१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
२o८१ असोज १५ मंगलबार o६:२९:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बिपी राजमार्ग दसैँअघि नखुल्ने

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार o६:२९:oo

काठमाडौंसँग पूर्वको दूरी छोट्याउने बिपी राजमार्गका विभिन्न ठाउँमा दुई किलोमिटर सडक नामोनिसाना नरहने गरी कटान हुँदा कोशी र मधेशका जिल्लाको यातायात प्रभावित 

तीन दिनको वर्षापछिको बाढीपहिरोले सबैभन्दा बढी प्रभावित भएको बिपी राजमार्गमा दुई हजार ५० मिटर सडकखण्ड बगाएको छ । रोशीदेखि नेपालथोकसम्मको खण्डमा विभिन्न ठाउँमा पहिरोले सडक बगाएको हो ।

रोशीदेखि नेपालथोकसम्मको सडकखण्ड करिब ३० किलोमिटर छ । त्यसमध्ये दुई हजार ५० मिटर सडकखण्डको कुनै नामोनिसाना छैन । यो अद्यावधिक तथ्यांक हो । यसअघि आइतबारको तथ्यांकमा त्यहाँ १४ सय मिटर सडक बाढीले बगाएको भनिएको थियो । सडक विभागका सम्भार महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले दुई किलोमिटरभन्दा बढी सडक बगाएको ठाउँमा ट्रयाक नै नयाँ खोल्नुपर्ने भएकाले दसैँअघि बिपी राजमार्ग सञ्चालन सम्भव नरहेको बताए । ‘बिपी राजमार्गमा यातायात सञ्चालनका लागि आवश्यक काम भइरहेको छ । मौसमले साथ दिएको अवस्थामा मंगलबार भकुन्डेबेँसी–रोशी खण्डको अवरोध हटाउनेछौँ । बर्दीबासदेखि नेपालथोकसम्मको सडक त आइतबार नै खुला भइसकेको छ । धुलिखेल–भकुन्डेबेँसी पनि सोमबार साँझदेखि सञ्चालनमा आएको छ । तर, रोशी–नेपालथोक खण्डमा दुई हजार ५० मिटर सडकको नामोनिसाना नै नभएकाले दसैँअघि सञ्चालनमा ल्याउन सम्भव देखिँदैन,’ उनले भने, ‘त्यहाँ यातायात सञ्चालन गर्न नयाँ ट्र्याक नै खोल्नुपर्छ । तर, पछिल्लो वस्तु परिस्थितिअनुसार दसैँअघि नयाँ ट्र्याक खोल्न चुनौती छ । तिहारसम्म ट्र्याक खोलेर यातायात सञ्चालन गर्न सकिन्छ कि भन्ने आशा छ । सडक नै पुनस्र्थापना गर्नुपर्ने भएकाले थप बजेट व्यवस्थापन गरी खरिद प्रक्रिया अघि बढाएर काम गर्नुपर्छ ।’ सडक पुनस्र्थापनामा कति बजेट आवश्यक पर्छ भनेर पनि अहिले यकिन नभएको उनले बताए ।

नेपाल प्रहरीबाट प्राप्त तथ्यांकअनुसार कालढुंगा र डालाबेँसी खण्डमा पाँच–पाँच सय मिटर, चिउरीवास खण्डमा तीन सय मिटर, एक नम्बर पुल परिसरमा २५० मिटर, नार्कबजारमा १५० मिटर, चौकीडाँडामा १०० मिटर, दाउन्नेमा १०० मिटर, माम्ती खोलामा १०० मिटर र चारसय बेँसीमा ५० मिटर सडक बाढीले बगाएको छ । रोशी खोलाको पुल पनि बाढीले बगाएको छ ।

दुई हजार ५० मिटरको ट्र्याकसमेत नरहेको रोशी–नेपालथोक खण्डको दूरी ३० किलोमिटर छ । त्यहाँ अहिलेसम्म निर्माण सामग्री तथा मेसिन पु¥याउन नसकिएको उपमहानिर्देशक अर्यालले बताए । तत्काल अवरुद्ध सडक खुलाउने र सडक पुनस्र्थापना गर्ने विषयमा विस्तृत रूपमै अध्ययन गर्नुपर्ने उनको भनाइ छ । यो खण्ड रोशी खोलाको किनारमा छ । रोशी खोलाको छेउबाट ‘पर्खाल’ उठाएर र कम मात्रामा भित्ता कटान गरेर उक्त सडक बनाइएको थियो । अहिले रोशी खोलामा अनपेक्षित बाढी आउँदा किनारमा पर्ने विभिन्न सडकखण्ड बगेको हो ।

