Skip This
काठमाडौंबाट बाहिरिने चार मुख्य सडक अझै अवरुद्ध, दसैँ यात्रा प्रभावित 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार o६:२२:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काठमाडौंबाट बाहिरिने चार मुख्य सडक अझै अवरुद्ध, दसैँ यात्रा प्रभावित 

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार o६:२२:oo

बाढीपहिरोले प्रभावित काठमाडौंबाट बाहिरिन प्रयोग गरिने मुख्य चार सडक अवरुद्ध हुँदा दसैँको यात्रा प्रभावित भएको छ । साथै, प्रयासबिच पनि अवरुद्ध सडक दसैँ (२६ असोज) अघि खोल्न चुनौतीपूर्ण देखिएको छ । सडक विभागका अनुसार बिपी राजमार्ग, कान्ति लोकपथ, काठमाडौं–फर्पिङ–सिस्नेरी–हेटौँडा र काठमाडौं–फर्पिङ–फ्याकेल–हेटौँडा गरी चार सडक अवरुद्ध छन् । विशेषगरी फूलपाती (२४ असोज)अघि सवारीसाधनको आवतजावत बढी हुन्छ । तर, त्यस अवधिमा अवरुद्ध सडक खुलाउन चुनौतीपूर्ण रहेको सडक विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले बताए । 

यसै पनि १५ असोजयताबाटै सवारीसाधन र यात्रुको चाप बढ्दै गएको छ । तर, काठमाडौंबाट बाहिरिन प्रयोग गरिने केही महत्वपूर्ण सडक अवरुद्ध हुँदा सवारीसाधन सञ्चालनमा केही अप्ठ्यारो भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बताए । 

‘अहिले पूर्व र मधेश जान प्रयोग गरिने बिपी मार्गसँगै कान्तिपथ (काठमाडौं–हेटौँडा) र दक्षिणकाली–हेटौँडा सडक अवरुद्ध भएको छ,’ उनले भने, ‘त्यसपछि त्यो रुटबाट हिँड्ने गाडीको चाप अहिले हेटौँडा–नौबिसे–काठमाडौं, (त्रिभुवन राजपथ), नारायणगढ–मुग्लिन–काठमाडौंंलगायत सडकमा परेको छ । त्यसले सडकमा जाम हुनेलगायत समस्या देखिएको छ । यद्यपि, सुरक्षित यात्रा गराउने प्रयास गरिरहेका छौँ ।’

बिपी राजमार्ग दसैँअघि नखुल्ने नै
काठमाडौंसँग पूर्वको दूरी छोट्याउने बिपी राजमार्ग दसैँअघि नखुल्ने नै भएको छ । बाढीपहिरोले रोशीदेखि नेपालथोकसम्मको खण्डमा दुई किलोमिटरभन्दा बढी सडक बगाएको छ । बाढीले बगाएपछि त्यहाँको दुई हजार ५० मिटर सडकखण्डको कुनै नामोनिसान छैन । सडक बगाएको ठाउँमा ट्रयाक नै नयाँ खोल्नुपर्ने भएकाले दसैँअघि बिपी राजमार्ग सञ्चालन सम्भव नभएको विभागको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि बिहीबार पत्रकार सम्मेलन गर्दै उक्त सडक दसैँअघि नखुल्ने बताएको छ । 

तिहारसम्म ट्रयाक खोलेर यातायात सञ्चालन गर्न सकिन्छ कि भन्ने आशा विभागको छ । विभागका प्रवक्ता श्रेष्ठले त्यहाँ नयाँ सडक खोल्ने प्रक्रिया अघि बढेको बताए । तर, दसैँअघि सडक खुलाउन नसकिने उनको भनाइ छ ।

रोशी खोलाको छेउबाट ‘पर्खाल’ उठाएर र कम मात्रामा भित्ता कटान गरेर उक्त सडक बनाइएको थियो । अहिले रोशी खोलामा अनपेक्षित बाढी आउँदा किनारमा पर्ने विभिन्न सडकखण्ड बगेको छ । त्यहाँ नयाँ ट्रयाक खोल्न भित्ता कटान गर्नुुपर्ने हुन्छ । साथै, रोशी खोलाको बगरमा पनि सडक बनाउनुपर्ने हुन सक्छ । भित्तामा चट्टान भएकाले ट्रयाक खोल्न समय लाग्छ । साथै, खोलामा पानीको बहाव नघट्दा पनि तत्काल ट्रयाक खोल्ने अवस्था छैन । 

