Skip This
केजरिवालको राजीनामा पछाडिको रणनीति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
अभिक देव
२o८१ असोज २ बुधबार o८:o५:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

केजरिवालको राजीनामा पछाडिको रणनीति

Read Time : > 2 मिनेट
अभिक देव
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार o८:o५:oo

राजीनामाको तत्कालीन उद्देश्य भाजपाले केजरिवाल र उनको पार्टीविरुद्ध गरिरहेको निरन्तर आक्रमणलाई निस्तेज बनाउने देखिन्छ

भारतको आम आद्मी पार्टी(आप)का नेता अरविन्द केजरिवालले दिल्लीको मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका छन् । उनले  नयाँ जनादेशपछि मात्र पदमा फिर्ता हुने घोषणा गरेका छन् । केजरिवालको यस निर्णयको उद्देश्य भारतीय जनता पार्टी (भाजपा)ले उनी र उनको पार्टीविरुद्ध गरिरहेको निरन्तरको आक्रमणलाई निस्तेज बनाउनु रहेको राजनीतिक पर्यवेक्षकहरूको विश्लेषण छ । केजरिवाल शुक्रबार जमानतमा रिहा भएका थिए । रिहा भएको ४८ घण्टा नबित्दै उनले दुई दिनभित्रै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेर धेरैलाई अचम्मित बनाइदिए ।  ‘जनताको फैसला नआएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्नेछैन,’ केजरिवालले भारतको राजधानीमा आफ्ना पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै भने । सम्बोधनमा उनले दिल्ली विधानसभा चुनाव फेब्रुअरी २०२५ को पूर्वनिर्धारित समयभन्दा तीन महिनाअघि नोभेम्बरमै गर्न पनि माग गरे । 

सन् २०२२ देखि केजरिवाल, पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया र पार्टी सांसद संजय सिंह ‘मदिरामा लगाइएको अन्तःशुल्क प्रकरण तथा सम्पत्ति शुद्धीकरणको मुद्दा सामना गरिरहेका छन् । यस मुद्दालाई आँैल्याउँदै विपक्षी दल त्यसमा पनि विशेषतः भाजपाले समग्र पार्टीलाई नै भ्रष्टाचारीको पार्टी देखाउने प्रयास गरिरहेको छ । प्रवर्तन निर्देशनालय(इडी) र केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)को आरोप अनुसार केजरिवाल नेतृत्वको राज्य सरकारले घुस लिएर राजधानी क्षेत्रमा केही व्यापारीलाई मदिरा व्यापारको एकाधिकार कायम गर्न सहज बनाउन हाल खारेज गरिएको अन्तःशुल्क नीतिलाई परिमार्जन गरेको थियो ।

शुक्रबार केजरिवालसँगै यस मुद्दामा जेलमा परेका अरू पनि पार्टी नेता जमानतमा छुटेका छन् । तर, भ्रष्टाचारविरोधी अभियानका आधारमा शक्ति हासिल गरेको पार्टीका लागि यो आरोपले प्रतिष्ठामै धक्का लागेको छ । आइतबार, भाजपाले केजरिवालको राजीनामाको निर्णयलाई ‘स्टन्ट’को संज्ञा दिँदै यस कदमले केजरिवालको भ्रष्टाचारी छवि नपखालिने दाबी गर्‍यो । आम आद्मी पार्टीले भने केजरिवालले आफ्नो इमानदारिताको ‘अग्निपरीक्षा’ लिने निर्णय गरेको प्रतिक्रिया दिएको छ । 

प्रतिद्वन्द्वी दलहरूले लिएको अडानले दिल्लीको आगामी विधानसभा चुनावको भाष्य नै प्रभावित हुन सक्ने दिल्लीस्थित ‘सेन्टर फर द स्टडी अफ डेभलपिङ सोसाइटी’का प्राध्यापक अभय दुवेले भने । ‘केजरिवालले आगामी चुनावलाई आफूप्रतिको जनमत संग्रहको रूपमा परिणत गरेका छन्,’ उनले भने, ‘भ्रष्टाचारको आरोप सही सावित होस् या नहोस् । तर, चुनावी प्रचारमा भाजपाले केजरिवाललाई भ्रष्ट छ भनी दोहोर्‍याइरहँदा उनले जनतालाई यस विषयमा आफ्नो निर्णय दिन आह्वान गर्न सक्छन् ।’ चुनावको शीघ्र आह्वानबाट  पनि आपले आफूलाई फाइदा पुग्ने विश्लेषण गरेको हुन सक्ने विज्ञहरू बताइरहेका छन् । आम आद्मी पार्टीले अहिले सामाजिक सञ्जालमा ‘केजरिवाल इमानदार छन्’ भन्ने अभियान नै सुरु गरेको छ ।

