१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ भदौ १७ सोमबार o७:३६:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विनाप्रतिस्पर्धा नेपाल प्रिमियर लिगमा समावेश गराउन पोखरा एभेन्जर्सको माग

विवादास्पद नेपाल टी–२० लिगमा चार करोड लगानी गरिसकेकाले सीधै प्रवेश पाउनुपर्ने दाबी

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार o७:३६:oo

पोखरा एभेन्जर्र्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा आफूहरूको नाममा टोली दिन नेपाल क्रिकेट संघ (क्यान)सँग माग गरेको छ । नेपाल टी–२० क्रिकेट प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको पोखरा एभेन्जर्सलाई पनि एनपिएलमा विनाप्रतिस्पर्धा समावेश गर्नुपर्ने माग मालिक सुबोध त्रिपाठीले आइतबार राखेका हुन् । ‘हामी एनपिएलका सबै सर्त मान्छौँ र विनाप्रतिस्पर्धा पोखराको टोलीलाई समावेश गर्नुपर्छ,’ त्रिपाठीले भने, ‘हाम्रो स्वामित्वमा रहेको पोखरा एभेन्जर्सलाई प्रस्तावित एनपिएलको फ्रेन्चाइजमा स्वतः रूपान्तरण गरिदिनुहुन आग्रह गर्छाैँ ।’ 

उनले अहिले पोखराका लागि दुई वा सोभन्दा बढी कम्पनीले एउटै रकमको दाबी गर्दा गोला प्रथाबाट टोली छनोटको व्यवस्था भएकाले लगानी संकटमा परेको बताए । ‘अरु टीमले दिए जति हामी दिन तयार छौं, तर त्यति दिएपछि हाम्रो हुनुप¥यो, गोला प्रथामा नलगिदिनुस् भनेर हामीले आग्रह गरेका थियौं’, उनले भने ।

दुई वर्षअघि भएको नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सले चार करोड लगानी गरेको थियो । भारतीय कम्पनीलाई सबै व्यवस्थापन जिम्मेवारी दिएको क्यानले नेपाल टी–२० लिग सफलतापूर्वक सम्पन्न गर्न सकेन । सोही लिगमा सहभागी फ्रेन्चाइजका रूपमा रहेको पोखरा एभेन्जर्सले चार करोड लगानी गरेको थियो । ‘हामीले नेपाल टी–२० लिगमा चार करोड खर्च गरिसकेका छौँ । त्यसको सुरक्षा हुनुपर्‍यो,’ त्रिपाठीले भने । नेपाल टी–२० लिग सन् २०२२÷२३ को संस्करणमा पोखरा सहभागी फ्रेन्चाइज टोली हो । विवादित नेपाल टी–२० लिगमा ६ मध्ये स्वदेशी लगानी भएको पोखरा एकमात्रै टोली थियो ।

क्यानले एनपिएल १५ मंसिरदेखि गर्दै छ । एनपिएलमा सात प्रदेशबाट आठ टोलीले सहभागिता जनाउँदै छन् । क्यानले शनिबार मात्रै कोशीबाट विराटनगर, मधेशबाट जनकपुर, बागमतीबाट काठमाडौं र चितवन, गण्डकीबाट पोखरा, लुम्बिनी प्रदेशबाट लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट समान एक टोलीको नाम सार्वजनिक गरेको थियो । यी आठ टोली खरिदका लागि १८ जनाले प्रारम्भमा नाम दर्ता गराएका थिए । आवेदन दिएकामध्ये १६ जनाले मात्रै मापदण्ड पुर्‍याएको क्यानले जनाएको छ । क्यानले यसै साता आठ टोलीको मालिकको टुंगो लगाउँदै छ । क्यानका अनुसार आठ टोलीको स्वामित्व पाउन १६ मालिकबीच प्रतिस्पर्धा हुनेछ । 

स्वतः स्वामित्व रूपान्तरण नहुने 
प्रतियोगितामा विधि, विधान र ऐनअनुसार समावेश भएको अवस्थामा जुनसुकै टोलीले सहभागी हुन पाउने क्यानका प्रवक्ता छुम्बी लामाले बताए । यसअघिको नेपाल टी–२० लिगको आयोजक सेभेन थ्री स्पोर्टस्सँगको सम्झौता रद्द भएको क्यानका प्रवक्ता लामाले बताए । ‘विवादास्पद रूपमा भएको सेभेन थ्री स्टारसँगको सम्झौता क्यानले रद्द गरिसकेको छ,’ उनले भने, ‘मुख्य आयोजकसँगै सम्झौता रद्द गरिरहेको अवस्थामा प्रतियोगितासँगको टोलीसँग कुनै अर्थ रहँदैन । त्यसै कारण पोखरा एभेन्जर्सको मागअनुसार स्वतः स्वामित्व रूपान्तरण नहुने प्रस्ट छ ।’ 

विवादपछि आठ वर्षको सम्झौता रद्द 
०७९ मा क्यानले नेपाल टी–२० लिग आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्लाई जिम्मेवारी दिएको थियो । सेभेन थ्री स्पोर्टस्ले सहभागी ६ टोलीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार भारतीय कम्पनीले प्रतियोगिता आठ वर्ष गर्नुपर्ने थियो । तर, म्याच फिक्सिङ, स्पट फिक्सिङ, टिम मालिक नै पत्ता नलागेको, खेलाडीले पाउनुपर्ने पारिश्रमिक नपाएका कारण प्रतियोगिता नै विवादमा पर्‍यो । आयोजना जिम्मेवारी लिएको सेभेन थ्री स्पोर्टस्का मालिक जतिन भारत भागे । त्यसपछि क्यानले नै ०७९ माघमा दुईपक्षीय सम्झौता भंग गर्‍यो । 

हामी एनपिएलमा जस्तोसुकै लगानी गर्छाैँ
सुबोध त्रिपाठी, पोखरा एभेन्जर्स

हामीले टिम दर्ता गराएका छौँ । पहिलो संस्करणमै हाम्रो चार करोडभन्दा बढी खर्च भएको थियो । अब आएर आफ्नै स्वामित्व पाउन निकै संघर्ष गर्नुपरेको छ । हामीहरूको लगानीको ग्यारेन्टी कसले गर्छ ? आज हामीलाई समस्या परेको छ । भोलि अर्काेलाई यस्तो समस्या नआउला भन्न सकिन्न । हामी सर्तअनुसार जस्तोसुकै लगानी गर्न तयार छौँ । तर, स्वामित्व हामीले नै पाउनुपर्छ । क्यानले लिने निर्णयमा आशावादी छौँ । 

विधि–विधानअनुसार आएकालाई समावेश गर्छाैँ 
छुम्बी लामा, प्रवक्ता, क्यान

नेपाल टी–२० लिगको सम्झौता रद्द भइसकेको छ । सेभेन थ्री स्पोर्टस्ले त्यसवेला टिमसँग सम्झौता गरेको थियो । क्यानले सूचना निकाली नै एनपिएलमा सहभागी टिम बोलाएका छौँ । क्यानकै कमिटीले यसमा काम गरिरहेको छ । दर्ता भएका १६ जनाले प्रक्रिया पुर्‍याएका छन् । उहाँहरूले स्वतः टिम पाउनुपर्ने माग राख्नुभएको छ । जुन गलत हो । हामी नियमअनुसार सबै टिमलाई प्रतिस्पर्धामा आउन आग्रह गर्छाैँ । विधि–विधान र ऐनअनुसार समावेश भएर आएका र इच्छुकले लिग खेल्नेछन् ।