
गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले पर्साबाट एकजनालाई पक्राउ गरेको छ।
वीरगन्ज महानगरपालिका– २० घर भई सोही महानगरपालिका– ३० लालपर्सा बस्ने १९ वर्षीय धीरज पटेललाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले गत सोमबार पक्राउ गरेको हो।
गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन भइरहेको भन्ने सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा वीरगन्ज– १६ र ३० स्थित घरबाट कल बाइपासमा प्रयोग भएको उपकरणहरूसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनको साथबाट भिओआइपी गेटवे ३२ पोर्टको दुई थान, १८ पोर्टको एक थान, सिम कार्ड १४ थान, राउटर चार थान, ल्यापटप दुई थान, ब्याट्री दुई थान, इन्भर्टर दुई थान, कनेक्टर एक थान, मोबाइल एक थान र पेनड्राइभ एक थान बरामद गरेको छ।
उनीमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।