१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १७ सोमबार २२:२६:oo
Read Time : < 1 मिनेट
समाचार

उपनिर्वाचनमा जित्ने स्थानीय तहको पहिचान गर्दै एकीकृत समाजवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार २२:२६:oo

एकीकृत समाजवादी स्थानीय तह उपनिर्वाचनमा जित्ने स्थानीय तहको पहिचानमा लागेको छ । उपनिर्वाचनको मिति घोषणा नहुँदै एकीकृत समाजवादीले तयारी थालेको हो । महासचिव घनश्याम भुसालले सोमबार सर्कुलर जारी गर्दै नेता तथा कार्यकर्तालाई उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन गरेका छन् । विगत संसदीय निर्वाचनमा प्रयोग भएको मतदाता नामावली हेरेर छुटेका नाम थप्ने कार्यमा लाग्न सर्कुलरमा आग्रह गरिएको छ । 

‘निर्वाचन हुने स्थानीय तहमा हाम्रो पार्टीको अवस्था र वस्तुस्थितिको कस्तो छ ?, निर्वाचनमा खडा गरिने उम्मेदवारको खोजी र घोषणा साथै निर्वाचनमा अन्य पार्टीसँग तालमेल हुन सक्ने अवस्था छ छैन ? त्यसको तथ्यपरक विश्लेषण गरी पठाउने,’ भुसालले जारी गरेको सर्कुलरमा भनिएको छ । 

यस्तै, निर्वाचनकेन्द्रित कार्यक्रम गरी जनतामाझ पार्टीलाई पु¥याउने र निर्वाचन तयारीसम्बन्धी अन्य आवश्यक तयारी गर्न निर्देशन गरिएको छ । तत्काल जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गरी मतदाता सूचीमा पार्टी समर्थकहरूको नाम समावेश गराउन पनि भनिएको छ । उपनिर्वाचनका लागि एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ । उपनिर्वाचनका लागि निर्वाचन आयोग हेर्ने गरी वरिष्ठ उपाध्यक्ष पाण्डे र उपमहासचिव एवं केन्द्रीय कार्यालयका सचिव रामकुमार भट्टराईलाई जिम्मा दिइएको छ ।

प्रदेशगत तयारी र समन्वय गर्न जिम्मेवारी पनि तोकिएको छ । कोशीमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेशमा उपाध्यक्ष धर्मनाथप्रसाद साह, बागमतीमा उपाध्यक्ष डा. गंगालाल तुलाधर, गण्डकीमा सचिव श्रीनाथ बराल, लुम्बिनीमा उपमहासचिव मेटमणि चौधरी, कर्णालीमा उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिममा उपाध्यक्ष भानुभक्त जोशीलाई संयोजनको जिम्मेवारी दिइएको छ ।