Skip This
प्रहरीकै मिलेमतोमा ‘हनी ट्रयापिङ’ : इटहरीमा सेटिङ असफल भएपछि रोजिएको थियो भैँसेपाटी प्रभाग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १८ शुक्रबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १८ शुक्रबार o९:२२:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रहरीकै मिलेमतोमा ‘हनी ट्रयापिङ’ : इटहरीमा सेटिङ असफल भएपछि रोजिएको थियो भैँसेपाटी प्रभाग

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १८ शुक्रबार o९:२२:oo

ललितपुरको भैँसेपाटी प्रभागमा एक व्यवसायीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ असुली गरेर छाडिएको घटना संगठित प्रकृतिको देखिएको छ । सो गिरोहले अरू धेरैजनालाई यसैगरी प्रहरीसमेतको मिलेमतोमा तर्साएर पैसा असुल्ने गरेको छानबिनमा भेटिएको छ । यसमा भैँसेपाटी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाहीबाहेक अन्य प्रहरीको समेत मिलेमतो देखिएपछि प्रहरी प्रधान कार्यालयले विस्तृत छानबिनको तयारी गरेको छ । 

जिल्ला प्रहरी परिसर, ललितपुरले यो घटनामा तीनजनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । सुनसरीका ताज इस्लाम, सुष्मा विक र भीमादेवी थापालाई पक्राउ गरेकोमा अन्य केही फरार छन् । उनीहरूले इटहरीकै एक व्यवसायीलाई भैँसेपाटीमा भेट्न बोलाएर प्रहरी लगाई थुनाएर पैसा असुलेका थिए । उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा अरूलाई पनि विगतमा यसैगरी फसाएको तथ्य खुलेको हो । ‘उनीहरूको गिरोह नै रहेको देखिन्छ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख एआइजी किरण बज्राचार्यले भनिन्, ‘यसअघि दरबारमार्गमा पनि एकजनाविरुद्ध उजुरी दिएर पछि १६ लाख लिएको भन्ने छ, यसमा हामी विस्तृत छानबिन गर्दै छौँ ।’ 

प्रहरीका अनुसार इटहरीका ती व्यवसायी सुष्मासँग केही महिनाअघि भेडेटार घुम्न गएका थिए । सो कुरा सुष्माका साथी दर्शन पोखरेल (हाल फरार)ले थाहा पाए । पोखरेलले ताज इस्लामलाई सुनाएपछि उनले तर्साएर पैसा असुल्ने योजना बनाए । सुरुमा इटहरी प्रहरीमै यस्तो प्रयास भएको थियो । तर, त्यहाँको प्रहरीले नमानेपछि उनीहरूले भैँसेपाटी प्रभाग प्रयोग गरी पैसा असुल्ने योजना बनाएका थिए । 

ललितपुरको भैँसेपाटीस्थित प्रहरी प्रभाग र (इन्सेट)मा इन्स्पेक्टर बिनुकुमारी शाही । 

स्रोतका अनुसार ताजले नेपाल प्रहरीकै एक एसपीसँग मिलेर यस्तो योजना बनाएको देखिन्छ । तिनै एसपीले भैँसेपाटी प्रभागकी इन्स्पेक्टर शाहीलाई इस्लामसँग भेट गराइदिएका थिए । त्यहीअनुसार इस्लामले इन्स्पेक्टरसँग सल्लाह गरी सहमति गरेर पछि पीडित भनिएकी युवतीलाई लिएर गएका थिए । युवतीले नै ती व्यापारीलाई भेट्न बोलाएकोमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । कुटपिटसम्बन्धी उजुरी दिन लगाएर यसरी पक्राउ गरिएको थियो । पछि प्रहरीकै अगाडि ६० लाख मागियो, नत्र बलात्कार मुद्दामा जाहेरी दिएर फसाइदिने भन्दै बार्गेनिङ भएको थियो । ३० लाखमा सहमति भएको थियो । जसमध्ये २० लाख इस्लामकी साथी भीमादेवीको खातामा हाल्न लगाइएको थियो भने १० लाख रुपैयाँको चेक काटियो । 

पछि जिल्ला प्रहरी परिसर, ललितपुरले ‘हनी ट्रयापिङ’ घटनामा मिलापत्र गरिएको सूचना पाएपछि सबैलाई झिकाएर छानबिन गर्दा प्रहरीको समेत मिलेमतो पुष्टि भएको थियो । इन्स्पेक्टरको मिलेमतो प्रस्ट भएपछि भोलिपल्टै जिम्मेवारीबाट हटाएर निलम्बनको सिफारिस भएको थियो । तर, एक साता हुँदा पनि निलम्बनको निर्णय हुन सकेको छैन । प्रहरी प्रधान कार्यालयले नै निलम्बनका लागि गृहमा पत्राचार गरेको छैन । 