‘त्यहाँ नयाँ ट्र्याक खोल्न भित्ता कटान गर्नुुपर्ने हुन्छ । साथै, रोशी खोलाको बगरमा पनि सडक बनाउनुपर्ने हुन सक्छ । तर, त्यसका लागि एकपटक विस्तृत रूपमा अध्ययन गर्नुपर्ने हुन्छ,’ अर्यालले भने । अझै पनि रोशी खोलामा पानीको बहाव सामान्य अवस्थामा आइसकेको छैन । पानी कम भएको अवस्थामा त्यहाँ बगरमै वैकल्पिक मार्ग बनाउन सकिन्छ । तर, त्यसका लागि खोलामा पानी नै घट्नुपर्ने उनले बताए । 

१६० किलोमिटर लामो बिपी राजमार्ग जापानी सहयोग नियोग (जाइका)को सहयोगमा बनेको थियो । २६ अर्ब रुपैयाँ हाराहारीको लागतमा जापानले ०५२ देखि निर्माण सुरु गरेको यो सडक ०७२ मा तयार भएको थियो । त्यहाँको भौगोलिक अवस्थाअनुसार इन्जिनियरिङ डिजाइन गरेर यो सडक बनाइएको थियो । 

अझै ४५ सडकखण्ड अवरुद्ध 
सडक विभागको तथ्यांकअनुसार सोमबार राति १० बजेसम्म विभिन्न सडकका ४५ खण्ड अवरुद्ध छन् । ४०९ सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा छन् । तमोर करिडोर, कान्ति लोकपथ, बिपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, भेरी करिडोर, भेडेटार–राँके सडक, ठोरी–भण्डरा–मलेखु, गल्छी–त्रिशूली–रसुवागढी, तानसेन–रिडी–कोरलालगायतका सडकका विभिन्न खण्ड अवरुद्ध छन् ।

दक्षिणकाली–हेटौँडा खण्डको सिस्नेरीमा चार सय मिटर सडक बगायो 
काठमाडौं–हेटौँडा जोड्ने कुलेखानी–सिस्नेरी–छैमले सडकको सिस्नेरी खण्डमा चार सय मिटर सडक बगाउँदा पूर्ण रूपमा अवरुद्ध छ । यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले उक्त सडक तत्काल सञ्चालन गर्न नसकिने बताए । ‘हामी त्यहाँ पुग्न नै सकेको छैनौँ । झन्डै चार सय मिटर सडक बगाएको जानकारी आएको छ,’ उनले भने, ‘उक्त सडक तत्काल सञ्चालन गर्न चुनौती छ । तसर्थ, हामी हेटौँडा–कुलेखानी–फाखेल हुँदै काठमाडौं जाने सडक सञ्चालन गर्ने तयारीमा छौँ ।’ 

हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी–फाखेल सडकको पनि महालक्ष्मी खोलामा ७० मिटर सडक कटान गरेको छ । कुलेखानी पुलसँगैको ५० मिटर सडक पनि क्षतिग्रस्त छ । 

पृथ्वी राजमार्गको गजुरीमा सुक्खा पहिरो, सडक पूर्ण अवरुद्ध
आइतबार साँझदेखि खुलाइएको पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं खण्ड सोमबार साँझदेखि फेरि पूर्ण रूपमा अवरुद्ध भएको छ । धादिङको गजुरी– २ परेवाभिरमा साढे सात बजेतिर सडकमाथिबाट सुक्खा पहिरो खसेको हो । धादिङ प्रहरीका अनुसार रातभर पहिरो पन्छाउन नसकिने भएकाले सवारीचालकहरूलाई आ–आफ्ना सवारी सुरक्षित स्थानमा राख्न भनिएको छ । यसअघि झ्याप्ले खोलामा गएको पहिरोले शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको थियो । 

कान्ति लोकपथको अवरोध कायमै
हटौँडा र काठमाडौं जोड्ने कान्ति लोकपथ भने अझै सञ्चालनमा आउन सकेको छैन । मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा खसेको पहिरो पन्छाउन नसक्दा सडक बन्द भएको हो । अवरोध पन्छाउने काम भइरहेकाले बुधबारसम्म पूर्ण रूपमा सञ्चालनमा आउने विभागले जनाएको छ । पानी पर्न रोकिएसँगै सडक विभाग, नेपाल प्रहरी र स्थानीय पालिकाहरूसँगको सहकार्यमा अवरुद्ध सडकबाट पहिरो पन्छाउने काम चलिरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए । 

