मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १ शुक्रबार ११:o४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बर्दिया निकुञ्जमा पर्यटक बढे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार ११:o४:oo

चालू आवको सात महिनामा १५ हजारले गरे बर्दिया निकुञ्ज भ्रमण, गत आवको सोही अवधिको तुलनामा ७.१७ प्रतिशतले बढी

बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो समय घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ । निकुञ्जभित्र बाघ, गैँडा तथा हात्तीलगायत जंगली जनावर हेर्न आउने बाह्य तथा आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुँदै गएको निकुञ्जले जनाएको छ ।

चालू आव ०८१/८२ को सात महिना (माघसम्म)मा कुल १४ हजार सात सय ४८ जना पर्यटकले निकुञ्ज प्रवेश गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताए । निकुञ्ज प्रवेश गर्नेममा विदेशी तीन हजार ६ सय नौ, सार्क मुलुकबाट सात सय नौ र आन्तरिक पर्यटक १० हजार चार सय ३० रहेका छन् । गत आवको सोही अवधिमा भने १३ हजार सात सय ६१ जनाले निकुञ्ज भ्रमण गरेका थिए । यो गत आवको सोही अवधिको तुलनामा ७.१७ प्रतिशतले बढी हो । 

यद्यपि, ०८०/८१ मा भने बाह्य तथा आन्तरिक गरी कुल २६ हजार एक सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको पौडेलको भनाइ छ । जसमध्ये विदेशी पर्यटक ६ हजार ६ सय ८४ जना, सार्क राष्ट्रका एक हजार चार सय ३७ र नेपाली १८ हजार १० जना पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जको तथ्यांक छ । त्यस्तै, अघिल्लो आव ०७९/८० मा कुल २४ हजार तीन सय २४ र आव ०७८/७९ मा १६ हजार दुई सय ९७ जनाले निकुञ्ज भ्रमण गरेका हुन् । 

पर्यापर्यटनको दृष्टिकोणले बर्दिया निकुञ्ज महत्वपूर्ण मानिन्छ । निकुञ्जभित्र बाघ, गैँडा, हात्ती, अजिंगर, चित्तल मृग, बाह्रसिङे रतुवा सजिलै देख्न पाइन्छ । यसकारण पनि पर्यटकको रोजाइमा निकुञ्ज पर्न थालेको सूचना अधिकारी पौडेलले बताए । 

सिनियर गाइड हेमन्त आचार्यले निकुञ्जमा तराईका सबैभन्दा ठुला र सजिलै जनावर देख्न सकिने भएकाले बर्दिया आउने पर्यटक बढ्दै गएको बताए । ‘विश्वप्रसिद्ध टाइम म्यागाजिनले सन् २०२४ का लागि तयार पारेको संसारका सय सर्वोत्कृष्ट गन्तव्यको सूचीमा बर्दियाको मधुवन नगरपालिकास्थित ‘बुह्रान वाइल्डरनेस क्याम्प्स’ सूचीकृत छ । यसकारण पनि यस वर्ष विदेशी पर्यटक बढ्ने सम्भावना देखिन्छ,’ उनले भने । 

पछिल्लो समयमा निकुञ्ज घुम्न आउने पर्यटकको संख्या बढ्दै गएपछि कोभिडका कारण ओरालो लागेको होटेल व्यवसायले पनि गति लिन थालेको गैँडा क्याम्पका सञ्चालक रामजी थापाले बताए । 

उनका अनुसार निकुञ्ज घुम्न आउनेमध्ये नेपाली पर्यटकको संख्या धेरै रहेको छ । ‘विदेशी पर्यटकलाई लाग्ने महँगो हवाई भाडाले पनि यहाँ आउने पर्यटकको संख्या कम भएको हो । कम हवाई भाडादर कायम गर्न सके विदेशीको संख्या पनि बढ्ने थियो,’ उनले भने ।