Skip This
पनौतीका बाढीपीडित भन्छन्– क्रसर र खानीले उठीवास भयो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १९ शनिबार
  • Saturday, 05 October, 2024
२o८१ असोज १९ शनिबार o६:१o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पनौतीका बाढीपीडित भन्छन्– क्रसर र खानीले उठीवास भयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १९ शनिबार o६:१o:oo

हालैको अविरल वर्षापछिको बाढीपहिरोले बगर बनाएको काभ्रेको पनौती नगरपालिका– १२ भूमिडाँडा रोशी बजारमा रहेका कुनै घर आधा ढल्केका छन् । कुनै घर खोलामा लडिरहेका छन् भने कुनै घरको भग्नावशेष मात्र बाँकी छ । बजारको बिचमा रोशी खोला बगिरहेको थियो । खोलालाई फर्काउन केही दिनयता हेभी इक्विपमेन्ट मेसिन चलिरहेका छन् ।

मेसिनले ठुल्ठुला ढुंगालाई उचालेर खोला बस्तीबाट फर्काउँदै गर्दा निस्केको ठूलो आवाजको पर्वाह नगरी करिब ४५ वर्षीय डिलबहादुर तामाङ बाढीले बगाएर ठुटोमा अल्झेका कपडा सुमसुम्याउँथे । कहिले नजिकैको आधी मात्र निस्किएको झ्यालको ग्रिल सुमसुम्याउन पुग्थे । कतिवेला बाढीले बगाएको घरको जगमा बसेर उनी बिलौना गर्थे । 

तामाङको दुईतले पक्की घर जगैसम्म बाढीले बगायो । पाँचजनाको परिवार थियो । घर बगायो, तर मानिसलाई केही भएन । अहिले घर भएको ठाउँ बगरमा परिणत भएको छ । ‘दुई तलाको घर थियो । बाढीले जगैसम्म बगायो । धन्न माथिबाट फोन आएकाले भागेर बाच्यौँ,’ उनले भने, ‘हामीलाई केही भएन, तर घरबाट एक गेडा अन्न, सुन, पैसा केही निकाल्न पाएनौँ । अहिले केही छैन हाम्रो । परिवारलाई बनेपा लगेर राखेको छु । म छिमेकीको घरमा बसेको छु ।’

पनौती– १२ को वडा कार्यालयनजिकै राहतको आसमा बसिरहेका थिए हरिसुन्दर मुल्मी । मानवीय क्षति नभए पनि पशुपन्छी र घर बगाएको छ । बाढी आउँदा घरबाट केही निकाल्न नपाएको उनी बताउँछन् । ‘खानी र क्रसरकै कारणले हाम्रो उठीवास लाग्यो । यो क्षतिपूर्ति सरकारले दिने हो कि खानी क्रसरले दिने हो,’ उनले भने ।

अर्का पीडित हरि मुल्मीले खानी र क्रसरले जथाभावी डस्ट र ग्राबेल थुपारेका कारण बाढी बस्तीमा पसेर विध्वंश गरेको बताए । ‘खानी र क्रसरले जथाभावी ग्राबेल थुपारेको थियो । खोला बढेर आउँदा त्यसलाई पनि बगाएर ल्यायो र खोला पुरिएर माथि आई बस्तीमा छिरेकाले धेरै क्षति हुन पुग्यो,’ उनले भने, ‘खानी र क्रसरले थुपारेको ग्राबेल र ढुंगा बगाएर ल्याउँदा भित्तामा ठक्कर खाई थर्काएर पाखा खस्यो र घरहरू भत्कियो ।’

हरिसुन्दर, हरिजस्तै त्यहाँका अधिकांश स्थानीय खानी र क्रसरप्रति आक्रोशित छन् । खानी र क्रसरले गर्दा नै यति धेरै नोक्सानी व्यहोर्नुपरेको उनीहरूको भनाइ छ । सुदर्शन नगरकोटीको पनि उस्तै छ व्यथा । उनले पनि दुईवटा गाई बाहेक केही निकाल्न पाएनन् । उनको परिवार अहिले छिमेकीको शरणमा आश्रय लिएर बसेको छ ।

भूमिडाँडा क्षेत्रमा कोहिनुर, भालेश्वर, कुहिनुर, क्रिस्टल, काष्ठमाण्डप, रुसीखानी, डायमन्ड गरी सात–आठवटा क्रसर छन् । त्यही खानी क्रसरको थर्काइ र खोलाको किनारमा खसालेको डस्टले गर्दा बाढीले बढी क्षति पु¥याएको उनीहरूको भनाइ छ । 

बाढीपहिरोले सबैभन्दा बढी वडा नम्बर १२ प्रभावित भएको पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बताए । करिब तीन सय घर पूर्ण रूपमा क्षति भएको र त्यति नै हाराहारीमा आंशिक क्षति भएको उनको भनाइ छ । के कारणले रोशी खोलाआसपास यत्तिका क्षति भयो भनेर अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । रोशीको शिरमा अझै पुग्न नसकेकाले त्यहाँ पुगेर अवलोकन गरेपछि मात्र कारण थाहा हुने भण्डारी बताउँछन् । छिमेकीको घरमा आश्रय लिएर दयनीय अवस्थामा बसेका बाढीपीडितलाई तत्काल खाद्यान्न उपलब्ध गराएको उनले बताए ।

पनौती नगरपालिकाकी उपमेयर गीता बञ्जराले बाढीपहिरोले चारजना नेपाली र एकजना विदेशी नागरिकको मृत्यु भएको बताइन् । टिपर र गाडीहरू बगाएकाले अझ धेरैको मृत्यु भएको हुन सक्ने उनको भनाइ छ । हालसम्म प्रारम्भिक क्षतिको विवरण मात्र आएकाले थप खोजबिनमा लाग्ने उनले बताइन् ।