मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Friday, 14 March, 2025
शिवहरि घिमिरे काठमाडाैं
२o८१ फाल्गुण २९ बिहीबार o६:४९:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

क्याम्पसमा तोडियो सिंहदरबारको गठबन्धन

नेता उत्पादनको ‘नर्सरी’ मानिने स्ववियु निर्वाचनमा ठुला दलनिकट विद्यार्थी संगठनले सिंहदरबारमा रहेको सत्तागठबन्धनका आधारमा होइन, क्याम्पसहरूमा चुनाव जित्न आवश्यकताका आधारमा बनाए समीकरण

Read Time : > 7 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार o६:४९:oo

त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त गरी चार सयहाराहारी क्याम्पसमा ५ चैतमा स्ववियु निर्वाचन हुँदै छ । नेता उत्पादनको ‘नर्सरी’ मानिने स्ववियुको निर्वाचनमा सिंहदरबारकै गठबन्धनका आधारमा निकट विद्यार्थी संगठनले तालमेल गर्ने अनुमान गरिएको थियो । तर, विद्यार्थी संगठनले सिंहदरबारमा रहेको सत्तागठबन्धनका आधारमा होइन, क्याम्पसहरूमा चुनाव जित्न आवश्यकताका आधारमा गठबन्धन गरेका छन् ।

कतिपय क्याम्पसमा कांग्रेसनिकट नेविसंघविरुद्ध एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीलगायत संगठनले गठबन्धन गरेका छन् । कतै अनेरास्ववियुविरुद्ध नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीलगायत संगठनले तालमेल गरेका छन् । कतिपय क्याम्पसमा यस्तो पनि छ जहाँ यी तीनै ठुला संगठनले भागबन्डा गरेर उम्मेदवारी दिएका छन् । कतै–कतै नेविसंघ र अनेरास्ववियु पनि मिलेका छन् । नेविसंघका प्रवक्ता सुरज सेजुवालले संगठनको आवश्यकताका आधारमा कतिपय क्याम्पसमा तालमेल भएको र कतिपयमा निर्विरोध भएको बताए । ‘कतिपय जिल्लामा आवश्यकताका आधारमा गठबन्धन भएको छ, २८ क्याम्पसमा हाम्रो नेतृत्व निर्विरोध निर्वाचित भइसकेको छ,’ उनले भने । देशभर ३८० क्याम्पसमा नेविसंघले उम्मेदवारी दर्ता गराएको सेजुवालले बताए । 

नेविसंघ र अनेरास्ववियुले २५ जिल्लामा तालमेल गरेका छन् । तर, नेविसंघले त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा ताला लगाएकोमा अनेरास्ववियुले विरोध गरेको छ । ‘३२ क्याम्पसमा हामीले निर्विरोध नेतृत्व पाइसकेका छौँ, कतिपय क्याम्पसमा आवश्यकताका आधारमा हामीले अन्य संगठनसँग तालमेल पनि गरेका छौँ,’ अनेरास्ववियुका अध्यक्ष समिक बडालले भने, ‘अहिले त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले ताला लगाएको छ, केन्द्रीय क्याम्पसमै तालाबन्दी हुनु निकै लाजको विषय हो ।’

अनेरास्ववियु क्रान्तिकारीले पनि कतै नेविसंघ, कतै अनेरास्ववियु त कतै अन्य विद्यार्थी संगठनसँग पनि तालमेल गरेको छ । उसले ३७३ क्याम्पसमा उम्मेदवारी दिएको छ । संगठनकी उपाध्यक्ष ममता अधिकारीले आवश्यकताका आधारमा तालमेल गरेको बताइन् । ‘हामीले क्याम्पसहरूमा आवश्यकता हेरेर अरू संगठनसँग तालमेल गरेका छौँ, कतिपय ठाउँमा निर्विरोध पनि भएका छौँ,’ उनले भनिन् ।