अरनिको राजमार्ग पनि तत्काल नखुल्ने
तातोपानी नाका जोडिएको अरनिको राजमार्ग पनि तत्काल नखुल्ने भएको छ । हाल लार्चा पुलसम्म यातायात खुला भए पनि त्यहाँबाट तातोपानीतर्फ दुई पुल (लार्चा र लिपिङ) बगाएको छ । त्यहाँ नयाँ पुल नै पुनस्र्थापना गर्नुपर्ने भएकाले राजमार्ग पूर्ण रूपमा खुल्न समय लाग्ने सडक विभागको रिपोर्टमा उल्लेख छ ।

देशभर साढे २१ किलोमिटर सडक क्षतिग्रस्त, सात पुल बगायो
दुई पहिरो र बाढीले देशभर गरेर साढे २१ किलोमिटर सडक क्षतिग्रस्त भएको सडक विभागको तथ्यांक छ । त्यस्तै, बाढीले सात पुल बगाएको छ, जसमा दुई बेलिब्रिज छन् । सुनकोशी नदीले मात्रै तीन पुल बगाएको छ । सुनकोशीमा रहेको खुर्कोट, सिन्दुरेटार र फोक्सिङटार पुल बगाएको हो । त्यस्तै, अरनिको राजमार्गको लिपिङ र लार्चा पुल बगाएको छ । लार्चाको पुल बेलिब्रिज हो । इलाम माईपोखरी सडकको रातेखोला पुल र पाँचथर हेवा खोलाको बेलिब्रिज पनि बगाएको छ । 

राष्ट्रिय स्तरका सडक र पुलमा मात्रै दुई अर्ब ५२ करोडको क्षति 
पछिल्लो बाढीपहिरोले सडक र पुलतर्फ दुई अर्ब ५२ करोड ५० लाख रुपैयाँबराबरको क्षति पुगेको छ । सडक विभागका अनुसार सडकतर्फ एक अर्ब ५० करोड ५० लाख रुपैयाँको क्षति भएको छ । त्यस्तै बेलिब्रिजतर्फ २० करोड र पुलतर्फ ८२ करोड रुपैयाँको क्षति भएको छ । तर, पुनर्निर्माणमा योभन्दा धेरै बजेट खर्च हुने विभागको अनुमान छ । यो राष्ट्रिय स्तरका राजमार्गमा भएको क्षति मात्रै हो । 

बगर बने सलादु र पाटीखर्क : घरखेत नै बगेपछि पीडितहरू विस्थापित हुँदै

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

लगातारको वर्षापछिको बाढीपहिरोबाट काभ्रेको बेथानचोक गाउँपालिका– ४ का सलादु र पाटीखर्क बस्ती नै विस्थापित भएका छन् । बाढीमा घरसँगै अन्नपात, लत्ताकपडा मात्रै बगेनन्, घरखेत नै बगरमा परिणत गरिदिएपछि स्थानीयहरू थातथलो छाडेर पनौती बजारतर्फ हिँडेका छन् । काभ्रेमा बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार घाइतेको संख्या ५२ पुगेको छ भने अझै चारजना बेपत्ता छन् ।  बाढीपहिरोका कारण जिल्लाभर अलपत्र परेका तीन हजार ७२५ जनाको उद्धार भएको छ । जसमा हेलिकोप्टरबाट ४५१ र अन्य माध्यमबाट तीन हजार २७४ को उद्धार भएको छ ।

बिपीको क्षतिग्रस्त सडक पुनर्स्थापना नै गर्नुपर्छ, जुन तत्काल सम्भव छैन : अर्जुनप्रसाद अर्याल उपमहानिर्देशक, सडक विभाग

बिपी राजमार्गमा यातायात सञ्चालनका लागि आवश्यक काम भइरहेको छ । मौसमले साथ दिएको अवस्थामा मंगलबार भकुन्डेबेँसी–रोशी खण्डको अवरोध हटाउनेछौँ । बर्दीबासदेखि नेपालथोकसम्मको सडक त आइतबार नै खुला भइसकेको छ । धुलिखेल–भकुन्डेबेँसी पनि सोमबार साँझदेखि सञ्चालनमा आएको छ । तर, रोशी–नेपालथोक खण्डमा दुई हजार ५० मिटर सडकको नामोनिसाना नै नभएकाले दसैँअघि सञ्चालनमा ल्याउन सम्भव देखिँदैन । त्यहाँ यातायात सञ्चालन गर्न नयाँ ट्र्याक नै खोल्नुपर्छ । तर, पछिल्लो वस्तु परिस्थितिअनुसार दसैँअघि नयाँ ट्रयाक खोल्न चुनौती छ । तिहारसम्म ट्र्याक खोलेर यातायात सञ्चालन गर्न सकिन्छ कि भन्ने आशा छ । सडक नै पुनस्र्थापना गर्नुपर्ने भएकाले थप बजेट व्यवस्थापन गरी खरिद प्रक्रिया अघि बढाएर काम गर्नुपर्छ ।