त्यो खण्ड पार गर्न नजिकका सडक प्रयोग गर्ने तयारी विभागको छ । हाललाई सिन्धुलीको रामटार, रामेछापको सित्खा र मन्थली हुँदै दोलखाको चरीकोट भएर काठमाडौं गाडी ल्याउने तयारी छ । चरीकोट पुगेगपछि खाँडीचौर, दोलालघाट, पाँचखाल र धुलिखेल हुँदै काठमाडौं गाडी आउन सक्छन् । सोही रुट हुँदै काठमाडौंबाट गाडी बाहिरिन सक्छन् । 

यो आंशिक रूपमा प्रयोग गर्न सुरु गरिएको छ । तर, त्यहाँ ठुला तथा मध्यम गाडी सञ्चालन गर्न अप्ठ्यारो हुनेछ । यसले सवारीको चाप व्यवस्थापन गर्न ठूलो योगदान नदिने विभागको भनाइ छ । पूर्वका गाडीलाई बिपी राजमार्गको सट्टा कान्ति लोकपथ उपयुक्त विकल्प हो । तर, त्यो सडक पनि अहिले अवरुद्ध नै छ । 

दसैँअघि कान्तिपथ खुलाउने प्रयास 
काठमाडौंबाट हेटौँडा, वीरगन्जलगायत मधेशका विभिन्न ठाउँ जान कान्तिपथ पनि छोटो दूरी हो । तर, पछिल्लो बाढीले ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्तिपथको बागमती पुल बगाएको छ । साथै, थुप्र ठाउँमा पहिरो पनि गएको छ । फलस्वरूप उक्त सडक अवरुद्ध छ । 

दसैँअघि सडक खुलाउने प्रयासमा विभाग छ । अहिले सडक विभागले त्यहाँ पहिरो हटाउने काम गर्दै छ । पुल बगाएको ठाउँमा माटो र ढुंगाले भरेर सडक खुलाउने विभागको तयारी छ । त्यहाँ झन्डै १५ मिटर स्पान (दुई पिलरबिचको भाग) बगाएको छ । खोलाको पानी अन्यत्रबाट डाइभर्ट गरेर त्यो खण्डमा माटो भरेर पुलको सतहमा ल्याई यातायात खुलाउने तयारी सडक विभागको छ । 

सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले दसैँअघि नै सडक खुलाउने गरी काम गरेको बताए । ‘बागमतीमा पानीको बहाव अझै पनि उच्च छ । त्यस अवस्थामा केही चुनौती छ । तर, आशावादी छौँ । त्यो खण्डको पानी अन्यत्र डाइभर्ट गर्नका लागि बाँध बनाउने काम सुरु भएको छ,’ उनले भने, ‘१५ मिटर उचाइ र ४० मिटर लम्बाइको क्षेत्रमा माटो भर्नुपर्ने देखिन्छ । प्राविधिक रूपमा सम्भव भएसम्म त्यहाँ माटो भरेर भए पनि बाटो खुला गर्छाैँ ।’ 

त्यहाँ तत्काल पुल निर्माण गर्न सकिँदैन । साथै, बेलिब्रिज राख्न पनि प्राविधिक रूपमा नमिल्ने देखिएको छ । त्यसपछि खोलाको पानी डाइभर्ट गरेर माटो भरेर सडक खुलाउने प्रयास गरिएको हो । 

कान्ति लोकपथ पूर्वका गाडीका लागि उपयुक्त वैकल्पिक मार्ग हो । विशेषगरी साना गाडीलाई त्यहाँ गुड्न सहज हुन्छ । यो सडक खुला गर्न सकेमा बिपी राजमार्ग अवरुद्ध भएको अवस्थामा पूर्वका गाडीहरूलाई यो उपयुक्त विकल्प हुने अर्यालले बताए । 

हेटौँडा जाने सडक दसैँअघि नै सञ्चालनमा ल्याउने लक्ष्य
यस्तै, काठमाडौंबाट दक्षिणकाली हुँदै हेटौँडा जान काठमाडौं–फर्पिङ–सिस्नेरी–हेटौँडा र काठमाडौं–फर्पिङ–फ्याकेल–हेटौँडा गरेर थप दुई सडक पनि छन् । तर, यी सडक पनि अझै अवरुद्ध छन् । सडक खुला भएमा हेटौँडा हुँदै मधेश प्रदेशका गाडी जान सक्छन् । साथै, त्यहाँबाट चितवन निस्केर पनि पश्चिम क्षेत्रको गन्तव्यमा पुग्न सकिन्छ । 