एकीकृत समाजवादीनिकट अनेरास्ववियूले अधिकांश क्याम्पसमा वामपन्थी दलनिकट संगठनसँग गठबन्धन गरेको छ । केही क्याम्पसमा नेविसंघसँग पनि गठबन्धन गरेको छ । अनेरास्ववियूका नेता नरेश न्यौपानेले दुई क्याम्पसमा भने सभापति निर्विरोध भएको बताए । उनले भने, ‘हामीले सबैजसो क्याम्पसमा गठबन्धन गरेर उम्मेदवारी दिएका छौँ । गठबन्धनमा हाम्रो प्राथमिकतामा मुख्यतः वामपन्थीनिकट दलका विद्यार्थी संगठन छन्, नेविसंघसँग बाध्यात्मक आवश्यकतालाई हेरेर गठबन्धन गरेका छौँ ।’

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीका अनुसार त्रिविका ६२ आंगिक र ३५० भन्दा बढी सम्बन्धनप्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ । तीन लाख ६० हजार मतदाता छन् । त्रिविमातहत देशभर एक हजार ६० क्याम्पस छन् । निर्वाचनको माग गरेका विद्यार्थी संगठनकै आन्दोलन, विरोध र लफडाका कारण अधिकांश क्याम्पसमा यसपटक पनि निर्वाचन हुन नसकेको उनले बताए ।

‘जसले चुनाव गरौँ भनेको छ, उसैले नै चुनाव भाँडेको अवस्था पनि छ,’ उनले भने, ‘कतिपय क्याम्पसमा वर्षौँदेखि चुनाव भएको छैन, कतिपय क्याम्पस बन्द हुने अवस्थामा रहेकाले चुनाव गर्ने अवस्थै भएन, कतिपयमा विद्यार्थी निकै कम छन्, अलि बढी चलेका क्याम्पसमा बढी राजनीति लाग्छ । विद्यार्थीकै अवरोधका कारण ठाउँ–ठाउँमा समस्या पनि निम्तिएका छन्, चुनाव सम्पन्न गराउन निकै चुनौती छ ।’ हालसम्म आंगिकमध्ये नेविसंघले धनकुटा बहुमुखी क्याम्पस धनकुटा र अनेरास्ववियुले महेन्द्र बहुमुखी क्याम्पस दाङमा सर्वसम्मत नेतृत्व पाएका छन् । 

स्ववियु निर्वाचनका लागि ९ फागुनमा तालिका सार्वजनिक भएको थियो । १९ फागुनमा संघसंगठन समूह दर्ताको मिति तोकेकामा २१ फागुनमा मतदाता सूची प्रकाशित गरिएको थियो । मंगलबार उम्मेदवारको नामावली प्रकाशन भएकामा नाम फिर्ताका लागि बिहीबारसम्मको समय तोकिएको छ । यसअघि ०७९ मा पनि सबै क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । 

आरआर क्याम्पसमा स्वतन्त्र उम्मेदवार कुटिए
हरेक स्ववियु निर्वाचनमा आरआर क्याम्पस विद्यार्थी संगठनहरूको केन्द्रमा रहन्छ । निर्वाचनको माहोल तातिएसँगै बुधबार क्याम्पस हाताभित्रै उम्मेदवार नै कुटिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका दीपक देवकोटामाथि अनेरास्ववियुका नीराजन भट्ट नेतृत्वको समूहले आक्रमण गरेको हो । 

