मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Sunday, 22 December, 2024
शान्ति तामाङ नल्लु (ललितपुर)
२o८१ असोज १९ शनिबार o६:५२:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिंहदरबारबाट २५ किमि टाढाको बाढीले तहसनहस गाउँ, जहाँ राज्य अझै पुगेको छैन

स्थानीय बासिन्दा चन्दा संकलन गरेर अवरुद्ध सडक खुलाउनेदेखि थप क्षति रोक्न खोलालाई पुरानै धार फर्काउँदै छन्

Read Time : > 5 मिनेट
शान्ति तामाङ, नल्लु (ललितपुर)
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार o६:५२:oo

स्थलगत रिपोर्ट

सिंहदरबारबाट करिब २५ किलोमिटर मात्रै दूरीमा घर भएका दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका– ४ नल्लुका प्रेमबहादुर डिमडुङलाई सोध्नुपर्छ– जीवनको मूल्य के हो  ? किनभने उनले एक साताअघि मात्रै आएको बाढीमा मृत्युको साक्षात्कार गरेका छन् । गत शनिबार बिहान २ बजे घरनजिकैको खोल्सामा आएको बाढी घरभित्र पस्यो र उनको आधा शरीर डुबायो । उनले रातभर डाँडामाथि कुर्दै ज्यान भने बचाए । अझै पनि उनलाई त्यो दिन सपना हो कि विपना भन्ने छुट्याउनै गाह्रो परिरहेको छ ।

‘शुक्रबारदेखि पानी परिरहेकाले निदाउन सकेका थिएनौँ । शनिबार बिहानको २ बजेको हुनुपर्छ । सानो खोल्सामा आएको बाढी घरभित्र पसिहाल्यो । ह्वात्तै आएको पानीले आधा शरीर डुबाइहाल्यो । बल्लतल्ल झ्याल खोलेर ज्यान बचाउन सकेँ,’ उनले भने, ‘श्रीमतीलाई खोलाले बगाएर अलि तल पुर्‍यायो । खोलासम्मै पुर्‍याएको भए बगाउँथ्यो । बल्लतल्ल बाँचेपछि माथि डाँडातिर गएर रात कटायौँ ।’ 

प्रेमबहादुर डिमडुङ : आइतबारदेखि छोराबुहारीसँग चापागाउँ गएर बसेको छु । पुरिएको घरभित्र केही भेटिन्छ कि भनेर खोज्न आएको हुँ । तर, अहिलेसम्म मलाई कसैले कस्तो छ भनेर सोध्न आएन । तस्बिर : संजित परियार/नयाँ पत्रिका

प्रेमबहादुरले ज्यान त बचाए, अरू केही बचाउन सकेनन् । डाँडाबाट अलि तल बेँसीमा झरेका उनको घर बगायो । चारवटा भैँसी, बाख्रा १८ वटा, कुखुरा १८ वटासहित गोठको जग नै बगायो । कोदो रोपेको सानो टुक्रा बारीबाहेक तीन रोपनी बारी पनि बाढीपहिरोले बगायो । अहिले उनीसँग शरीरमा भएको एकसरो कपडाबाहेक केही छैन । यति हुँदा पनि उनलाई अझैसम्म कसैले कस्तो छ भनेर सोधेका छैनन् । ‘आइतबारदेखि छोराबुहारीसँग चापागाउँ गएर बसेको छु । पुरिएको घरभित्र केही भेटिन्छ कि भनेर खोज्न आएको हुँ । तर, अहिलेसम्म मलाई कसैले कस्तो दुःख छ भनेर सोध्न आएन,’ बिहीबार पुरिएको सामान नियाल्दै उनले भने । 

