१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १६ आइतबार
  • Sunday, 15 September, 2024
चीनमा भएको पेरिस ओलम्पिक एसियाली छनोट २०२४ मा स्वर्ण जितिरे फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बायाँबाट क्रमशः आमा, बुबा र प्रशिक्षकका साथमा पलेसा ।
रमेश सुवेदी काठमाडाैं
२o८१ भदौ १६ आइतबार o८:२७:oo
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

समाजले ‘के गरिखान्छे होला’ भन्थ्यो, पलेसाले देशका लागि अहिलेसम्मकै उपलब्धि ल्याइन्

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १६ आइतबार o८:२७:oo

नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धननले शुक्रबार राति पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितिन् । यो पदक नेपाली खेल इतिहासको अहिलेसम्मकै ठुलो उपलब्धि हो । ओलम्पिकको ६० वर्षे इतिहासमा नेपाल सहभागितामै सीमित थियो । तर, २१ वर्षीया पलेसाले ऐतिहासिक पदक जितेपछि लगानी र सुविधा पाए नेपाली खेलाडीले पनि पदक जित्न सक्छन् भन्ने सन्देश गएको छ । तर, के–४४ क्याटेगोरीको महिला ५७ केजीमुनि पदक जितेकी पलेसाको संघर्ष र कथा भने फरक छन् । काठमाडौंको प्रसूतीगृहमा जन्मँदा बायाँ हातको हत्केला थिएन । 

आमा मनिता श्रेष्ठ र बुबा प्रदीप गोवर्द्धननलाई अपांगता भएकी छोरी जन्मिएपछि केही तनाव पनि परेको थियो । तर, उनीहरूले आफ्नी छोरीलाई घरमै लुकाउनेभन्दा पनि संसारसामु चिनाउने सपना देखे ।

आज पलेसाले विश्वसामु नेपाललाई चिनाएकी छिन् । ‘यो गर्वको कुरा हो । छोरीको उपलब्धिपछि हामी धेरै खुसी छौँ । उनले धेरै मिहिनेत गरेकी छिन्,’ बुबा प्रदीपले नयाँ पत्रिकासँग भने, ‘छोरी जन्मिएपछि समाजले के–के भने भने । यस्तीले के गरेर खाली र भन्नेहरू पनि थिए । तर, सबैलाई चुप लाग्ने गरी उपलब्धि हासिल गरेकी छिन् ।’ आमा मनिताले छोरीलाई खेलकुदमा लगाउन सहज नभएको बताइन् । ‘उसलाई हुर्काउन निकै गाह्रो भएको थियो । त्यो सुनाउन सहज पक्कै छैन । स्कुल लैजान र खेलकुदमा लगाउन कठिन थियो । यसले तेक्वान्दो खेलेर प्रगति गर्न सक्दिन भन्नेहरू धेरै थिए ।’ 

चुरा व्यापारबाट सुरु भएको पुर्ख्यौली
काठमाडौंको मध्यसहर बागबजारमा पलेसा हुर्केकी हुन् । उनका बुबा प्रदीप पुर्ख्यौली पेसा चुरा व्यापार छाडेर पूर्वाधार निर्माणको काममा लागे । ‘हाम्रो पुर्ख्यौली घर काठमाडौं नै हो । सुरुमा चुरा व्यापार गर्थ्यौं । तर, पछि त्यसलाई छाडेर म आफ्नै क्षेत्रतिर लागे । जब छोरी १० वर्ष लागिन् त्यसपछि पढाउन र खेलमै केन्द्रित गर्न थाल्यौँ । उसलाई स्कुल पुर्‍याउने र खेल्न लैजाने काममा सक्रिय भएपछि केही समय काम पनि छाडेँ,’ बुबा प्रदीप भन्छन् । 

पलेसा सन् २०१६ मा पहिलोपटक राष्ट्रिय टोलीमा परिन् । १३ वर्षको उमेरमै उनको प्रदर्शनबाट प्रशिक्षक पनि खुसी थिए । सन् २०१७ दक्षिण कोरियामा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा डेब्यु गरिन् । एक वर्षपछि भियतनाममा भएको पारा ओपन च्याम्पियनसिपमा उनले कांस्य पदक जितिन् । सन् २०२१ मा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण नै जितिन् । पारा ओलम्पिकमा छनोट चरण पार गरेर खेल्ने पलेसा एक्लो नेपाली खेलाडी हुन् । पलेसाले दोस्रोपटक पारा ओलम्पिक खेलेकी हुन् । टोकियो पारा ओलम्पिकमा भने पलेसा वाइल्ड कार्डमार्फत सहभागी भएकी थिइन् ।

