१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ९ बुधबार
  • Wednesday, 25 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ९ बुधबार o८:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफको प्रारम्भिक टोलीमा विभागीय खेलाडीको वर्चस्व

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ९ बुधबार o८:१४:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशरथ रंगशालामा १–१४ कात्तिकसम्म हुने सातौँ साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक ४० खेलाडीसहितको टोली घोषणा गरेको छ । महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एन्फामा चलिरहेको महिला फुटबल लिगमा प्रदर्शन गरेको आधारमा खेलाडी घोषणा गरेका हुन् । पहिलो चरणमा स्थान बनाएका अधिकांश खेलाडी महिला लिग खेलिरहेका छन् । प्रारम्भिक घोषित टोलीमा विभागीय क्लब एपिएफ, आर्मी र पुलिसमा आबद्ध भएका खेलाडीका वर्चस्व रहेका छन् । 

एन्फा कम्प्लेक्समा अहिले महिला लिगमा आबद्ध नभएकी सावित्रा भण्डारी, रेखा पौडेल र अन्जिला तुम्बापो सुब्बालाई समेत एन्फाले समेटिएको छ । सावित्रा र रेखा विदेशी लिगमा आबद्ध छन् । सावित्रा फ्रान्सको फ्रेन्च लिग र रेखाले साउदी अरेबियाको क्लबबाट खेलिरहेका छन् । राष्ट्रिय टोलीका कप्तानसमेत रहेकी अन्जिला ग्रिसको क्लबमा खेल्ने तयारीमा छिन् । प्रशिक्षक तामाङले पहिलो चरणमा छनोट गरेका खेलाडीहरू अघिकांश विभागीय र राष्ट्रिय टोलीमा आबद्ध छन् । 

प्रीति राई, सुरु लिम्बू, अनिता बस्नेत, रश्मिकुमारी घिसिङ र चन्द्रा भण्डारीजस्ता सिनियर खेलाडी विभागीय टोलीमा छन् । एन्फाले तेस्रोपटक महिला साफ च्याम्पियनसिप आयोजना गर्न लागेको हो । नेपालले पहिलोपटक सन् २०१९ मा प्रतियोगिता आयोजना गरेको थियो । त्यसवेला साफ खेल काठमाडौंमा नभएर विराटनगरमा भएको थियो । सन् २०२२ मा काठमाडौंमा साफ भएको थियो । छैटौँ संस्करणमा नेपाललाई उपाधि जित्ने अवसर थियो । तुलनात्मक रूपमा कमजोर मानिएको बंगलादेशसँग नेपाल फाइनलमा ३–१ ले स्तब्ध भएको थियो । 

साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि दाबेदार मानिए पनि एकपटक ट्रफी उचालेको छैन । नेपालले ६ मध्ये पाँच संस्करणको फाइनल खेलेको थियो । जसमा नेपाल उपविजेतामै सीमित रह्यो । नेपाल एकपटक मात्र फाइनल पुगेन । सन् २०१६ को संस्करणमा नेपालले फाइनल स्थान बनाउन सकेन । सन् २०१० बाट दक्षिण एसियाली फुटबल महासंघले महिला खेलाडीहरूको स्तर वृद्धि गर्ने उद्देश्यले साफ महिला फुटबल आयोजना गरेको हो । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानले भाग लिनेछन् ।

नेपालको पहिलो खेल भुटानसँग
दरशथ रंगशालामा नेपाल र भुटानबिचको खेल २ कात्तिकमा हुनेछ । यसअघि १ कात्तिकमा साबिक विजेता बंगलादेशले पाकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । नेपालको समूहमा भुटान, माल्दिभ्स र श्रीलंका रहेका छन् । समूह ‘ए’मा बंगलादेश, भारत र पाकिस्तान छन् । प्रतियोगिताको नियमअनुसार समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । साफ च्याम्पियनसिपमा कुल १२ खेल हुनेछ । समूह चरणमा नौ खेल हुनेछ । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुने आयोजकले जनाएको छ । 

प्रारम्भिक ४० खेलाडी
अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल, प्रतीक्षा चौधरी, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली मचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लम्जेल, लीला जोशी, सुशीला चौधरी, खुश्मा राई र सुनिता भुलन ।