नल्लुकै जालमाया स्याङ्तानले घरको दायाँबायाँ भएको सानो खोल्सा बाढीमा परिणत होला र त्यही खोल्सामा आएको बाढीले यति धेरै क्षति गर्ला भनेर कल्पनासम्म गरेकी थिइनन् । बाढीले उनको दुईवटा टनेलमा लगाएको तरकारी खेती बगायो । दुःखजिलो गरेर बनाएको घर बस्न नहुने बनायो । तर, त्यही घरमा बस्नेबाहेक उनीसँग अर्को कुनै विकल्प छैन । ‘सानो खोल्सामा भेल आएसँगै ठुलो रुख आयो । गेग्रान आयो । घरभित्र भेल पस्यो । घरभित्रका सबै पुर्‍यो । घरनजिकैको बारीमा तोरी छरेको थियो, त्यो पनि बगायो,’ गहभरि आँसु बनाउँदै उनले भनिन्, ‘भूकम्पभन्दा अघि बल्लबल्ल बनाएको घरलाई अहिले बाढीले असर गर्‍यो । मैले दुई दिन लगाएर घर सफा गरेँ । सबैले धराप घर किन सफा गरेको भनेर गाली गरे । मलाई माया लाग्यो । म कहाँ जाने ? अब यस्तो घर बनाउन सक्दिनँ ।’ 

जालमाया स्याङ्तान : भूकम्पभन्दा अघि दु:खले बनाएको घर अहिले बाढीले एकापट्टि भत्कायो । दुई दिन लगाएर सफा गरेँ । सबैले धराप घर किन सफा गरेको भनेर गाली गरे । माया लाग्यो । अब कहाँ जाने ? 

आफ्नो घर उच्च जोखिममा परेपछि शनिबार बिहानदेखि उनी बहिनीको घरमा आश्रय लिएर बसेकी छिन् । उनीसँगै दीर्घरोगले ग्रस्त श्रीमान् पनि बहिनीकै घरमा बस्छन् । घरसँगै तोरीबारी बगायो । गरिखाने टनेल पनि बगायो । अब उनलाई छोरालाई मलेसिया पठाउँदा लिएको पाँच लाख ऋण कसरी तिर्ने भनेर चिन्तित बनाएको छ । कसैले एक वचन पनि कस्तो छ भनेर नसोध्दा दुःखमा कोही नहुने रहेछ भन्ने उनलाई लाग्न थालेको छ । ‘कसैले एक वचन के भयो भनेर सोधेनन् । बाहिरबाट हेर्दा सिंगै घर छ, तर बस्न मिल्दैन । त्यही पनि अब मेरो ज्यानलाई सुरक्षा गर्नुपर्छ भन्ने लागेको छ । छोराहरूले मेरो मुख देख्न पाउँदैनन् जस्तो लागेको थियो । धन्न बाँचेँ,’ उनले भनिन् । 

खोलाको धार मोड्दै तामाङदम्पती 
राजु तामाङ : अलि सानो पानी आयो भने घर बचाउन सकिन्छ कि भनेर खोला मोड्न खोजेको । भाको घर पनि भत्क्यो भने के गर्नु । यहाँ फुटबल खेल्ने ठुलो चौर थियो । खेत थियो । तर सब खत्तम बनायो ।

राजु तामाङको दम्पतीलाई खोलाको धार मोड्न सकिन्छ कि भनेर कता–कता लागेको छ । त्यसैले बिहीबार बिहान एक झर पानी पर्नेबित्तिकै दुईजना मिलेर खोलाको धार मोड्न लागिपरे । राजुले कुटो–कोदालो लिएर काम गर्दै थिए । उनकी श्रीमती शान्तिमाया पनि उनलाई सघाइरहेकी छिन् । घरपारिको नल्लु खोला यति धेरै घातक होला भनेर तामाङदम्पतीलाई कहिल्यै पनि लागेको थिएन । खोलानजिकै ठुलो फुटबल मैदान थियो । खेत थियो । त्यसैले खोला घरसम्म नआउनेमा उनीहरू निश्चिन्त थिए । तर, नल्लु खोलामा भीषण बाढी आयो । गोठ बगायो । चारवटा बाख्रा मर्‍यो । बारी बगायो । बाढीले झन्डै घर लगेन । उनीहरू शुक्रबारदेखि निदाउन सकेका छैनन् । ‘अलि सानो पानी आयो भने घर बचाउन सकिन्छ कि भनेर खोला मोड्न खोजेको । भाको घर पनि भत्क्यो भने के गर्नु,’ राजुले भने, ‘यहाँ फुटबल खेल्ने ठुलो चौर थियो । खेत थियो । तर, सब खत्तम बनायो ।’ जोखिमपूर्ण घरमै बसिरहेका उनीहरूसँग पानी आएमा भागेर ज्यान बचाउनेबाहेक अरू उपाय छैन । ‘शनिबार बिहान हामीले माथितिर भागेर ज्यान बचायौैँ । पानी रोकिएपछि अन्त जाने ठाउँ छैन । यहीँ बसिरहेका छौँ । पानी आयो भने भाग्ने । रोकियो भने फेरि यही आउने हो । के गर्ने सबैतिर त्यस्तै छ,’ उनले भने । भूकम्पले डाँडाको दुईतले घर भत्काएपछि बेँसी झरेका उनीहरूलाई अब यही घरलाई जसोतसो जोगाउन पाए हुन्थ्यो लागेको छ । ‘मेरो घर धरापमै भए पनि घर त बगाए नि ! त्यसैले यो घर बलियो हुने केही गरिदिए हुन्थ्यो । अरू त जसोतसो जीवन चलाउँला नै,’ शान्तिमायाले भनिन् । 

