Skip This
जनता आवास कार्यक्रमअन्तर्गत ६ सय घर निर्माण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
रासस कैलाली
२o८१ भदौ २८ शुक्रबार १६:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनता आवास कार्यक्रमअन्तर्गत ६ सय घर निर्माण

Read Time : < 1 मिनेट
रासस, कैलाली
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १६:oo:oo

जनता आवास कार्यक्रमअन्तर्गत ६३२ घर निर्माण सम्पन्न भएका छन्। संघीयतापछि स्थापना भएको प्रदेशअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले हालसम्म कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहमा ती घर निर्माण गरेको हो।

न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि कैलालीमा २६६ र कञ्चनपुरमा ३६६ घर निर्माण गरिएको कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी रोहित अधिकारीले जानकारी दिए। उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकामा ४९, गोदावरी नगरपालिकामा ३८, घोडाघोडी नगरपालिकामा २८ र भजनी नगरपालिकामा २७ घर निर्माण गरिएका छन्।

यसैगरी, बर्दगोरिया गाउँपालिकामा २४, गौरीगंगा नगरपालिकामा १२, लम्कीचुहा नगरपालिकामा ३९, जानकी गाउँपालिकामा १९ र टीकापुर नगरपालिकामा ३० घर निर्माण गरिएको इन्जिनियर अधिकारीले जानकारी दिए।

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ५६, पुनर्वास नगरपालिकामा ५०, बेलौरी नगरपालिकामा ४३, बेदकोट नगरपालिकामा ५६, भीमदत्त नगरपालिकामा १११ र महाकाली नगरपालिकामा ५० घर निर्माण गरिएको इन्जिनियर अधिकारीले बताए। उनका अनुसार ६०५ घर संघीय सरकारको बजेट र २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएका हुन्। कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माण गरिएका १११ घरमध्ये २७ घर प्रदेश सरकारको बजेटबाट निर्माण भएको उनले बताए। 

घर निर्माणका लागि प्रतिपरिवार रु. तीन लाख ३६ हजार उपलब्ध गराइएको थियो। उपभोक्ता समिति र लाभग्राहीको न्यूनतम १० प्रतिशत श्रमदानमा घर निर्माण गरिएका इन्जिनियर अधिकारीले बताए।

आव ०७५/७६ देखि आव ०७९/८० को अवधिमा ती घर निर्माण सम्पन्न भएका हुन्। आव ०८०/८१ मा जनता आवासका लागि कैलालीमा रु. चार करोड ३३ लाख र कञ्चनपुरमा रु. चार करोड ४६ लाख ९४ हजार बजेट विनियोजन गरिएको थियो। जनता आवासका लागि चालू आवमा संघीय सरकारबाट बजेट उपलब्ध नभएको उनको भनाइ छ।