१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १४ सोमबार o७:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिन्धुलीखण्डमा एम्बुलेन्स र गाडीमै बिरामीको ज्यान गयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार o७:२७:oo

बिपी राजमार्ग अवरुद्ध हुँदा दुई बिरामीले गाडी र एम्बुलेन्समै प्राण त्यागेका छन् । कमलामाई नगरपालिका– ४ मल्लगाउँकी ९४ वर्षीया टीकामाया भुजेल र महोत्तरीको बर्दीबास नगरपालिका– ७ का ४५ वर्षीय मानबहादुर सिजालीको बाटोमै ज्यान गएको हो । टीकामाया दमले ग्रस्त थिइन् भने मानबहादुरलाई मिर्गौलाको समस्या थियो ।

उनीहरूलाई उपचारका लागि शुक्रबार काठमाडौं ल्याइँदै थियो । तर, रोशी खोलाको बाढीले राजमार्ग भत्किएर शुक्रबार अवरुद्ध बनेपछि उनीहरू बाटोमै रोकिएका थिए । यो अवस्थामा अगाडि बढ्न सक्ने स्थिति भएन । बिपी राजमार्गको खुर्काेट–मूलकोटको बिचमा सडक भासिएपछि गाडी र एम्बुलेन्स पछाडि फर्काउन पनि नसक्ने स्थिति बन्यो । त्यसपछि उनीहरू एक दिन बाटोमै बस्न बाध्य भए । समयमै उद्धार नहुँदा भुजेलले बाटोमा नै  बा.२१च ७५२३ नम्बरको गाडीमै देहत्याग गरिन् । प्राण त्यागेपछि पनि उनको शव गाडीमै थियो । आइतबार सडक एकतर्फी खुलाएपछि मात्र दाहसंस्कार गरिएको छ । 

मानबहादुरले पनि ज.१च १७०८ नम्बरको एम्बुलेन्समा प्राण त्यागेका छन् । आइतबार दिउँसो मात्र एम्बुलेन्स सिजालीको शव बोकेर बर्दीबास फर्किएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोविन्दराज काफ्लेले भने बिरामीको मृत्यु भएको जानकारी आइतबार बिहान मात्र प्राप्त भएको बताए । ‘सडक अवरुद्ध भएपछि सयौँ गाडी रोकिएका थिए । तर, बिरामी रहेकोबारे हामीलाई जानकारी गराइएको थिएन,’ काफ्लेले बताए ।