स्थानीय ६२ वर्षीय वीरबहादुर तामाङले अहिलेसम्म नल्लु खोलामा आएको यति ठुलो बाढी देखेका थिएनन् । ०३८ मा आएको बाढी पनि यति ठुलो उनलाई लागेको थिएन । तर, यसपटक खोलाले उनको घरको आधा पाखो नै भत्कायो । बल्लबल्ल बचेको दुईकोठे अर्को घरमा सफा गरेर बुधबारदेखि मात्र उनले भात खान पाएका छन् । ‘दुईवटा भैँसी मर्‍यो । दुईवटालाई बल्लबल्ल उद्धार गरियो । तल्लो घरमा दुई कोठा छ । त्यहीँ सफा गरेर हिजो बेलुकादेखि खाना खान थालेका हौँ । त्यसअघि अरूको घरमा बसेका थियौँ,’ उनले भने । अहिलेसम्म तीनै तहको सरकारले कुनै सहयोग र राहतको व्यवस्था नगरेको उनले बताए । 

नल्लुकै रविन तामाङको घरमाथि पहिला सानो कुलो थियो । बारीको बिचमा केही मात्र घर थियो । तर, अहिले त्यो सबै एकादेशको कथाजस्तो भएको छ । बुधबारसम्म बाढीले घरभित्र पसेको ग्रेगान निकाल्न नसकेका उनी सुरक्षित स्थान खोज्दै बसेका छन् । ‘घरको आधाभन्दा माथिसम्म बाढी पसेको छ । केही बगाएर लग्यो । खोल्दै छु, के–के बाँकी छ भन्न सकिन्न,’ उनले भने, ‘गोठ पुर्‍यो । गाईबाख्रालाई केही भएन ।’ गाउँपालिकाभित्रका धेरै ठाउँमा बिजुलीका पोल ढल्दा गत शुक्रबारदेखि अन्धकारमा बस्न पीडितहरू विवश छन् ।

अवरुद्ध सडक खोल्न माग
कोन्ज्योसोम गाउँपालिकाका अनुसार पालिकाभित्रका धेरैको माग अवरुद्ध सडक खोल्नुपर्ने भन्ने छ । जसकारण निवर्तमान अध्यक्ष गोपीलाल सिङ्तान आफ्नै अगुवाइमा डोजर लगाएर अवरुद्ध सडक खोल्नतर्फ लागेका छन् । ‘अवरुद्ध सडक खोल्ने हो भने धेरै काम गर्न सकिन्थ्यो । त्यसैले केही व्यक्तिहरूसँग पैसा उठाएर डोजर लगाइरहेको छु,’ उनले भने, ‘यहाँ स्थानीय, प्रदेश र केन्द्र सरकार कसैले केही गरेन । कहीँबाट केही भएन । अध्यक्ष पनि फेसबुकमा स्टाटस लेखेर मात्र बस्नुहुन्छ । सडक नखुलाए अरू महामारी आउन पक्का छ ।’ 