काठमाडौं–फर्पिङ–सिस्नेरी–हेटौँडा सडकअन्तर्गत सिस्नेरीमा झन्डै डेढ किलोमिटर सडक बाढीले बगाएको छ । काठमाडौं–फर्पिङ–फ्याकेल–हेटौँडा सडकमा महालक्ष्मी खोलामा ७० मिटर सडक कटान गरेको थियो । कुलेखानी पुलआडको ५० मिटर सडक खण्ड क्षतिग्रस्त भएको छ । साथै, बिचबिचमा पहिरो पनि गएका थिए । त्यसले गर्दा उक्त दुई सडक अवरुद्ध छन् । 

यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुस्करप्रसाद पोखरेलले शनिबार साँझसम्म सडक सञ्चालनका सम्बन्धमा केही नतिजा देखिने बताए । ‘सडक नै बगाएको ठाउँमा बगरबाटै ट्रयाक सञ्चालन गर्ने काम भएको छ । कतिपय ठाउँमा ढुंगामाटोले भरेर पनि सडक तयार गरेका छौँ । पहिरो हटाउने काम पनि जारी छ,’ उनले भने, ‘दसैँअघि नै सडक सञ्चालनमा ल्याउने लक्ष्य हो । यसका लागि भएजतिका सबै विकल्प प्रयोग गरेका छौँ । सम्भवतः शनिबारसम्म केही नतिजा देखिन सक्छ ।’

सडक पुनस्र्थापना नै गर्न भने समय लाग्ने उनले बताए । ‘अहिले दसैँलाई लक्षित गरेर सडक सञ्चालनमा ल्याउन लागेको हो । सडकको पुनर्निर्माण तथा पुनस्र्थापना गर्न भने समय लाग्नेछ,’ उनले बताए । 

बिपीबाहेकका अवरुद्ध सडक दसैँअघि नै खुल्ने मन्त्री दाहालको दाबी
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बिपीबाहेकका अवरुद्ध सडक दसैँअघि नै खुल्ने बताएका छन् । शुक्रबार पूर्वाधार विकास समितिको बैठकमा उनले बिपी राजमार्ग दसैँअघि नखुल्ने बताए । अन्य सडक भने दसैँअघि खुलाउने गरी काम भइरहेको उनको भनाइ छ । अहिले बिपी राजमार्गमा फसेका गाडीहरूको उद्धार गर्ने काम भइरहेको पनि उनले बताए । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले पनि आइतबारसम्म अधिकांश सडकखण्ड खुलाउने गरी काम भइरहेको बताए । 

शुक्रबारको छलफलपश्चात् पूर्वाधार विकास समितिले क्षतिग्रस्त सडक तत्काल मर्मत गरी सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । साथै, दसैँको समयमा यात्रुलाई सहज रूपमा घर जाने वातावरण बनाउन पनि समितिले निर्देशन दिएको छ । समग्रमा यातायातलाई व्यवस्थित, सुलभ र सुरक्षित बनाउनुपर्ने समितिको भनाइ छ । 

यस्तै, पहिरोका कारण वासस्थान गुमाएका परिवारका लागि सात दिनभित्र अस्थायी बसोवासको व्यवस्था गर्नुपर्ने समितिको निर्देशन छ । साथै, घाइतेको निःशुल्क र शीघ्र उपचार गर्न पनि समितिले निर्देशन दिएको छ ।

यस्तै, समितिले कुलेखानी ड्याम सञ्चालनमा अपनाउनुपर्ने सजगताका सम्बन्धमा अध्ययन समिति गठन गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ । त्यो समितिमार्फत अध्ययन गरी एक महिनाभित्र समितिमा प्रतिवेदन बुझाउनुपर्ने बताइएको छ । ड्यामको गेट खोलेका कारण पुगेको क्षति र आगामी दिनमा अपनाउनुपर्ने सजगताका सम्बन्धमा समितिले अध्ययन गरेर प्रतिवेदन बुझाउनुपर्नेछ ।

