१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ७ बुधबार o७:१८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भिस्ताराको जहाजमा बम राखेको हल्लाले दुई घण्टा विमानस्थलमा तनाव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ७ बुधबार o७:१८:oo

दिल्लीबाट मंगलबार दिउँसो साढे दुई बजे भिस्तारा एयरलाइन्सको ए३२० जहाज एक सय ५७ यात्रु बोकेर काठमाडौंका लागि टेकअफ गर्‍यो । जहाज उडिसकेपछि अज्ञात समूहबाट भिस्ताराकै काठमाडौंमा कार्यरत एक कर्मचारीलाई जहाजमा ‘बम’ राखिएको भन्दै फोन आयो । दिउँसो साढे चार बजेतिर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो, ती कर्मचारीले हस्याङफस्याङ गर्दै विमानस्थलको टर्मिनल कार्यालयलाई आफ्नो जहाजमा कसैले बम राखेको भन्दै फोन आएको जानकारी गराए ।

जहाज अवतरण गरेर ‘पार्किङ वे’मा आइसकेपछि ‘बम’ राखेको सूचना पाएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । विमानस्थलमा नेपाल आर्मीको बम डिस्पोजल टिम, आर्मी र पुलिसका तालिमप्राप्त कुकुरहरू ‘अलर्ट’ अवस्थामै हुन्छन् । 

लगत्तै सुरक्षाकर्मीले जहाजलाई नियन्त्रणमा लिएर ‘पार्किङ वे’बाट अलग्गै राखेर खानतलासी सुरु गर्‍यो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार कुनै पनि जहाजमा बम वा अन्य कुनै खतराजन्य वस्तु राखेको सूचना आएपछि सुरक्षाकर्मीले जहाज नियन्त्रणमा लिएर खानतलासी गर्ने अन्तर्राष्ट्रिय प्रोटोकल हुन्छ । 

आर्मी र पुलिसले आआफ्नो प्रोसिड्योरअनुसार जहाजको खानतलासी सुरु गरे । केही समय अरू उडान पनि अवरुद्ध भए । सुरुमा यात्रु, यात्रुको ह्यान्ड ब्याग तलासी गरेर बाहिर पठाइयो । त्यसपछि जहाजमा रहेका यात्रुका लगेज र कार्गो चेकजाँच भयो । दुई घण्टासम्म लगाएर जहाजको बाहिर र भित्र सबैतिर विस्तृत चेकजाँच गर्दा कुनै शंकास्पद वस्तु फेला परेन । अर्थात्, जहाजमा ‘बम’ राखेको सूचना फेक हल्ला मात्रै थियो ।

सुरक्षाकर्मीले खानतलासी गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटेपछि साढे ६ बजे जहाजलाई उडानका लागि ‘रिलिज’ गरेको महाप्रबन्धक निरौलाले बताए । जहाज मंगलबार साँझ नै यात्रु बोकेर नयाँदिल्लीका लागि उडान गरिसकेको छ । जहाजमा बम नभेटिएपछि विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गरियो ।

पछिल्लो समय अज्ञात समूहले भारतीय वायुयानमा ‘बम’ राखेको फेक हल्ला चलाइरहेका छन् । अहिलेसम्म दर्जनौँ आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूमा बम राखेको गलत सूचना फैलाएर धम्की दिइसकेको छ, जसले गर्दा भारतीय उड्डयन क्षेत्र नै त्रासदीमा छ । यसै क्रममा काठमाडौं आएको भिस्ताराको जहाजमा पनि बम राखेको धम्कीपूर्ण अफवाहको सामना गर्नुपर्‍यो । 

यसरी बम राखेको भन्दै दिइने गलत सूचना (धम्की)लाई ‘फेक कल वा होक्स कल’ भनिने सहप्रवक्ता भुलले बताए । ‘यात्रुलाई अत्याउन, कुनै पनि विमानस्थल वा वायुसेवा कम्पनीलाई बदनाम गराउन यस्ता फेक कल आउने गर्छन्,’ उनले भने, ‘अर्कोलाई दुःख दिएर वा धम्क्याएर आनन्द लिने इन्टेन्सन भएका व्यक्तिहरूले यस्तो फेक सूचना फैलाउने गर्छन् ।’ पछिल्लो समय एयर इन्डिया र भिस्तारा मर्ज भएर विश्वकै ठुलो वायुसेवा कम्पनी बन्ने तयारीमा छ । यस्तो वेलामा वायुसेवा कम्पनीलाई बदनाम गराउन कुनै व्यक्ति वा समूह परिचालित भएका पनि हुन सक्छन् । 

‘भिस्ताराको जहाजको बाहिरी र भित्री भाग सम्पूर्ण सुरक्षा चेकजाँच गर्दा कुनै शंकास्पद वस्तु भेटिएन,’ सहप्रवक्ता भुलले भने, ‘बम राखेको सूचनालाई फेक कल घोषणा गरेर जहाजलाई अर्को उडान गर्न रिलिज गरियो ।’