मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
रासस तनहुँ
२o८१ चैत १ शुक्रबार ११:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

Read Time : > 1 मिनेट
रासस, तनहुँ
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार ११:१६:oo

शुक्लागण्डकी नगरपालिका– ९ स्थित तालबेँसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन् । विद्यालयका विद्यार्थी पछिल्लो समय लोकबाजामा आत्मनिर्भर हुन थालेका हुन् । विद्यालयले पछिल्लो समय विद्यार्थीको क्षमतालाई पहिचान गर्दै लोकसंस्कृति संरक्षण गर्ने उद्देश्यले नौमती बाजाको व्यवस्थापन गरेपछि विद्यार्थी उत्साहित भएका छन् । 

कक्षा ६ देखि आठसम्मका विद्यार्थीको सक्रिय सहभागितामा विद्यालयमा तालबेँसी बाजा समूह गठन गरिएको प्रधानाध्यापक ध्रुव वाग्लेले जानकारी दिए। विद्यालयको सांस्कृतिक, शैक्षिक एवं अन्य शुभकार्यमा समेत विद्यार्थीले नौमती बाजा बजाउन थालेको उनले बताए। उनले भने, ‘व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाएपछि विद्यार्थी नौमती बाजा बजाउन सक्ने भएका छन् । विद्यार्थीको प्रतिभा देखेर अभिभावक पनि दंग छन् ।’

कक्षा सातका विद्यार्थी सुकबहादुर विकको संयोजकत्वमा कक्षा सातका विद्यार्थी सुसन सुनार, सिजन विक, कृष्ण सुनार, सुदीप बैदास, निशान थापा र कक्षा आठका विद्यार्थी रुविन बैदास, अर्विन परियार र प्रसुन पौडेल रहेको तालबेँसी बाजा क्लब गठन भएको छ । 

सधैँ किताब मात्र पढ्ने र लेख्ने गर्दा सिर्जनशील हुन नसकेको बताउँदै विद्यालयले बाजा व्यवस्था गरेपछि आफूलाई आवश्यक पर्ने सामान्य कापी, कलम किन्ने खर्च व्यवस्थापनमा सहजता भएको बाजामा संलग्न विद्यार्थी अर्विन परियारले बताए। उनले भने, ‘सानैदेखि वाद्यवादन क्षेत्रमा रमाउने इच्छा विद्यालयले पूरा गराउन खोजेकामा विद्यालयलाई धेरै धन्यवाद दिन चाहन्छु ।’

आफू सानै उमेरमा सिर्जनशील हुन खोजेको बताउँदै वडामार्फत विद्यालयले बाजाको सेट उपलब्ध गराएपछि व्यावसायिकतर्फ अगाडि बढेको समूहका संयोजक सुकबहादुर विकले बताए। 

विद्यालयको सेवा क्षेत्रमा दलित बस्ती बढी भएको र यो क्षेत्रको सम्भावना पनि बाजासँग सम्बन्धित लोकसंस्कृतिको क्षेत्र फराकिलो भएको हुँदा बाजाको कार्यक्रमलाई प्राथमिकता दिइएको शुक्लागण्डकी नगरपालिका– ९ का वडाध्यक्ष धनबहादुर थापाले बताए । 

विद्यार्थी पहिचानको क्षेत्रलाई फराकिलो बनाउँदै विद्यार्थीको आफ्नो क्षमता उजागर गराउन विद्यालय प्रतिबद्ध रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राउतले बताए । उनले विद्यार्थीको क्षमता पहिचान गर्दै व्यावहारिक शिक्षातर्फ विद्यालय अगाडि बढेको उल्लेख गरे।