Skip This
सँगै बसेर मदिरा सेवन, पछि हत्या
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
रामकृष्ण थापा सिन्धुपाल्चाेक
२o८१ असोज १ मंगलबार o९:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सँगै बसेर मदिरा सेवन, पछि हत्या

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चाेक
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार o९:४६:oo

२५ भदौ राति बलेफी गाउँपालिका– १ जलबिरे मेलडाँडाकी ५७ वर्षीया धनमाया श्रेष्ठ, जेठो छोरा कमलदास श्रेष्ठ र तल्लो बलेफी हाइड्रोपावर कम्पनीमा मजदुरी गर्ने रणबहादुर गाहा सँगै बसेर मदिरा सेवन गर्न थाले । रात छिप्पिँदै थियो । ल्याएको मदिरा सकिएपछि गाहा रक्सी पसलतिर लाग्छन् । केही क्षणमा मदिरा लिएर फर्कँदा कमलदास आमालाई छाडेर नजिकै रहेको परिवार बस्ने घरमा गएका हुन्छन् । गाहा र धनमायाबीच पछिल्लो मदिरा सेवन गर्दै जाँदा विवाद सुरु हुन्छ । मदिराले लट्ठिएका गाहासँगको झगडाले अन्ततः धनमायाको ज्यानै गयो । 

सिन्धुपाल्चोक जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घटनाको विवरण सुनाउँदै भने, ‘मदिरा सेवनपछि उत्पन्न विवादले धनमायाको हत्या भएको अनुसन्धानका क्रममा खुल्यो ।’ अभियोग स्वीकार गरेका गाहाले रक्सीले मातिएकी बेहोसीपनमा महिलालाई लखेट्दै लगेर सय मिटर नजिक रहेको ब्रह्मायणी नदीमा घचेटेर हत्या गरेको बयान दिएका छन् । 

गाहा गत वर्षदेखि बलेफी गाउँपालिका– १ जलवीरेमा निर्माणाधीन तल्लो बलेफी हाइड्रोपावरमा मजदुरी गर्न आएका थिए । गुल्मीको कालीगण्डकी गाउँपालिका–४ बाट बसाइँ सरेर हाल रुपन्देहीको सैनामैना नगरपालिका–९ बिहानी टोलमा उनको परिवार बस्दै आएको छ । धनमायाको छोरा कमलदास र गाहा साथी भएकाले मदिरापान गर्न आमाको घरमा जाने गरेका थिए ।

स्थानीयले २५ भदौ राति नै धनमाया हराएको प्रहरी कार्यालय जलवीरेलाई सूचना दिएका थिए । तर, रात छिप्पिसकेकाले प्रहरीले २६ गतेबाट महिलाको खोजतलास सुरु गर्‍यो । २७ भदौमा मृतककी छोरी पार्वती श्रेष्ठले पनि खोजतलास गर्न प्रहरीलाई निवेदन दिइन् । महिला हराएको सूचना प्राप्त भएपछि तत्कालै कुकुरसहितको प्रहरी विशेषज्ञ टोली घटनास्थल पुग्यो । घरनजिकै प्रहरीले ब्रह्मायणी नदीछेउमा चुँडिएको अवस्थामा पोतेको दाना फेला पार्‍यो । त्यसपछि स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले अनुसन्धानका लागि तत्काल गाहालाई पक्राउ गरेको थियो ।

ब्रह्मायणी र सुनकोसी नदीमा र्‍याफ्टिङ संघ र सशस्त्र प्रहरीले सहकार्य गरेर गोताखोर टोलीले खोजतलास गर्न थाले । २६ भदौ दिउँसो ४ बजे सिन्धुलीको सुनकोसी गाउँपालिका– २ सादिपाखोस्थित सुनकोशी नदीमा महिलाको शव पानीमा तैरिएको अवस्थामा फेला परेको र सनाखत नभएकाले शवगृहमा राखिएको थियो । सिन्धुपाल्चोक प्रहरीले हराएको महिला खोजिरहेको थियो । सिन्धुली दुम्जास्थित प्रहरीचौकी कुशेश्वरले सिन्धुपाल्चोक प्रहरीलाई सनाखत नभएको शवबारे २९ भदौमा जानकारी दियो । सिन्धुपाल्चोक प्रहरीले आफन्तमार्फत ३० भदौमा मृतक धनमायाको सनाखत गरेको थियो । 

धनमायाको हत्या प्रकृति पत्ता लगाउन पोस्टमार्टमका लागि टिचिङ हस्पिटल महाराजगन्जको फरेन्सिक मेडिसिन विभाग पठाइएको छ । मानसिक अवस्था कमजोर रहेका मृतकका छोरा कमलदासलाई पनि प्रहरीले सोधपुछका लागि सदरमुकाम चौतारा ल्याएको छ । गाहाले हत्या स्वीकार गरेकाले मृतकका छोरालाई घटना प्रकृति पत्ता लगाउन सहजताका लागि पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए । हत्या पछाडि अरू पनि कारण हुन सक्ने भएकाले दुवैमाथि अनुसन्धान भइरहेको उनले बताए ।