चार क्याम्पसमा विद्युतीय मतदानको व्यवस्था
स्ववियु निर्वाचनमा उपत्यकाका चार क्याम्पसमा विद्युतीय मतदान गर्ने तयारी छ । केन्द्रीय क्याम्पस कीर्तिपुर, पुल्चोक इन्जिनियरिङ, पाटन संयुक्त र थापाथली इन्जिनियरिङमा विद्युतीय मतदान हुने तय भएको हो । यी क्याम्पसमा रामलक्ष्मण इनोभेसनले विद्युतीय मतदानको व्यवस्थापन गर्ने जनाएको छ । रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालले धेरै क्याम्पसबाट अनुरोध आए पनि जनशक्ति र सीमित विद्युतीय मतदान मेसिनका कारण सम्भव नभएको बताए । उनले मतदान सम्पन्न भएको आधा घण्टामै परिणाम निकाल्न सकिने जानकारी दिए । ‘हामीलाई सयौँ क्याम्पसबाट स्ववियु निर्वाचनमा विद्युतीय मतदानका लागि अनुरोध आएको थियो । तर, हामीसँगको सीमित स्रोत र संवेदनशीलताका कारण उपत्यकाका चार क्याम्पसमा मात्रै विद्युतीय मतदानमार्फत निर्वाचनको व्यवस्थापन गर्न लागेका छौँ,’ उनले भने । 

तीन ठुला संगठनकै गठबन्धन !
सत्तागठबन्धनमा कांग्रेस र एमाले रहँदा माओवादी प्रतिपक्षमा छ । तर, स्ववियु निर्वाचनमा केही क्याम्पसमा तीनै दलनिकट विद्यार्थी संगठनको गठबन्धन छ । काभ्रेका १६ क्याम्पस तीन संगठनले भाग लगाएका छन् । अनेरास्ववियुले ६ तथा नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले पाँच–पाँच क्याम्पस लिने गरी गठबन्धन गरेका हुन् ।

कतिपय क्याम्पसमा दुई संगठन मिलेका छन् । जनप्रशासन क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारी र नेविसंघको गठबन्धन छ । क्रान्तिकारीले अध्यक्ष र नेविसंघले सचिव लिने सहमति छ । त्यस्तै, भक्तपुरको सानोठिमी क्याम्पसमा पनि नेविसंघले अध्यक्ष र क्रान्तिकारीले सचिवमा भागबन्डा गरेका छन् । धनकुटा बहुमुखी क्याम्पस र दाङको महेन्द्र बहुमुखी क्याम्पसमा भने नेविसंघ र अनेरास्ववियुले भागबन्डा गरेका छन् । भागबन्डामा यी क्याम्पसमा उनीहरूले सर्वसम्मत नेतृत्व चयन गरिसकेका छन् । 

१२ आंगिक क्याम्पसमा १४ वर्षपछि बल्ल निर्वाचन हुँदै
त्रिविका ६२ आंगिक क्याम्पस छन् । यीमध्ये १२ क्याम्पसमा १४ वर्षपछि बल्ल निर्वाचन हुँदै छ । उपत्यकाभित्रका त्रिचन्द्र, विश्वभाषा, नेपाल कमर्स, आरआर तथा उपत्यकाबाहिर चितवनका वीरेन्द्र बहुमुखी र इन्जिनियरिङ क्याम्पस, वीरगन्जको ठाकुरराम बहुमुखी, पोखराका पृथ्वीनारायण, पश्चिमाञ्चल इन्जिनियरिङ र वन विज्ञान अध्ययन संस्थान वन क्याम्पसमा ०६७ यता निर्वाचन हुन सकेको थिएन । त्यस्तै, कञ्चनपुरको सिद्धनाथ क्याम्पस र डोटीको डोटी क्याम्पसमा पनि ०६७ पछि बल्ल निर्वाचन हुन लागेको हो । ०६७ पछि ०७९ मा स्ववियु निर्वाचन भएको थियो । त्यतिवेला ५० आंगिक क्याम्पसमा मात्रै निर्वाचन भएको थियो ।

