१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०८० फाल्गुण १ मंगलबार २०:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जीवित श्रीमानकाे नक्कली मृत्यु दर्ता बनाएर एकल भत्ता, वडासचिवसमेत दुईलाई कैद 

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०८० फाल्गुण १ मंगलबार २०:२०:००

जीवितै रहेका श्रीमानकाे नाममा मृत्यु दर्ता बनाएर एकल महिला भत्ता लिनेलाई सजाय सुनाइएको छ। मंगलबार विशेष अदालतले यस मुद्दामा दुईजनालाई दोषी ठहर गरेको हो। 

रामेछापको मन्थली नगरपालिका– ३ बाट जीवितै व्यक्तिका नाममा मृत्यु दर्ता बनेको र एकल महिला भत्ता वितरण भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। 

अनुसन्धान हुँदा उक्त वडाका तत्कालीन सचिव शिवकुमार महतोले निर्मला खत्रीसँगको मिलेमतोमा उक्त कार्य गरेको भेटिएको थियो। मृत्युको सूचनाको आधिकारिकता नजाँची, कानुनबमोजिम पेस हुनुपर्ने कागजातहरूसमेत संलग्न नरहेको अवस्थामा एकल महिला परिचयपत्र बनाइएको अख्तियारको अनुसन्धानले देखाएको थियो। 

वडासचिव महतोले खत्रीसँगको मिलेमतोमा मृत्युको सूचना फारम विवरण भरी प्रविष्ट गराई जीवितै व्यक्तिलाई मृत्यु भएको भनी गलत लिखत तयार गरी भ्रष्टाचार गरेको अभियोगमा यसै वर्ष ८ मंसिरमा मुद्दा चलाइएको थियो। जसमा फैसला गर्दै विशेषले महतो र खत्री दुवैजनालाई जनही तीन–तीन महिना कैद तथा १०–१० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो। 

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार महतोले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको भन्दै सजाय सुनाइएको हो। खत्रीलाई भने भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा २२ अनुसार सजाय सुनाइएको हो। 

उक्त दफामा मतियारलाई सामान्यतया मुख्य कसुरदारको आधा सजाय हुन्छ। तर, उक्त दफाको प्रतिबन्धात्मक वाक्यांशले कसुर गर्ने राष्ट्रसेवक वा अन्य व्यक्तिलाई कुनै सुविधा वा लाभ उपलब्ध गराइदिने वा लिने मतियारलाई कसुर गर्ने व्यक्तिसरह नै सजाय हुने व्यवस्था गरेको छ। 

विशेषका अध्यक्ष टेकनारायण कुँवरका साथै सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजालासबाट यस्तो फैसला भएको हो। दुई महिनाअघि दायर मुद्दामा विशेषले ठहर हुने फैसला गरेको हो।