तर, गाउँपालिका अध्यक्ष कृष्णमान लामाले भने गाउँपालिकाले भारदेउसम्मको बाटो खुलाएको र शनिबार सर्वदलीय बैठक बसेर राहत वितरण थालिने बताए । ‘गाउँपालिकाको अगुवाइमा भारदेउसम्मको बाटो खुलाइसक्यौँ । अहिले कहाँ कति क्षति पुग्यो भनेर तथ्यांक संकलनको काम गरिरहेका छौँ,’ उनले भने, ‘भोलि (शनिबार) सर्वदलीय बैठक बोलाएको छु । त्यसपछि थप काम हुनेछन् । राहत वितरणको काम हुनेछन् ।’ लामाका अनुसार बाढीपहिरोमा परी गाउँपालिकाभित्र तीनजनाको मृत्यु भएको छ । १५० घर पूर्ण रूपमा क्षति भएका छन् । सय घर आंशिक क्षति, तर बस्न नमिल्ने अवस्थामा छन् । २१ वटा पुल र कल्भर्ट बगाएको छ । जोखिमयुक्त बस्तीको तथ्यांक भने संकलन भइरहेको लामाले बताए ।

महांकाल गाउँपालिकामा भौतिक क्षतिको आँकडा निकाल्ने अवस्था नै छैन
दक्षिण ललितपुरमा पर्ने महांकाल गाउँपालिकामा बाढीपहिरोले १० जनाको मत्यु भयो । तीनजना अझै बेपत्ता छन् । भौतिक क्षतिको विवरण लिन सक्ने अवस्था नै नभएको वडा नम्बर २ का अध्यक्ष जोनीकुमार न्यासुरले बताए । उनका अनुसार स्थानीयहरू रातमा आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । दिनमा भने बचेको पशुचौपायाको हेरचाहमा लाग्ने गरेका छन् । सडक, टेलिफोन र विद्युत् सेवाबाट वञ्चित भएका उनीहरूले बल्लतल्ल खानेपानीको जोहो भने गरेका छन् । ‘यहाँ धेरै समस्या छ । स्थानीय युवाहरू मिलेर दुई सयजति घरलाई अस्थायी रूपमा खानेपानीको व्यवस्था गरेका छन् । तर, त्यो पानी खानका लागि कति उपयुक्त छ भनेर परीक्षण गर्ने अवस्था छैन,’ उनले भने । उनका अनुसार अतिप्रभावितलाई एक चरण राहत बाँडेको गाउँपालिकाले बाटो खुलेपछि थप राहतको व्यवस्था गर्नेछ । ‘पालिकाले विपत् व्यवस्थापन समितिको बैठकसमेत राख्न सकेको छैन । अहिले आफ्नै स्रोतबाट बाटो खुलाउने काम भइरहेको छ । सडक अवरोध खुलाउन पाए थप राहतको व्यवस्था गर्ने अपेक्षा गरेका छौँ,’ वडाध्यक्ष न्यासुरले भने । बाढीपहिरोले महांकालमा करिब पाँच सय रोपनी बारी, एउटा पुल र चारवटा कल्भर्ट बगाएको छ । 

दक्षिण ललितपुरअन्तर्गत पर्ने महांकाल गाउँपालिकाको बुखेल, मानिखेल, गोटिखेल, कालेश्वर, चन्दनपुर, ठुलादुर्लुङ, कोन्ज्योसोम गाउँपालिकाको चौघरे, शंखु, दलचोकी, नल्लु, भारदेउ र बागमती गाउँपालिकाअन्तर्गत घुसेल, माल्टा, भट्टेडाँडा, प्युटार, इकुडोल, आश्राङ, गिम्दीलगायत क्षेत्रमा बाढीका कारण ठुलो मात्रामा धनजनको क्षति भएको छ । बागमती गाउँपालिकामा एकजनाको मृत्यु र एकजना बेपत्ता छन् । बाढीपहिरोले ६ दर्जनभन्दा बढी विद्युत्को पोल बगाएकाले तीनवटै गाउँपालिका अन्धकारमय बनेको छ ।