यसरी जितिन् ऐतिहासिक कांस्य 

पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेपछि पलेसा

पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार रिपेचेजको कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै इतिहास रचेकी हुन् । रिपेचेजको पहिलो खेलमा पलेसाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् । रिपेचेजअघि पहिलो चरणमा पलेसाले भेनुजुएलाकी भलेरिया मोराल्सलाई एकपक्षीय खेलमा ३१–० ले पराजित गरेकी हुन् । त्यसपछि क्वार्टरफाइनलमा विश्व वरीयतामा शीर्ष स्थानकी ब्राजिलकी सिल्भाना मायारा कार्डोसो फर्नान्डेजसँग ८–१० ले पछि परिन् । अन्तिम सेकेन्ड सम्हालिन नसक्दा लगातार दुई अंक गुमाएपछि ओलम्पिकमा स्वर्ण जित्ने लक्ष्य भने पूरा हुन सकेन । 

सन् १९६४ को टोकियो ओलम्पिकदेखि गृष्मकालीन ओलम्पिकमा सहभागिता जनाउन थालेको नेपालले सन् २००४ को एथेन्स ओलम्पिकदेखि पारा ओलम्पिक खेल्न थालेको हो । गृष्मकालीन ओलम्पिकमा नेपालले तेक्वान्दोमै प्रदर्शनी खेलमा कांस्य जितेको इतिहास छ । सन् १९८८ मा दक्षिण कोरियामा भएको २४औँ संस्करणको सिओल ओलम्पिकमा विधान लामाले उक्त उपलब्धि हासिल गरेका थिए । तर, प्रदर्शनी खेलको पदक देशको नाममा नभएर खेलाडीको नाममा मात्रै दर्ज हुन्छ । 

अन्य प्रतियोगितामा तीन स्वर्ण 
पलेसाले हालसम्म देशलाई विभिन्न प्रतिस्पर्धामा तीन स्वर्ण पदक जिताइसकेकी छिन् । नेपालमा भएको दोस्रो काठमाडौं ग्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०१८, बहराइनको मानामामा भएको एसियाली युथ पारा गेम्स–२०२१ तथा चीनको ताइयानमा पेरिस ओलम्पिककै लागि भएको एसियाली छनोट २०२४ मा पलेसाले स्वर्ण जितेकी थिइन् । त्यस्तै, पलेसाले सन् २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो तथा चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुद २०२२ मा कांस्य जितेकी थिइन् । एसियाली पारा खेलकुदमा पलेसाले जितेको कांस्य नेपालले पाएको हालसम्मकै एक मात्र पदक हो ।

पलेसाले ६५ लाख पुरस्कार पाउने
ऐतिहासिक कांस्य विजेता तेक्वान्दोकी पलेसा गोवर्द्धनले ६५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछिन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ मा भएको पुरस्कारसम्बन्धी व्यवस्थाअनुसार पलेसाले ६५ लाख नगद पुरस्कार पाउने भएकी हुन् । सोही नियमावलीमा भएको पुरस्कारअनुसार चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदमा पनि कांस्य जितेकी पलेसाले १३ लाख नगद पुरस्कार पाएकी थिइन् । त्यस्तै, प्रशिक्षकले ५ लाख ८५ हजार, व्यवस्थापक रामचन्द्र श्रेष्ठले २ लाख ९२ हजार र सम्बन्धित खेल संघले ११ लाख ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

राष्ट्रिपति र प्रधानमन्त्रीले दिए बधाई 
पेरिस पारा ओलम्पिकमा पदक जितेकी पलेसालाई राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बधाई दिएका छन् । ‘पेरिस पारा ओलम्पिकमा नेपालले कांस्य पदक प्राप्त गरेको छ । पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनलाई बधाई !!,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । 

सिंगो देशका लागि यो पदक : पलेसा गोवर्द्धन
मिहिनेतको फल पाएको अनुभूति भइरहेको छ । यो पदक मेरो मात्र होइन । सिंगो नेपाल र सम्पूर्ण नेपालीको हो । अब हामी गर्वका साथ भन्न सक्छौँ । ओलम्पिकमा हाम्रो पनि पदक छ भनेर । सबैको मप्रति भरोसा थियो, पदक जित्छिन् भनेर । उहाँहरूको भरोसालाई कायम राखेर देशका लागि पदक जित्न पाएकोमा खुसी छु ।

पलेसाको मिहिनेतको फल : कविराज नेगी लामा, प्रशिक्षक
पलेसाले मिहिनेतको फल प्राप्त गरेकी छिन् । जितेको पदक आफ्नो मात्र नभई सिंगो राष्ट्रका लागि भएको छ । क्वार्टरफाइनलमा पनि अन्तिममा चुक्न पुग्यौँ । त्यो पनि विश्व नम्बर १ सँग थियो । त्यसैले पनि हार मानेनौँ । देशका लागि पदक जित्नुपर्छ भन्ने थियो । फलतः पदक जित्न सफल भयौँ । टोकियो ओलम्पिकमा जित्न नसकेको पदक पेरिसमा आएर जित्न सकेकोमा खुसी छु ।