केजरिवालले राजनीतिक रणनीतिका रूपमा मुख्यमन्त्रीको कुर्सी छाडेको यो पहिलोपटक होइन । सन् २०१३ मा उनले कंग्रेसको बाह्य समर्थनमा दिल्लीमा पहिलोपटक सरकार बनाएका थिए । तर, एक स्वतन्त्र भ्रष्टाचारविरोधी निकाय गठन गर्नेसम्बन्धी ‘जनता लोकपाल विधेयक’ पेस गर्न नसकेको भन्दै उनले ४९ दिनमै राजीनामा दिए । त्यसको एक वर्षपछि भएको निर्वाचनमा आम आद्मी पार्टी राज्यसभाको ७० मध्ये ६७ सिट जित्दै सत्तामा फर्कियो । तर, विपक्षी भाजपाले भने केजरिवालले आफ्नो विश्वसनीयता गुमाइसकेको दाबी गरेको छ । 

केजरिवाल पछिल्लोपटक रिहा हुँदाका जमानत सर्तहरूले उनले दिल्ली सचिवालयमा जान नसक्ने र सरकारी फाइलमा हस्ताक्षर गर्न नदिने भएपछि मात्र उनले राजीनामा दिएको कोहलीले आरोप लगाए । ‘उनी आफूलाई त्यागी र राजनीतिक सहिदको रूपमा चित्रण गर्न खोजिरहेका छन् । वास्तवमा उनी पार्टीका अर्का नेतालाई पदमा राखेर छाया मुख्यमन्त्री बन्न खोज्दैनन्,’ कोहलीले भने । भाजपाले केजरिवाललाई लगाचार भ्रष्टाचारीको मुद्दामा तान्ने प्रयास गरिरहेको छ । तथापि यो रणनीति आगामी चुनावमा सफल हुन्छ भन्ने निश्चित छैन ।

मार्चमा केजरिवाल गिरफ्तार भएपछि गरिएको एक सर्वेक्षणले दिल्लीका अधिकांश बासिन्दा, जो उनको सरकारको कल्याणकारी योजनाबाट लाभान्वित भएका छन्, तिनले कल्याणकारी योजनालाई भ्रष्टाचारको आरोपभन्दा उच्च प्राथमिकता दिएका पाइएको थियो । अहिले जेलबाट बाहिरिएको अवस्थामा उनीप्रतिको सहानुभूति बढेको छ । यसले केजरिवालको चुनावी स्थिति थप बलियो बनाएको विज्ञहरू मान्छन् । 

मुख्यमन्त्री पदबाट राजीनामाको उद्देश्य भ्रष्टाचारको आरोपलाई अन्यत्र मोड्ने थियो भने पूर्वनिर्धारित समयभन्दा अघि चुनावको माग गरेर केजरिवालले उनको दललाई अरूभन्दा अघि नै चुनावी अभियानमा होमेको पर्यवेक्षकहरूकोे ठम्याइ छ । केजरिवाल १० वर्षदेखि सत्तामा रहँदा विकसित ‘एन्टी इन्कम्बेन्सी’ धारणाको असर उल्ट्याउने दाउमा रहेको आशुतोष मान्छन् । यसलाई मध्यनजर गर्दै उनले अरू दलभन्दा अगाडि चुनावी अभियान सुरु गरेको उनको बुझाइ छ । हुन पनि गत महिना रिहा भएदेखि नै पूर्वउपमुख्यमन्त्री सिसोदियाले दिल्लीमा र्‍याली आयोजना गरिरहेका छन् । आपका प्रवक्ता कक्कडका अनुसार केजरिवालले पनि आगामी हप्तादेखि नै र्‍यालीको नेतृत्व गर्ने सम्भावना छ । सेप्टेम्बर १ देखि पार्टीले सुरु गरेको अर्को अभियानअन्तर्गत आपका विधायकहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा मतदाताका घरदैलो कार्यक्रम गरिरहेका छन् । 

स्क्रोल डट इनका लागि अभिक देवको आलेख