नेविसंघ र अनेरास्ववियुमा बागी उम्मेदवारको त्रास
स्ववियु निर्वाचनमा बागी उम्मेदवारले ठुला संगठनलाई तर्साएको छ । आफूले टिकट नपाएपछि विद्यार्थी नेताहरूले विद्रोह गर्दै बागी उम्मेदवारी दर्ता गराएका छन् । नेविसंघबाट त्रिचन्द्र, थापाथली र त्रिवि केन्द्रीय क्याम्पसमा बागी उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, काठमाडौंबाहिर १५ भन्दा धेरै क्याम्पसमा नेविसंघबाट बागी उम्मेदवार छन् । प्रवक्ता सुरज सेजुवालले बागी उम्मेदवारी फिर्ता गराउन छलफल भइरहेको बताए । निर्वाचन तालिकाअनुसार बिहीबारसम्म उम्मेदवारी फिर्ता लिन पाइन्छ । ‘त्रिवि केन्द्रीय क्याम्पसमा हाम्रो संगठनकै बागी पक्षले ताला लगाएको छ, तर विवाद मिल्छ,’ उनले भने, ‘स्ववियु निर्वाचन निर्देशिका कमजोर र छिद्र हुँदा विवाद भएको हो ।’

त्यस्तै, अनेरास्ववियुबाट पनि त्रिवि केन्द्रीय क्याम्पससहित आरआर, पाटन, पुल्चोक, मीनभवनलगायतमा बागी उम्मेदवार छन् । अध्यक्ष समिक बडालका अनुसार उपत्यकाबाहिर पनि १५–२० क्याम्पसमा बागी उम्मेदवारी परेको छ । ‘पार्टी नै छाडेर जानेलाई केही भन्न सकिँदैन, सकेसम्म मिलाउने प्रयास छ,’ उनले भने । 
अखिल क्रान्तिकारीमा भने बागी खासै छैनन् । आरआरमा बागी उम्मेदवारी परेकामा बुधबार मिलिसकेको संगठनका नेताहरूले बताए । त्यस्तै, एकीकृत समाजवादीनिकट अनेरास्ववियूबाट पनि कुनै क्याम्पसमा बागी उम्मेदवारी परेको छैन । 

काठमाडौं बाहिरका क्याम्पसमा पनि लफडा
सुर्खेत क्याम्पसमा चुनावका कार्यक्रम स्थगित : सुर्खेतको वीरेन्द्रनगरमा रहेको सुर्खेत बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित भएको छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले एकलौटी निर्णय गरेको भन्दै अनेरास्ववियुले बुधबार साँझ क्याम्पसमा तोडफोड गरेपछि निर्वाचन अधिकृत प्रेम थापाले सूचना जारी गर्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगितको घोषणा गरेका हुन् । ‘विवाद समाधान गरेर निर्वाचन गतिविधि अगाडि बढाउने खोज्दा पनि विद्यार्थीले नाराबाजी गर्दै क्याम्पसमा तोडफोड गरेकाले असहज परिस्थिति सिर्जना भई शान्ति सुरक्षा एवं सार्वजनिक सम्पत्तिको क्षतिलाई मध्यनजर गर्दै अर्काे सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

भैरहवा र बुटवल क्याम्पसमा निर्वाचन समितिको कार्यकक्षमा ताला
रुपन्देहीका दुई ठूला क्याम्पस बुटवल र भैरहवा बहुमुखी क्याम्पसमा पनि तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । पाँच विद्यार्थी संगठनले १८ फागुनमा निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेका थिए । क्याम्पसमा तोडफोड पनि भएको थियो । त्यस्तै, क्याम्पस प्रशासन र निर्वाचन समितिले अपरदर्शी रूपमा मतदाता नामावली प्रकाशन गरेको भन्दै सात विद्यार्थी संगठनले २५ फागुनमा बुटवल क्याम्पस, निर्वाचन समितिको कार्यालयमा ताला लगाएका थिए । यहाँ पनि निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

