Skip This
मेक्सिकोमा गोली प्रहारको घटनामा ११ नेपाली घाइते 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १९ शनिबार o७:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेक्सिकोमा गोली प्रहारको घटनामा ११ नेपाली घाइते 

मेक्सिकन सेनाले गोली प्रहार गरेको गाडीमा ११ जना नेपाली सवार रहेको र कोही पनि हताहती नभएको नेपाली राजदुतावासको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार o७:२३:oo

मेक्सिकोको दक्षिणी क्षेत्रमा मेक्सिकन सेनाले गोली प्रहार गरेको गाडीमा ११ जना नेपाली नागरिक सवार रहेको र कोही पनि हताहती नभएको नेपाली राजदुतावासले जानकारी दिएको छ ।

उक्त घटनामा परेर विभिन्न देशका ६ जनाको मृत्यु भएको थियो ।  घटनामा ११ जना नेपाली सामान्य घाइते भएको र उनीहरू हाल मेक्सिकोकाे अध्यागमनको हिरासतमा रहेकाे अमेरिकास्थित नेपाली दुतावासले आज बिहान जारी गरेको सूचनामा जनाइएको छ ।  त्यस गाडीमा विभिन्न देशका ३३ आप्रवासी यात्रारत थिए ।

मेक्सिकोको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार गत मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब २५ माइल (४० किमि) उत्तरमा घटना भएको थियो । 

‘मेक्सिकोको रक्षा मन्त्रालयको विज्ञप्तिअनुसार आप्रवासीहरू इजिप्ट, नेपाल, क्युवा, भारत र पाकिस्तानबाट आएका थिए । मृत्यु हुनेहरू कुन राष्ट्रका हुन् भनेर जानकारी दिइएको छैन,’ बिबिसीको अनलाइन संस्करणमा उल्लेख छ । नेपालीहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । 

मेक्सिकोसँगको कूटनीतिक मामिला हेर्ने अमेरिकास्थित नेपाली राजदूतावासले नेपालीको मृत्यु भएको भन्ने हल्लापछि सम्बन्धित निकायमा औपचारिकरूपमा बुझेको थियो । 

तीव्र गतिमा गुडिरहेको गाडीलाई मेक्सिकन सेनाले रोक्न खोजेको तर आप्रवासीको गाडी नरोकिएपछि गोली चलाइएको थियो। गोली प्रहार गर्ने सैनिकहरू निलम्बनमा परेका छन् । मेक्सिकोबाट अवैध रूपमा आप्रवासीहरू अमेरिका प्रवेश गर्ने गरेका छन् । यसलाई रोक्न अमेरिकाले दबाब दिँदै आएको छ । गोली लागेका चारजनाको घटनास्थलमै र थप दुईजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

नेपालबाट अमेरिका जान ब्राजिल हुँदै लामो रुट प्रयोग हुने गरेको छ । विभिन्न बाटो हुँदै सुरुमा ब्राजिल पुग्ने गरेका नेपाली त्यसपछि पेरु, कोलम्बिया, पनामा, ग्वाटेमाला हुँदै मेक्सिको पुग्ने गरेका छन् । त्यसपछि उनीहरू अवैध रूपमा अमेरिका प्रवेश गर्ने गरेका छन् ।