सिद्धान्तलाई उल्लंघन गरेको छ । ठाउँको ठाउँ निषेधाज्ञा जारी गरेर पानीको फोहरा हानेको छ । यसले प्रतिशोधको गन्ध आयो । त्यसैले सरकारलाई खबरदारी गरेको हो । न्यायपालिका त जतिसक्दो निष्पक्ष हुन्छ, के नतिजा आउँछ हामीले यही भनेको छैन । दुईतिहाइको सरकारसँग हाम्रो खबरदारी हो,’ उनले भने । 

सांसद खनालले संसदीय समितिले सहकारीबाट पैसा लिएको प्रमाण नभेटिएको भनिसकेपछि सभापति लामिछानेलाई धरपकड गर्नु प्रतिशोध भएको बताए । ‘कुनै प्रमाणविना ओली, देउवा, प्रचण्डलाई यदि समातेको भए कांग्रेस, एमाले, माओवादी चुप लागेर बस्थे, हामीजस्तो शान्तिपूर्ण आन्दोलन गर्थे ?’ उनले प्रश्न गरे । सहकारी ठगी छानबिनसम्बन्धी गठित समितिका सदस्यसमेत रहेका खनालले वास्तविक सहकारीपीडित आफूहरूसँग रहेको र कांग्रेस–एमालेले घुसपैठ गरेर बिथोल्न खोजेको सूचना प्राप्त भएको उल्लेख गर्दै त्यसलाई प्रतिरोध गरिने बताए । 

सांसद हरि ढकालले सदन र सरकारमा राम्रो काम गरिरहेका वेला ३५ वर्षदेखि आफ्ना नजिकका र वरिपरिका कार्यकर्ताका लागि राज्यको ढुकुटीको दोहन गरिरहेका भ्रष्ट षड्यन्त्रकारीले सरकार ढालेको आरोप लगाए । ‘सदनमा जनताका विविध विषयमा सशक्त अभियान चलायौँ । सरकारमा गएर थुप्रै सुधार गर्‍यौँ । अखाद्य वस्तु रोकिए, तस्करको भन्सारबाट भागाभाग भएको थियो । राजस्व र भन्सारका ग्राफ उक्लिएका थिए । सुशासनका लागि अभ्यास सुरु भएको थियो । मान्छेहरू पक्राउ पर्दै थिए,’ उनले भने, ‘अन्तिममा बेचैनी भयो सरकारलाई । जुन दिन बेचन झा पक्राउ परे । भोलिपल्ट सरकार ढालियो । षड्यन्त्रकारीले योजनाबद्ध षड्यन्त्र रचे । रास्वपा केन्द्रीय समितिको शुक्रबारको बैठकले प्रदर्शन जारी राख्ने निर्णय गरेको छ ।