नेविसंघको गुटगत झगडाले मोरङ क्याम्पसमा सुरक्षा चुनौती,तोडफोड र आगजनीको आरोपमा चार विद्यार्थी पक्राउ 
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको आन्तरिक झगडाले सुरक्षा चुनौती बढेको छ । मोरङ क्याम्पसमा नेविसंघको संस्थापन र इतर पक्षबिच आधिकारिक उम्मेदवारीको विषयलाई लिएर विवाद भएको हो । नेविसंघबाट आफूलाई आधिकारिक दाबी गर्दै सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका विद्यार्थीले अलग–अलग प्यानल खडा गरी उम्मेदवारी दर्ता गराएका थिए । तर, निर्वाचन समितिले कोइराला पक्षलाई स्वतन्त्र उम्मेदवारका रूपमा मान्यता दिएपछि कोइराला पक्षका विद्यार्थी आक्रोशित बन्दै तोडफोडमा उत्रिएका छन् । स्ववियु निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षबाट प्रज्वलजंग विष्ट र कोइराला पक्षबाट योगराज दाहालको प्यानलले अलग–अलग उम्मेदवारी दिएका थिए । 

प्रहरीले बुधबार क्याम्पसको निर्वाचन कार्यालय तोडफोड र आगजनीको आरोपमा नेविसंघ कोइराला पक्षका चार विद्यार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका– २ घर भई विराटनगर बस्दै आएका नेविसंघ केन्द्रीय सदस्य २६ वर्षीय योगराज दाहाल, विराटनगर महानगरपालिका– ४ का २० वर्षीय आयुश दाहाल, बुढीगंगा गाउँपालिका– २ का ३० वर्षीय नेविसंघ मोरङ सचिव गुड्डु साह र बुढीगंगा गाउँपालिका– २ की २६ वर्षीया नेविसंघ केन्द्रीय सदस्य पूजा विश्वास छन् । उनीहरूले बुधबार दिउँसो आफ्नो प्यानललाई आधिकारिक मान्यता नदिएको भन्दै क्याम्पसमा स्थापना गरिएको निर्वाचन कार्यालयमा तोडफोड गर्दै आगजनीको प्रयास गर्दै कर्मचारीलाई भित्रै थुनेर तालाबन्दी गरेका थिए । प्रहरीले क्याम्पसमा प्रवेश गरेर ताला फुटाएर भित्र थुनिएका कर्मचारीको उद्धार गरेको थियो । आगजनी प्रयासबाट निर्वाचन कार्यालयका केही कागजातमा क्षति पुगेको थियो । निर्वाचन अधिकृत डा. सुशीलकुमार अधिकारीले स्ववियु निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन सबै विद्यार्थी संगठनलाई आचारसंहिता पालना गर्न उनले आग्रह गरेका छन् ।

८३ क्याम्पसमा नेतृत्व निर्विरोध
अनेरास्ववियु ३२, नेविसंघ २८, अनेरास्ववियु क्रान्तिकारी २१ र एकीकृत समाजवादीनिकट अनेरास्ववियू २
तीन ठुला संगठनकै गठबन्धन !
काभ्रेका १६ क्याम्पस तीन संगठनले भाग लगाएका छन् । अनेरास्ववियुले ६ तथा नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले ५–५ क्याम्पस लिने सहमति गरेका हुन् ।

 १२ आंगिक क्याम्पसमा १४ वर्षपछि बल्ल निर्वाचन हुँदै
उपत्यकाभित्रका त्रिचन्द्र, विश्वभाषा, नेपाल कमर्श, आरआर तथा उपत्यकाबाहिर चितवनका वीरेन्द्र बहुमुखी र इन्जिनियरिङ क्याम्पस, वीरगन्जको ठाकुरराम बहुमुखी, पोखराका पृथ्वीनारायण, पश्चिमाञ्चल इन्जिनियरिङ र वन विज्ञान अध्ययन संस्थान, कञ्चनपुरको सिद्धनाथ क्याम्पस र डोटीको डोटी क्याम्पसमा ०६७ पछि निर्वाचन हुन सकेको थिएन ।

चार क्याम्पसमा विद्युतीय मतदान
स्ववियु निर्वाचनमा केन्द्रीय क्याम्पस कीर्तिपुर, पुल्चोक इन्जिनियरिङ, पाटन संयुक्त र थापाथली इन्जिनियरिङमा विद्युतीय मतदान हुने तय भएको छ ।
कीर्तिपुर केन्द्रीय क्याम्पससहित उपत्यकाका यी ठुला क्याम्पसमा निर्वाचन नै अन्योलमा
काठमाडौंबाहिरका क्याम्पसमा पनि लफडा