अर्काेतर्फ इस्लामको मोबाइल र १० लाख रुपैयाँको चेकसमेत भैँसेपाटी प्रभागबाटै गायब बनाइएको छ । इस्लामको मोबाइलमा यससम्बन्धी सबै प्रमाण थियो । सोही कारण जिल्ला परिसरले उनीहरूलाई पठाउन भनेलगत्तै इन्स्पेक्टरले नै मोबाइल र चेक गायब बनाएको सूचना छनबिन समितिले पाएको छ । डिएसपी नरहरि अधिकारीको नेतृत्वको समितिले हाल छानबिन गरिरहेको छ । इस्लामकै मोबाइल फेला नपर्दा इन्स्पेक्टर र इस्लामलाई भेट गराइदिने व्यक्तिको विषयमा प्रहरीले प्रमाण फेला पार्न सकेको छैन । ‘यो संगठित शैलीको अपराध देखिन्छ,’ प्रहरी प्रधान कार्यालयका एक अधिकारी भन्छन्, ‘त्यसकारण यसमा अलि ठुलै खालको छानबिन समिति बनाउनुपर्छ भनेर छलफल भइरहेको छ ।’ 

जिल्ला प्रहरी परिसर ललितपुरले प्रारम्भिक छानबिन प्रतिवेदनबारे उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयलाई उपलब्ध गराइसकेको छ । जसअनुसार यसमा इन्स्पेक्टरलगायतविरुद्ध मुद्दा चलाउनुपर्ने प्रस्ट आधार तय भइसकेको छ । तर, यसमा निर्णय भइसकेको छैन । स्रोतका अनुसार पीडितले नै इन्स्पेक्टरको समेत मिलेमतोमा आफूसँग पैसा असुलिएको भनेर जाहेरी नै दिएका छन् । पक्राउ परेकी युवतीले इस्लाम र इन्स्पेक्टर शाही मिलेर योजना बनाएको र आफूले भनेअनुसार काम मात्र गरेको बयान दिएकी छिन् । अर्काेतर्फ असुलिएको पैसा प्रहरी र आपराधिक गिरोहले आधा–आधा बाँड्ने भनेरसमेत सहमति गरेको खुलेको छ । साथै, मिलापत्र गराएबापत भन्दै इन्स्पेक्टरले पीडितसँग डेढ लाख रुपैयाँ लिएको र त्यो पैसा प्रभागकै एक सइलाई राख्न दिएकोसमेत पत्ता लागिसकेको छ । यति धेरै प्रमाण हुँदा पनि इन्सपेक्टरविरुद्ध निलम्बन र कानुनी कारबाहीमा ढिलाइ भएपछि उनलाई जोगाउन चलखेल भइरहेको आशंका गरिएको छ । 

उपत्यका प्रहरी कार्यालयकी एआइजी बज्राचार्य भने यो घटनामा दोषी देखिएका कोही पनि नजोगिने बताउँछिन् । पक्राउ परेका तीनैजनालाई ललितपुर परिसरले हाल आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान गरिरहेको छ । तर, गिरोहको पर्दापछाडि रहेका व्यक्तिहरू अझै पत्ता लागेका छैनन् । 

दरबारमार्ग वृत्तमा निर्माण व्यवसायीमाथि यसैगरी उजुरी 
सोही समूहले केही महिनाअघि रामेछाप घर भएका ‘क’ वर्गका निर्माण व्यवसायीलाई ‘हनी ट्रयापिङ’मा पारेर पैसा असुलेको समेत अनुसन्धानका क्रममा खुलेको छ । हाल ललितपुर परिसरमा रहेका ताज इस्लामले नै अर्की एक युवती प्रयोग गरी त्यसरी फसाएका थिए । निर्माण व्यवसायी र अर्का एक व्यापारीबिचको विवादमा प्रतिशोधस्वरूप त्यसरी फसाइएको हाल छानबिनमा पत्ता लागेको हो । पछि उनीहरूबीच १६ लाख रुपैयाँ लेनदेन भएको पुष्टि भइसकेको छ । दरबारमार्गको घटनाको विषयमा समेत हाल छानबिन भइरहेको उपत्यका प्रहरी कार्यालयकी प्रमुख एआइजी बज्राचार्य बताउँछिन् । 

सेवाग्राहीलाई होटेलमा लगेर हवल्दारद्वारा बलात्कार प्रयास 
न्याय खोज्दै प्रहरी कार्यालयमा पुगेकी एक महिलामाथि प्रहरीबाटै बलात्कार प्रयास भएको छ । चोरीसम्बन्धी उजुरी लिएर प्रहरीमा पुगेकी महिलालाई चोर पक्राउ गर्ने आश्वासन दिएर प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत अनिलकुमार दाहालले बलात्कार प्रयास गरेका हुन् । आरोपी दाहाल बुधबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफ्नो डेरामा चोरी भएपछि ती महिला गत २० भदौमा स्वयम्भू वृत्तमा पुगेकी थिइन् । स्वयम्भू वृत्तले सोह्रखुट्टे वृत्त पठाएको थियो । वृत्तमा उनको भेट हवल्दार दाहालसँग भएकोमा उनले चोरलाई पक्राउ गर्ने आश्वासन दिई नजिकिएका थिए । २९ भदौमा हवल्दार दाहालले ती महिलालाई फोन गरी चोर पक्राउ परेको भन्दै ठमेलमा भेट्न आउन बोलाए । महिलाले आफू आउन नसक्ने भन्दा पनि उनले निकै कर गरे । पठाओमा आउन आग्रह गर्दै भाडासमेत आफैँ तिरिदिए । त्यहाँ उनले ड्रंकेन इन होटेलमा लगेर बलात्कार प्रयास गरेको र आफू भागेको पीडितको जाहेरीमा उल्लेख छ । लगत्तै प्रहरीले हवल्दारलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको हो । काठमाडौंका जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।