काठमाडौं र तातोपानी नाकाको सम्बन्ध पनि टुट्यो 
अविरल वर्षापछि आएको बाढीपहिरोले छिमेकी चीनलाई जोड्ने उत्तरी नाका तातोपानी र रसुवागढी ठप्प भएको छ । अरनिको राजमार्ग बन्द भएपछि दसैँका लागि लत्ताकपडा बोकेका कन्टेनर (चिनियाँ टेलर) खासा र केरुङमा रोकिएका छन् । 

नाकालाई अरनिको राजमार्गले काठमाडौंसँग जोड्ने काम गर्छ । तर, त्यस राजमार्गको लिपिङ पुल र लार्चास्थित बेलिब्रिज भोटेकोशी नदीले बगाएको छ, जुन बोर्डरनजिक छन् । बाढीले पुल बगाए पनि यात्रुको आवतजावत रोकिएको छैन । तर, चीन नाकासँग भने सम्बन्ध–विच्छेद भएको छ । चाडपर्वमा व्यापारीले चीनबाट विभिन्न सामान ल्याएर नेपालमा बिक्री गर्छन् । तर, अहिले दसैँ–तिहारका वेला पुल नै बगाएर नाकासँगको सम्बन्ध–विच्छेद भएपछि व्यापारीहरू पनि मर्कामा परेका छन् । 

३० ठाउँमा सडक अवरुद्ध 
सडक विभागका अनुसार विभिन्न राजमार्गका ३० ठाउँमा सडक अवरुद्ध छ । त्यसमा बिपी राजमार्गको मात्रै १४ ठाउँमा सडक अवरुद्ध छ । त्यसमा भ्याकुरे खोला, चारसयबेँसी, माम्ती खोला, कालढुंगा, नार्केपुल क्षेत्र, बोक्सीकुना, काभ्रे भञ्ज्याङ, डालाबेँसी, चौकीडाँडा, आँपखोला, ग्याप्पेडाँडालगायत ठाउँ छन् । 

यस्तै, तमोर करिडोरको बराह क्षेत्र (मोरङ), कान्ति लोकपथको बागमती पुल (ललितपुर र मकवानपुरको सीमा), मेची राजमार्गको फिदिम (पाँचथर), अरनिको राजमार्गको लार्चा र लिपिङ (सिन्धुपाल्चोक), भेडेटार–राँके सडकको ओर्खे (धनकुटा) र मैदाने (पाँचथर), ठोरी–मलेखु–गल्छी–रसुवागढी सडकको भुटार (धादिङ) र खुर्काेट–मन्थली–तामाकोशीको सुनकोशी पुल (रामेछाप) अवरुद्ध । लार्चा, लिपिङ र सुनकोशी पुल बगाएर बाटो अवरुद्ध भएको हो ।

यस्तै, पुष्पलाल राजमार्गको खैरेनीघाट र खानीखोला (रामेछाप) अवरुद्ध छन् । यस्तै, खोटाङस्थित कदुवा खण्ड पनि अवरुद्ध छ ।

यस्तै, लहान–कदमाचोक–गाईघाट सडकको फोक्सिङटार खण्ड पनि अवरुद्ध छ । फोक्सिङटारको सुनकोशी पुल बगाएपछि सडक अवरुद्ध छ । यस्तै, सन्धिखर्क–देवस्थान–बुर्तिबाङ सडकको देवीस्थान (बागलुङ) खण्ड पनि अवरद्ध छ ।

सडक अवरुद्ध भएपछि अहिले काठमाडौंबाट बाहिरिने गाडीहरूले मुख्यतः नागढुंगा नाका नै प्रयोग गरेका छन् । त्यसमा हेटौँडा जाने गाडीहरू नौबिसेबाट त्रिभुवन राजपथतर्फ लाग्ने गरेका छन् । हेटौँडा जाने कतिपय गाडीहरू काठमाडौं–चन्द्रागिरि–चित्लाङ हुँदै पनि गएका छन् । उनीहरू महालक्ष्मी खोलाबाट त्रिभुवन राजपथ निस्कने गरेका छन् ।

नागढुंगामा सवारी चाप कम गर्न काठमाडौं–छहरे–गल्छी र सीतापाइला–रामकोट–धार्के रुट पनि प्रयोग गरिएको छ । विशेषगरी साना गाडीहरूले यो रुट प्रयोग गरेका छन् ।