१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १३ बिहीबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ १३ बिहीबार १७:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गृह मन्त्रालयमा दुई दर्जन सहसचिव र उपसचिव जिम्मेवारीविहीन

सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँचीमा दुई सातादेखि सिडिओ पद रिक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ १३ बिहीबार १७:४३:oo

गृह मन्त्रालयमा करिब दुई दर्जन सहसचिव र उपसचिव लामो समयदेखि जिम्मेवारीविहीन बनेका छन्। मन्त्रालयमातहतका कार्यालयहरूमा सेवाग्राहीहरूको अत्यधिक चाप हुँदा मन्त्रालयमा कर्मचारी भने हाजिर गर्दै फर्कँदै गरेका छन्।

सहसचिवद्वय वासुदेव घिमिरे र लालबाबु कवारी लामो समयदेखि मन्त्रालयमा जिम्मेवारीविहीन रहँदै आएका छन्। त्यस्तै, दुई साताअघि मन्त्रालयमा सरुवा भएका सहसचिवहरू कृष्णप्रसाद लम्साल, लीलाप्रसाद शर्मा, रमेश ढकाल, ऋषिराम तिवारी र डा. टोकराज पाण्डे पनि हाजिर गरेर फर्कने गरेका छन्।

त्यस्तै, मन्त्रालयमा जिम्मेवारी नपाउने उपसचिवको संख्या करिब २० पुगिसकेको छ। मातृका आचार्य, नवराज पौडेल, कृष्ण सापकोटा, परमानन्द घिमिरे, घनश्याम न्यौपाने, चोमेन्द्र न्यौपाने, नवराज जैसी, सन्तोष पौडेल, ओम भट्टलगायत उपसचिवले लामो समयदेखि जिम्मेवारी पाएका छैनन्। यीमध्ये कतिपय पाँच महिनादेखि दैनिक हाजिर गर्ने र फर्कने गरेका छन्। समयमै कर्मचारी व्यवस्थापन हुन नसक्दा मन्त्रालय अस्तव्यस्त हुँदै गएको छ। यसमा मन्त्रालयको निर्णय क्षमतामाथिसमेत प्रश्न उठ्न थालेको छ।

कर्मचारीको पदस्थापन लम्बिएपछि गत असारमा मन्त्रालयले जिम्मेवारीविहीन उपसचिवलाई विभिन्न जिल्लामा स्थलगत अध्ययनका लागि पठाएको थियो। तर, त्यस्तो अध्ययनबाट खर्च मात्र भएको र कुनै परिणाम आउन नसकेको मन्त्रालयका अधिकारी बताउँछन्।

सिडिओको सहयोगी भएर खटिन नमान्ने प्रवृत्तिका कारण पनि मन्त्रालयमा कर्मचारी थन्किएका हुन्। सहसचिव प्रमुख जिल्ला अधिकारी हुने कतिपय जिल्लामा उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी हुन्छन्। तर, उपसचिवहरू सहायक प्रमुख जिल्ला अधिकारीमा खटिन नचाहने भएकाले हाल १५ भन्दा धेरै जिल्ला प्रशासनमा सहायक सिडिओको दरबन्दी रिक्त छन्। सहायक सिडिओमा उपसचिवहरू जान नचाहने र मन्त्रालयले पनि पठाउन नसक्ने समस्याका कारण सधैँजसो गृह मन्त्रालयको ‘बरन्डा’मा कर्मचारी थुप्रिने गरेका छन्। सहायक सिडिओ नहुँदा धेरै जिल्लामा सेवा प्रवाह प्रभावित हुने गरेको छ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई मन्त्रालयका कर्मचारीको पदस्थापनको गृहकार्य भइरहेको बताउँछन्। ‘अवधि पुगेका जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा तथा रिक्त हुने ठाउँमा पदस्थापनको गृहकार्य भइरहेको छ, सायद अब छिट्टै होला,’ उनले भने।

हाल तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) पद रिक्त छन्। सिन्धुपाल्चोक, सिन्धुली र अर्घाखाँचीमा दुई सातादेखि सिडिओ पद रिक्त छन्। सिन्धुलीका भरत खनाललाई परराष्ट्र मन्त्रालय, सिन्धुपाल्चोकका भूपेन्द्र थापाको बागमती प्रदेशको मन्त्रिपरिषद् कार्यालय तथा अर्घाखाँचीका सूर्यबहादुर खत्रीको श्रम मन्त्रालयमा सरुवा भएको थियो।

रिक्त रहेका जिल्लामा मन्त्रालयले नयाँ सिडिओ खटाउन सकेको छैन। साथै, मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा पनि रिक्त छ। ठुलो संख्यामा सिडिओसहितका कर्मचारीको सरुवा गर्न लागेकामा कसलाई कुन जिल्लामा पठाउने भन्नेमा टकराव हुँदा सरुवा लम्बिएको मन्त्रालय स्रोत बताउँछ।