स्ववियु निर्वाचनको सरगर्मी बढिरहँदा विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमै चुनाव हुने/नहुने अन्योल छ । केन्द्रीय क्याम्पस मात्रै होइन, काठमाडौंकै अन्य ६ ठुला क्याम्पसहरू शंकरदेव, कोटेश्वर बहुमुखी, सरस्वती बहुमुखी, पब्लिक युथ, विश्वभाषा र थापाथली इन्जिनियरिङमा पनि विभिन्न विवादले निर्वाचन अन्योलमा छ । मंगलबार मनोनयन दर्ता भएको नाम फिर्ता गर्ने समय बिहीबारका लागि तोकिएको छ । बिहीबारसम्म समस्या नसल्टिए यी क्याम्पसमा निर्वाचन नै नहुने जोखिम छ । 

  •  त्रिवि केन्द्रीय क्याम्पस– नेविसंघका बागी उम्मेदवारहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेपछि समस्या जटिल बनेको छ । नेविसंघले आधिकारिक रूपमा दीपक जोशीलाई उम्मेदवार बनायो । तर, जोशीको उम्मेदवारीविरुद्ध नरेन्द्र साउद, सनम ओली, पद्मा भुसाल, पदम दाहाललगायतले पनि उम्मेदवारी दिएका छन् । बागी उम्मेदवार धेरै भएपछि यहाँ विवाद मिलाउन कठिन छ । 
  •  शंकरदेव– स्ववियु निर्वाचनमा चासो साथ हेरिने शंकरदेव क्याम्पसमा पनि मनोनयन प्रक्रिया नै अघि बढेको छैन । स्नातक तहमा विद्यार्थी भर्ना गर्दा नियम मिचेको भन्दै नेविसंघले अवरोध गरेको छ । यही विवादलाई लिएर मंगलबार क्याम्पसमा कुर्सी तोडफोडसमेत गरेका छन् । 
  •  कोटेश्वर बहुमुखी– यो क्याम्पसमा पनि मनोनयन प्रक्रिया अघि बढेको छैन । विद्यार्थी भर्ना र मतदाता संख्याका विषयमा विवाद भएपछि निर्वाचन समितिका संयोजक सुरेश पोखरेलले नै राजीनामा दिएका छन् । 
  •  सरस्वती बहुमुखी– लैनचौरमा रहेको सरस्वती बहुमुखी क्याम्पसमा पनि चुनावी प्रक्रिया अवरोध छ । एकीकृत समाजवादीनिकट अनेरास्ववियूले मतदाता र उम्मेदवारी दर्ता समयमै नआएको भन्दै अवरोध गरेको हो । हाल निर्वाचन समितिले नै यहाँ मनोनयन प्रक्रिया रोकेको छ ।
  •  पब्लिक युथ– पब्लिक युथ क्याम्पसमा अखिल क्रान्तिकारीले अवरोध गरेको छ । नेविसंघ र अनेरास्ववियुले नक्कली मतदाता खडा गरेको भन्दै उसले क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया रोकिएको छ । 
  •  विश्वभाषा– विश्वभाषा क्याम्पसमा पनि अखिल क्रान्तिकारी र नेविसंघबिचको विवादका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । यहाँ निर्वाचन समितिले स्थिति असामान्य भएको भन्दै निर्वाचन प्रक्रिया रोकेको छ ।
  •  थापाथली इन्जिनियरिङ– यो क्याम्पसमा उम्मेदवारी दर्ता गराउने समय मंगलबार दुई बजेसम्म तोकिएको थियो । तर, अन्य क्याम्पसमा ४ बजेसम्म तोकिएको थियो । अखिल क्रान्तिकारीले उम्मेदवारी दर्ता गर्न नपाएको भन्दै अवरोध गरिरहेको छ ।